तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ । तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि बारीमा व्यस्त छन् ।
तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ । तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि बारीमा व्यस्त छन् । काठमाडौं उपत्यकामा खपत हुने मखमली फूलको प्रमुख उत्पादन क्षेत्रमध्ये गुण्डु पनि एक हो ।
किसानहरू बिहान घाम उदाएसँगै फूल टिप्न बारी पुग्छन् । बिहान टिपिएका फूल दिउँसो माला गाँस्न प्रयोग गरिन्छन् । घाम चर्किएपछि फूल टिप्न उपयुक्त नहुने भएकाले बिहानै टिप्ने गरेको किसानहरू बताउँछन् ।
गुण्डुमा मखमलीको खेती जेठदेखि सुरु हुन्छ । भदौदेखि कात्तिकसम्म फूल फुल्ने र टिप्न योग्य हुने भएकाले यही समय किसानका लागि मुख्य उत्पादनको मौसम हो । एक रोपनी जग्गामा मखमली खेती गर्दा एक सिजनमा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको किसानहरू बताउँछन् ।
तर, यस वर्ष फूल फुल्ने र माला गाँस्ने चटारोबीच किसानको व्यापार भने खस्किएको छ । अघिल्ला वर्षमा प्रतिमाला ३५ देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेकोमा यस वर्ष अपेक्षाअनुसार व्यापार नभएको उनीहरूको भनाइ छ । दुई वर्षअघिसम्म मखमली खेतीबाट ठीकै आम्दानी हुने गरे पनि यस वर्ष किसानहरू निराश छन् ।
अरूको जग्गा भाडामा लिएर खेती गर्ने किसानका लागि फूल उत्पादन, टिपाइ र माला गाँस्न लाग्ने श्रम तथा खर्चले आम्दानीको हिसाब अझ चुनौतीपूर्ण बनाएको छ । मेहनतअनुसारको मूल्य नपाउँदा खेतीबाट नाफा कमाउन कठिन भएको उनीहरूको गुनासो छ ।
यस वर्ष देशमा परेको शोकका कारण पनि फूलको व्यापार प्रभावित भएको किसानहरूको अनुभव छ । तिहारमा मखमली फूलको माला दाजुभाइको दीर्घायु र स्नेहको प्रतीकका रूपमा प्रयोग गरिन्छ । यही सांस्कृतिक महत्त्व बोकेको फूल उमार्न किसानहरू महिनौँदेखि मेहनत गर्छन् । तर, फूल टिप्ने र माला गाँस्ने यो व्यस्त मौसममा पनि उचित मूल्य र बजारको सुनिश्चितता नहुँदा गुण्डुका किसानको खुसीसँगै चिन्ता पनि जोडिएको छ ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।