‘द डिप्लोम्याट’ केवल कूटनीतिक खिचातानीको जटिल कथा मात्र होइन, यो वाइलर दम्पतीको पेचिलो वैवाहिक सम्बन्धको कथा पनि हो । चौथो सिजनमा केट आफ्ना श्रीमान् हल र राष्ट्रपति पेनबीचको बढ्दो सामीप्यप्रति सशंकित र ईर्श्यालू हुँदै जान्छिन् ।
काठमाडौँ — उत्तर सागरको पिधँमा एउटा रुसी पनडुब्बी थन्किएको छ । त्यसमा रहेको अत्याधुनिक आणविक हतियार (मिसाइल) भने अमेरिकीहरूले एउटा गोप्य अपरेसनमार्फत कब्जामा लिइसकेका छन् । आफ्नै मित्रराष्ट्र बेलायतलाई समेत सुइँको नदिई गरिएको यो कदमले तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको छ ।
यता बेलायती प्रधानमन्त्री निकोल ट्रोब्रिज (रोरी किन्नियर) आफ्नै धुनमा मस्त छन् भने रुसले आफ्नो आणविक हतियार हराएको खबर पाउँदा क्रेमलिनमा कस्तो भुइँचालो जाला ? अमेरिकी राजदूत केट वाइलर (केरी रसेल) आफ्ना श्रीमान् एवं उपराष्ट्रपति हल (रुफस सेवेल) लाई चेतावनी दिन्छिन्, ‘उनीहरू आफ्नो विनाशकारी हतियार हराएको थाहा पाएपछि बौलाउनेछन् र बेलायतमाथि नै आक्रमण गर्नेछन् ।’
ओटीटी प्लेटफर्म नेटफ्लिक्सको चर्चित पोलिटिकल थ्रिलर सिरिज ‘द डिप्लोम्याट’ चौथो सिजनमा प्रवेश गर्दा दृश्य यसरी नै ठूलो कन्फ्लिक्टका साथ अगाडि बढ्छ ।
डेबोरा कानद्वारा निर्मित यो ट्रान्सएट्लान्टिक थ्रिलर सिरिज यसपटक झनै दमदार र कन्फ्लिक्टले भरिपूर्ण रहेको देखिन्छ । एकातिर वैश्विक कूटनीतिक भूराजनीति र दोस्रोतिर प्रमुख पात्रहरूको व्यक्तिगत सम्बन्ध, दुवै तहमा उच्च तनाव सिर्जना गर्नु नै यो सिरिजको मुख्य विशेषता रहँदै आएको छ ।
चौथो सिजनको नयाँ मोड : केटको अप्रत्याशित राजीनामा
चौथो सिजनमा अमेरिकी राष्ट्रपति ग्रेज पेन (एलिसन ज्यानी) को हठ र दबाबमूलक नीतिका कारण बेलायतसँगको सम्बन्ध संकटमा पर्छ । राष्ट्रपति पेनका संदिग्ध र कडा निर्णयहरूबाट आजित बनेकी केट वाइलरले ‘जी–७’ सम्मेलनकै क्रममा विश्व नेताहरूकै अगाडि राजीनामाको घोषणा गर्छिन् ।
केटको यो अप्रत्याशित कदमपछि प्रशासनभित्र राजनीतिक तरंग पैदा हुन्छ । उनको पछि–पछि चीफ अफ स्टाफ बिली अपिया (नाना मेन्सा), सेक्रेटरी अफ स्टेट मिगुएल ग्यानन (मिगुएल सान्दोवाल) र अन्ततः उनका श्रीमान् हल वाइलरले पनि राजीनामा दिन्छन् ।
सिरिजकी रचनाकार डेबोरा कानका अनुसार, यो सिजनले कूटनीतिज्ञ र राजनीतिज्ञहरूका लागि ‘लक्ष्मण रेखा’ कहाँ हुन्छ र कुन विन्दुमा पुगेर उनीहरूले आफ्नो पद छाड्छन् भन्ने प्रश्नको गहिरो खोजी गरेको छ ।
‘द डिप्लोम्याट’ केवल कूटनीतिक खिचातानीको जटिल कथा मात्र होइन, यो वाइलर दम्पतीको पेचिलो वैवाहिक सम्बन्धको कथा पनि हो । चौथो सिजनमा केट आफ्ना श्रीमान् हल र राष्ट्रपति पेनबीचको बढ्दो सामीप्यप्रति सशंकित र ईर्श्यालू बन्छिन् ।
