वैदेशिक रोजगार विभागले २५ वटा म्यानपावरले एकाधिकार गरी आफै मात्रै मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा आबद्ध भएको भन्दै छानबिन गरिरहेको हो ।
काठमाडौँ — वैदेशिक रोजगार विभागले मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि मंगलबारदेखि अनुगमन सुरु गरेको छ । यसअघि विभागले ती सञ्चालकमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार कानुनी विधि पुर्याएर अनुगमन सुरु गरिएको हो । ‘यो विषय प्रशासनिकभन्दा पनि कानुनी भयो । यसका लागि अनुसन्धान अधिकृत तोकिएको छ । उहाँले सबै विधि पुर्याएर अनुसन्धान गरिराख्नुभएको छ,’ ढकालले कान्तिपुरसँग भने ।
विभागले २५ वटा म्यानपावरले एकाधिकार गरी आफै मात्रै मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा आबद्ध भएको भन्दै छानबिन गरिरहेको हो । म्यानपावर व्यवसायीहरुले भने कूटनीतिक माध्यमबाट आफूहरुलाई मलेसियाको सूचीबाट हटाइदिन नेपाल सरकार समक्ष अनुरोध गरेका छन् ।
वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेका मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक गरिसकेको छ ।
युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो विषयलाई आपसी संवादबाट समाधान गर्न भन्दै नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा द्विपक्षीय संयन्त्र संयुक्त कार्य समूहको बैठक राख्न प्रस्ताव गरेको छ ।