Trending
Prev Story
Next Story

माजिद माजिदीको ‘मिडडे मिल’ बुसानमा सर्वोत्कृष्ट

Ekantipur •
October 17, 2026 • 08:17 AM
1
1 reads 0 reactions

‘मिडडे मिल’ मा दक्षिण–पूर्वी इरानका विपन्न ग्रामीण भेगका बालबालिका पढ्नका लागि भन्दा पनि विद्यालयमा पाइने निःशुल्क ‘दिवा खाजा’ को आशामा स्कुल आउने तर खाजा रोकिएपछि कक्षा छाडेर परिवार पाल्न इन्धन तस्करी गर्न बाध्य हुने कथा छ।

माजिद माजिदीको ‘मिडडे मिल’ बुसानमा सर्वोत्कृष्ट

‘मिडडे मिल’ मा दक्षिण–पूर्वी इरानका विपन्न ग्रामीण भेगका बालबालिका पढ्नका लागि भन्दा पनि विद्यालयमा पाइने निःशुल्क ‘दिवा खाजा’ को आशामा स्कुल आउने तर खाजा रोकिएपछि कक्षा छाडेर परिवार पाल्न इन्धन तस्करी गर्न बाध्य हुने कथा छ।

काठमाडौँ — इरानी फिल्ममेकर माजिद माजिदीको फिल्म ‘मिडडे मिल’ ले ३१ औं बुसान इन्टरनेशनल फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्मको शीर्ष उपाधि जितेको छ ।

यस जितसँगै ‘मिडडे मिल’ आगामी अस्कर अवार्डको ‘बेस्ट इन्टरनेसनल फिचर’ विधामा प्रतिष्पर्धाका लागि स्वतः योग्य बनेको छ । अस्कर एकेडेमीको नयाँ नियमअनुसार बुसानजस्ता प्रतिष्ठित महोत्सवमा मुख्य उपाधि जित्ने फिल्मले सम्बन्धित देशको आधिकारिक सिफारिस बिना नै अस्कर प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

पुरस्कार ग्रहण गर्दै ६६ वर्षीय माजिदीले हालै इरानमा भएको युद्ध र विद्यालयमाथिको आक्रमणप्रति दुःख व्यक्त गर्दै विश्वमा शान्तिको कामना गरेका थिए । ‘चिल्ड्रेन अफ हेभन’ बाट अन्तर्राष्ट्रिय ख्याति कमाएका माजिदीको यो ११ औं फिचर फिल्म हो । यसअघि ‘सन चिल्ड्रेन’ (२०२०), ‘द सङ अफ स्प्यारोज’ (२००८), ‘द कलर अफ प्याराडाइज’ (१९९९) ले माजिदीलाई अन्तर्राष्ट्रियस्तरमा चर्चा दिलाएका थिए ।

त्यसैगरी, बुसानमा उत्कृष्ट निर्देशकको अवार्ड ताइवानी फ्यामिली ड्रामा ‘टु बी अर्डिनरी’ का लागि लि युन च्यानलाई प्रदान गरियो भने स्पेशल जुरी पुरस्कार इन्डोनेसियाली निर्देशक एडी काहृयोनोले फिल्म ‘इबुकु’ का लागि जिते । अभिनयतर्फ जापानी फिल्म ‘सातोको अलवेज’ की अभिनेत्री काशुन हिमेनो र चिनियाँ फिल्म ‘द फस्ट टेस्ट अफ लोनलिनेस’ की अभिनेत्री झाउ सुनले संयुक्त रूपमा प्राप्त गरे । बुसानले यस विधालाई अभिनेता र अभिनेत्रीका लागि नछुट्याई लैंगिक हिसाबले समानता देखिने गरी प्रदान गरेको हो ।

बुसानमा ‘न्यु करेन्ट्स’ विधा अन्तर्गत पन्जाबको ग्रामीण भेगमा व्याप्त भ्रष्टाचारमा आधारित भारतीय निर्देशक शशांक वालियाको फिल्म ‘बर्ड्स इन द डार्क’ लाई अवार्ड दिइयो भने यसै विधामा ‘स्पेशल मेन्सन’ का रूपमा लीम हाइयोन निर्देशित कोरियन फिल्म ‘बिच फिक्सन्स’ छनोट भयो ।

गरिबी, नैतिकता र संघर्षको गहिरो कथा बोकेको ‘मिडडे मिल’

माजिद माजिदी ६ वर्षको लामो अन्तरालपछि आफ्नो ११ औं फिल्म ‘मिडडे मिल’ मार्फत रजतपटमा फर्किएका हुन् । ‘चिल्ड्रेन अफ हेभन’ जस्तो अस्कार मनोनीत बहुचर्चित फिल्मका निर्देशक माजिदीले बुसनमा प्रिमियर गरिएको ‘मिडडे मिल’ बाट पुनः एकपटक गरिबी, बाल मनोविज्ञान र मानवीय नैतिकताको गहिरो द्वन्द्वलाई प्रस्तुत गरेका छन् ।

