मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
रामेछाप — बाली भित्र्याउने समय नजिकिँदै गर्दा बेमौसमी वर्षाको सम्भावना बढेपछि रामेछापका किसान चिन्तित भएका छन् । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्णवको प्रभावले देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा हुने पूर्वानुमान सार्वजनिक भएसँगै किसानलाई पाकेको धान भित्राउने समस्या परेको हो।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । धान काट्ने र भित्र्याउने समयमै वर्षाको सम्भावना बढेपछि रामेछापका किसान अन्योलमा परेका छन् ।
गत वर्ष पनि कात्तिक १२ देखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले जिल्लाका किसानलाई ठुलो क्षति पुर्याएको थियो । यस वर्ष पनि लगभग उही समयमा वर्षा हुने पूर्वानुमान सार्वजनिक भएपछि किसानमा गत वर्षको क्षति दोहोरिने त्रास बढेको छ ।
मन्थली नगरपालिका–९ का किसान राज श्रेष्ठ यस वर्ष धान राम्रो फले पनि मौसमले साथ नदिने हो कि भन्ने चिन्तामा छन् । ६ महिनादेखि गरेको मेहनत र लगानी खेर जाने डर बढेको उनले बताए । ‘यो वर्ष धान राम्रो थियो । काट्ने बेला पनि भएको छ । गत वर्ष पनि बेमौसमी वर्षाले क्षति भयो । यो वर्ष पनि गत वर्षकै समयमा पानी पर्ने समाचार आएको छ । अब धान काट्ने कि के गर्ने भन्ने चिन्ताले सताएको छ,’ श्रेष्ठले भने, ‘किसानलाई कहिले मल, कहिले बीउ त कहिले मौसमले नै सताइरहेको छ ।’
श्रेष्ठका लागि अहिलेको चिन्ता केवल धान काट्ने मात्र होइन, वर्षभरको मेहनत र लगानी सुरक्षित गर्ने पनि हो । खेतमा पाक्न लागेको धान समयमै भित्र्याउन नसके वर्षाले उत्पादनमा क्षति पुर्याउने जोखिम छ । अर्कोतर्फ, मौसमको अनिश्चितताका कारण हतारमा बाली काट्ने निर्णय लिन पनि किसानलाई सहज छैन ।
रामेछापको मन्थली नगरपालिका–७ भटौलीका सुरज श्रेष्ठलाई पनि यति बेला पाकेको धान कसरी भित्र्याउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गरेको मेहनतको प्रतिफल हात पार्ने बेला मौसम प्रतिकूल हुने संकेतले उनलाई अन्योलमा पारेको छ । ‘यो वर्ष धान राम्रो फलेको थियो । अब काटेर भित्र्याउने बेलामा ठुलो पानी पर्छ भन्छन् । यस्तोमा के गर्ने भन्ने अन्योलमा छु,’ श्रेष्ठले भने ।
गत वर्षको बेमौसमी वर्षाका कारण रामेछापमा १ सय ३९ मेट्रिक टनभन्दा बढी धान बाली नष्ट भएको तत्कालीन कृषि विकास कार्यालयको तथ्यांक छ । वर्षाले ८७ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धान बाली नष्ट हुँदा किसानले ६० लाख रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको थियो । बाली पाकेर भित्र्याउने तयारीमा रहेका किसानका लागि केही दिनको प्रतिकूल मौसमसमेत ठुलो आर्थिक क्षतिको कारण बन्न सक्ने उक्त घटनाले देखाएको थियो ।
कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापका अनुसार जिल्लामा २ नगरपालिका र ६ गाउँपालिकाका कुल ७ हजार ८ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती गर्न सकिने जमिन छ । त्यसमध्ये यस वर्ष ९० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ भएको हो । कार्यालयका अनुसार जिल्लाको औसत धान उत्पादकत्व प्रतिहेक्टर २.१७ मेट्रिक टन छ ।
नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।