मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १५ गतेसम्म हल्कादेखि भारी वर्षा र हिमपात हुन सक्ने जनाएपछि प्रहरीले नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दा, यात्रु तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेको हो ।
लमजुङ — मौसम पूर्वानुमान महाशाखाले हिमपात र भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि हिमाली जिल्ला मनाङमा सम्भावित जोखिमबाट जोगिन प्रहरीले सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ गरेको छ ।
मर्स्याङ्दी नदी र आसपासका खोलामा बाढी आउन सक्ने भन्दै प्रहरीले सदरमुकाम चामेसहित नदी किनारका बस्तीमा माइकिङ गरेको हो । सम्भावित विपत्तिबाट जोगिन मनाङ प्रहरीले स्थानीय बासिन्दा, यात्रु र पदयात्रीलाई सचेत गराउन माइकिङ सुरु गरेको जनाएको छ ।
मनाङ प्रहरीले बुधबार साँझदेखि सदरमुकाम चामे र आसपासका बस्तीमा माइकिङ गरेको हो । चामेदेखि कोतो हुँदै भ्राताङसम्मका बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हुम्डे र धारापानीका साथै ताल क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ । नदी किनार, खोल्सा र पहिरो जान सक्ने जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमानअनुसार कार्तिक १२ देखि १५ गतेसम्म हल्कादेखि भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । यसलाई ध्यानमा राख्दै मनाङ हुँदै यात्रा गर्ने र विभिन्न पदमार्गमा पदयात्रा गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताए ।
मनाङमा यसअघि असोज ८ देखि १० गतेसम्म परेको भारी वर्षाले पनि ठूलो असर पारेको थियो । मर्स्याङ्दी नदी र आसपासका खोलामा आएको बाढीपहिरोका कारण ताल गाउँको तल्लो भाग र सदरमुकाम चामेका केही घर डुबानमा परेका थिए ।
घट्टेखोलामा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएपछि बनेको तालमा ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा माथिल्लो मनाङ जाने एकमात्र ट्रस पुलसमेत डुबानमा परेको थियो । पुलमा क्षति पुगेपछि काठ राखेर अस्थायी रूपमा आवागमन सञ्चालन गरिएको छ ।
माथिल्लो मनाङ जोड्ने प्रमुख मार्ग नै प्रभावित भएपछि स्थानीय बासिन्दा र यात्रुको आवागमनसमेत असहज बनेको थियो ।
फेरि वर्षा र हिमपातको सम्भावना देखिएपछि प्रहरीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन, मौसमसम्बन्धी सूचना पछ्याउन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ । सम्भावित विपत्तिबाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।