समीक्षकहरूका अनुसार, गम्भीर अन्तर्राष्ट्रिय संकट, स्नाइपर, सुरक्षा टोलीका त्रुटिहरू र रुसी अधिकारीहरूको धम्कीपूर्ण संवादका बीच पनि पात्रहरूबीचको सूक्ष्म शक्ति–संघर्ष र नोकझोकपूर्ण संवादले दर्शकलाई बाँधेर राख्छ । विशेष गरी बेलायती प्रधानमन्त्री ट्रोब्रिज तनावका कारण अलिक फरक मानसिक अवस्थाबाट गुज्रिँदा ओपेरा गाउने दृश्यले शोमा व्यंगात्मक कमेडी थपेको छ ।
‘द वेस्ट विङ’, ‘होमल्यान्ड’ र ‘ग्रेज एनाटोमी’ जस्ता चर्चित सिरिजहरूमा काम गरिसकेकी शो–रनर डेबोरा कानले ‘द डिप्लोम्याट’ मार्फत समकालीन राजनीति र लोकतन्त्रको वर्तमान अवस्थालाई प्रस्तुत गरेकी छन् ।
महिला राष्ट्रपतिले कूटनीतिक वा सैन्य निर्णय लिँदा भोग्नुपर्ने लैंगिक पूर्वाग्रह र कडा देखिनुपर्ने दबाबलाई पनि यस सिजनमा सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ । ‘म समाचारका हेडलाइन बनेका ताजा राजनीतिक घटनाक्रमबाट प्रेरित हुने गरी काम गर्न रुचाउँदिनँ, तर आजको विश्वमा लोकतन्त्रमाथि भइरहेका प्रहारहरूलाई पनि बेवास्ता गर्न भने सकिँदैन,’ कान भन्छिन् ।
समीक्षकको शतप्रतिशत अंक र एमीको दबदबा
प्रदर्शनमा आउनासाथ ‘द डिप्लोम्याट’को चौथो सिजनले समीक्षा संकलन गर्ने वेबसाइट रोटेन टोमाटोजमा शत प्रतिशत अंक प्राप्त गरेको छ । यसअघि पहिलो सिजनले ८५ प्रतिशत, दोस्रोले ९५ प्रतिशत र तेस्रो सिजनले ९७ प्रतिशत अंक प्राप्त गरेका थिए ।
वार्षिक रूपमा निरन्तर उत्कृष्ट सिजनहरू ल्याउन सफल यस सिरिजको तेस्रो सिजन ‘उत्कृष्ट ड्रामा’ र केरी रसेलका लागि ‘उत्कृष्ट मुख्य अभिनेत्री’ सहित ७ वटा एमी मनोनयनमा परेको थियो भने एलिसन ज्यानीले ‘उत्कृष्ट सह–अभिनेत्री’को एमी अवार्ड जितेकी थिइन् ।
चौथो सिजनको अन्तिम इपिसोडमा ‘वारसिप्स’ ले आईएमडीबीमा १० मा ९.६ अंकको उच्च रेटिङ पाएको छ, जुन यो शृंखलाकै अहिलेसम्मकै उत्कृष्ट रेटिंग हो ।
‘द गार्डियन’ मा साराह डेम्पस्टर ‘द डिप्लोम्याट’ को चौथो सिजनलाई पाँचमा पाँच स्टार रेटिंग दिंदै भन्छिन् , ‘यो सिजन ठूला राजनीतिक घटनाक्रमभन्दा पनि पात्रहरूबीचको सूक्ष्म शक्ति–संघर्ष र वाइलर दम्पती (केट र हल) बीचको वैवाहिक खिचातानीले बढी आकर्षित गर्छ ।’ साथै उनले स्नाइपर, सुरक्षा त्रुटि र गम्भीर कूटनीतिक तनावका बीच पनि ‘द डिप्लोम्याट’ को नयाँ सिरिजलाई बेलाबखत आईरहने हास्य–व्यंगात्मक शैलीले झनै उत्कृष्ट बनाएको उल्लेख गरेकी छन् ।
‘जी–७’ सम्मेलनमा हंगामा मच्चिएपछि र सिजनको अन्त्य ‘क्लिफहृयांगर’ (उत्सुकतापूर्ण मोड) मा आएर रोकिएपछि दर्शकहरू पाँचौं सिजनको पर्खाइमा झनै व्यग्र बन्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय कूटनीतिको दोसाँधमा उभिएका पात्रहरू, उनीहरूको व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गर्न सफल ‘द डिप्लोम्याट’ को सिजन ४ अक्टोबर १५ देखि ओटीटी प्लेटफर्म नेटफ्लिक्समा आईसकेको छ ।
(यो समाचार सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका रिपोर्टहरूमा आधारित भई तयार पारिएको हो ।)