Trending
Prev Story
Next Story

प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?

Onlinekhabar •
October 19, 2026 • 12:51 PM
1
1 reads 0 reactions

इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि …

प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?

इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ ।

म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् ।

सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन बनेपछि प्रिमियर लिग जित्ने क्लबको सूचीमा उसको उपाधि संख्या चार पुगेको छ ।

यससँगै आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो ।

प्रिमियर लिगको आधिकारिक तथ्यांकअनुसार अहिलेसम्म सात क्लबले कम्तीमा एकपटक उपाधि जितेका छन् ।

प्रिमियर लिगको आधिकारिक तथ्यांक यसप्रकार छ :

१. म्यान्चेस्टर युनाइटेड — १३ उपाधि

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको इतिहासमा सबैभन्दा सफल क्लब हो । उसले सन् १९९२–९३ मा प्रतियोगिताको पहिलो सिजनमै उपाधि जितेको थियो । त्यसपछि सन् २०१२–१३ सम्म क्लबले १३ पटक प्रिमियर लिगको उपाधि जित्यो । यी सबै उपाधि प्रशिक्षक सर एलेक्स फर्गुसनको नेतृत्वमा आएका थिए ।

फर्गुसनको नेतृत्वमा युनाइटेडले १९९० को दशकदेखि २००० को दशकसम्म इंग्लिस फुटबलमा आफ्नो प्रभाव कायम राख्यो । क्लबले १९९८–९९ सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

युनाइटेडले सन् २००६–०७ देखि २००८–०९ सम्म लगातार तीन सिजन प्रिमियर लिग जितेको थियो । सन् २०१२–१३ को उपाधि भने फर्गुसनको प्रशिक्षकका रूपमा अन्तिम सिजनको उपलब्धि बन्यो ।

त्यसयता युनाइटेडको प्रदर्शन भने खस्कँदो छ । युनाइटेडले शीर्ष ६ मा पर्न पनि मुस्किल देखिँदै आएको छ । गत सिजन भने लामो समयपछि तेस्रो स्थानसम्म हासिल गर्न सफल भएको थियो ।

म्यान्चेस्टर सिटी प्रिमियर लिगमा आठ उपाधिसहित दोस्रो स्थानमा छ । क्लबले पहिलोपटक सन् २०११–१२ को सिजनमा उपाधि जितेको थियो ।

अन्तिम खेलमा क्विन्स पार्क रेन्जर्सलाई ३–२ ले हराउँदै सिटीले गोल अन्तरका आधारमा म्यान्चेस्टर युनाइटेडलाई पछि पारेको थियो । सर्जियो अगुएरोले इन्जुरी समयमा गरेको गोल उक्त सिजनको निर्णायक क्षण बनेको थियो ।

त्यसपछि सिटीले लगातार उपाधि जित्ने बलियो टोलीका रूपमा आफूलाई स्थापित गर्‍यो । पेप ग्वार्डिओलाको नेतृत्वमा क्लबले २०१७–१८ र २०१८–१९ मा लगातार दुई सिजन उपाधि जित्यो ।

त्यसपछि २०२०–२१ देखि २०२३–२४ सम्म लगातार चार सिजन च्याम्पियन बन्दै प्रिमियर लिगमा लगातार चार उपाधि जित्ने पहिलो क्लब बन्यो ।

सिटीको पछिल्लो सफलतामा बलियो टोली संरचना, आक्रमण र बल नियन्त्रणमा आधारित खेलशैलीको महत्त्वपूर्ण भूमिका रह्यो ।

चेल्सीले प्रिमियर लिगको उपाधि पाँचपटक जितेको छ । क्लबले पहिलोपटक सन् २००४–०५ को सिजनमा जोसे मौरिन्होको नेतृत्वमा उपाधि जितेको थियो । त्यस सिजन चेल्सीले ९५ अंक जोड्दै तत्कालीन प्रिमियर लिग कीर्तिमान बनाएको थियो । टोलीले लिगभरि १५ गोल मात्र खाएको थियो ।