समीक्षक क्लेरेन्स त्सोईका अनुसार यस फिल्मले इरानी समाजको यथार्थ, नोकरशाहीको जटिलता र अभावबीच खस्किँदै गएको मानवीय मूल्य–मान्यतामाथि बनाइएको एक सशक्त र मार्मिक सामाजिक कथालाई पस्केको छ ।

दक्षिण–पूर्वी इरानको सुख्खा तथा विपन्न ग्रामीण भेगको पृष्ठभूमिमा फिल्मको कथा बुनिएको छ । त्यहाँका बालबालिका पढ्नका लागि भन्दा पनि विद्यालयमा पाइने निःशुल्क ‘दिवा भोज’ (मिडडे मिल) को आशामा स्कुल आउँछन् । अझ धेरै गरिब बालबालिकाहरू त परिवार पाल्नका लागि कक्षा छाडेर इन्धन तस्करी गर्न बाध्य छन् ।

यस्तै परिवेशमा सोलान (मोहम्मद रहिमी) एक मिहिनेती शिक्षक, हेरचाह गर्ने सल्लाहकार र गाउँलेहरूका लागि अघोषित डाक्टरका रूपमा कार्यरत छन् । ज्यादै न्यून तलबमा आंशिक करारमा काम गरिरहेका सोलानको एउटै सपना छ— स्कुललाई निरन्तर चलाइराख्ने, जसले गर्दा उनले स्थायी जागिर पाउन सकून् र आफ्नी वृद्ध आमाका लागि एउटा सानो घर किन्न सकून् ।

तर, जब स्कुलमा निःशुल्क खाना उपलब्ध गराउने दानी व्यक्ति (बायोफ्याक्टर) को निधन हुन्छ, स्कुलमा दिवा खाजा आउन छाड्छ र बालबालिकाहरू पनि स्कुल जान छाड्छन् । स्कुल बचाउन र विद्यार्थीहरूलाई फर्काउन सोलानले सुरुमा आफ्नै व्यक्तिगत बचतबाट खाना खुवाउन थाल्छन् । तर, यही असल नियत नै पछि उनलाई गैरकानुनी र अनैतिक कामको दलदलमा धकेल्ने कारक बन्न पुग्छ ।

गैर–व्यावसायिक कलाकार (नन–एक्टर) मोहम्मद रहिमीले शिक्षक सोलानको भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । एउटा दयालु र सोझो शिक्षक कसरी परिस्थितिको चपेटामा परेर आफ्नो अस्तित्व बचाउन अनैतिक बाटो रोज्न बाध्य हुन्छ भन्ने सूक्ष्म रूपान्तरणलाई रहिमीले जीवन्त ढंगले प्रस्तुत गरेका छन् ।

भेनिस फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गरेको ‘सन चिल्ड्रेन’ (२०२०) पछि आएका माजिदीले यस फिल्ममा पनि बालबालिकाको निर्दोषता र चलाखीलाई उत्तिकै कलात्मक ढंगले प्रस्तुत गरेका छन् । हुमान बेहमनेशको छायांकन र महृयार बेहमनेशको सम्पादनले फिल्मको गति र दृश्य भाषालाई थप मजबुत बनाएको छ ।

दुई घण्टाभन्दा लामो यो फिल्मले केवल गरिबीको करूण रस मात्र पस्कँदैन । मानव अधिकार र नैतिकताका अनेकौं आयाम खोज्ने माजिदीले सुख्खा र धुलाम्य भूगोलका बीच पनि उज्याला रङहरू र बालबालिकाको निष्कपट खुसीका क्षणहरूलाई क्यामेरामा कैद गरेका छन् ।

‘मिडडे मिल’ ले समाजमा खस्किँदै गएको मानवता र क्षीण हुँदै गईरहेको निःस्वार्थ सेवा भावको तीतो यथार्थलाई देखाउँदै जीवन र नैतिकता कहिल्यै सीधा रेखामा हिंड्दैन भन्ने मूल सन्देश दिएको छ ।

(यो समाचार सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका रिपोर्टहरूमा आधारित भई तयार पारिएको हो ।)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
आधुनिक मिलको बढ्दो प्रयोगसँगै जुम्लाका परम्परागत पानी घट्ट लोप हुँदै

आधुनिक मिलको बढ्दो प्रयोगसँगै जुम्लाका परम्परागत पानी घट्ट लोप हुँदै

काठमाडौं – आधुनिक विद्युतीय मिलको प्रयोग बढ्दै गएपछि जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय गाउँघरमा अन्न पिस्ने प्रमुख माध्यम रहेका पानी घट्ट पछिल्ल...

#मिल
Compare →

Related Stories

World News
Build #2611