चेल्सीले २००५–०६ मा उपाधि रक्षा गर्दै लगातार दुई सिजन च्याम्पियन बन्न सफल भयो । त्यसपछि २००९–१०, २०१४–१५ र २०१६–१७ मा पनि उसले उपाधि जित्यो ।

विभिन्न प्रशिक्षकको नेतृत्वमा उपाधि जित्न सफल चेल्सीले प्रिमियर लिगमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ । सन् २०१६–१७ मा एन्टोनियो कोन्टेको नेतृत्वमा क्लबले ३८ खेलमा ३० जित निकाल्दै उपाधि जितेको थियो ।

आर्सनलले प्रिमियर लिगको उपाधि चारपटक जितेको छ । क्लबले पहिलोपटक सन् १९९७–९८ को सिजनमा आर्सेन वेंगरको नेतृत्वमा उपाधि जितेको थियो । त्यसपछि २००१–०२ मा दोस्रोपटक च्याम्पियन बनेको आर्सनलले २००३–०४ मा अपराजित रहँदै तेस्रो उपाधि जित्यो ।

सन् २००३–०४ को सिजनमा आर्सनलले ३८ खेलमा २६ जित र १२ बराबरी खेलेको थियो । टोलीले कुनै पनि खेलमा हार बेहोरेन । यही उपलब्धिका कारण उक्त टोली ‘द इन्भिन्सिबल्स’ नामले चर्चित भयो ।

त्यसपछि लामो समय उपाधिविहीन रहेको आर्सनल सन् २०२५–२६ को सिजनमा पुनः च्याम्पियन बन्यो । यो उपाधि क्लबका लागि २२ वर्षपछिको प्रिमियर लिग सफलता हो ।

लिभरपुलले प्रिमियर लिग सुरु भएयता दुईपटक उपाधि जितेको छ । क्लबले पहिलोपटक सन् २०१९–२० को सिजनमा प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा उपाधि जितेको थियो । लिभरपुलले ३० वर्षपछि इंग्लिस शीर्ष डिभिजनको लिग उपाधि जितेको उक्त सिजनमा ९९ अंक जोडेको थियो ।

लिभरपुलले दोस्रोपटक २०२४–२५ को सिजनमा प्रिमियर लिग जित्यो । प्रशिक्षक अर्ने स्लटको पहिलो सिजनमै टोलीले उपाधि जितेको थियो ।

लिभरपुल इंग्लिस फुटबलको ऐतिहासिक सफल क्लबमध्ये एक भए पनि प्रिमियर लिगको स्वरूपमा उपाधि संख्या म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीभन्दा कम छ ।

प्रिमियर लिगको इतिहासमा ब्ल्याकबर्न रोभर्स र लेस्टर सिटीले पनि एक–एकपटक उपाधि जितेका छन् । ब्ल्याकबर्नले सन् १९९४–९५ को सिजनमा उपाधि जितेको थियो । एलन शियरर र क्रिस सटनजस्ता खेलाडीको योगदानमा टोलीले म्यानचेस्टर युनाइटेडलाई पछि पारेको थियो ।

लेस्टर सिटीले भने सन् २०१५–१६ मा अप्रत्याशित रूपमा उपाधि जित्दै फुटबल इतिहासकै चर्चित उपलब्धिमध्ये एक हासिल गरेको थियो । प्रशिक्षक क्लाउडियो रानिएरीको नेतृत्वमा लेस्टरले बलिया टोलीलाई पछि पार्दै पहिलोपटक प्रिमियर लिग जितेको थियो ।

यसरी प्रिमियर लिगको उपाधि संख्यामा म्यान्चेस्टर युनाइटेड सबैभन्दा अगाडि छ । म्यान्चेस्टर सिटी पछिल्ला वर्षमा लगातार सफल हुँदै दोस्रो स्थानमा पुगेको छ भने चेल्सी, आर्सनल र लिभरपुल पनि प्रतियोगिताका प्रमुख उपाधि विजेता क्लब हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रो...

#युनाइटेड #क्लब
Compare →

Related Stories

National (Nepal)
Build #2611