यहाँ विद्यालयले छिमेकी किसानको बारीबाट खेती गर्न मात्र सिकेको छैन, आफ्नै स्रोतको उपयोग गरेर आम्दानी जुटाउने बाटो पनि पहिल्याएको छ । यसको प्रेरणाका स्रोत हुन् छिमेकी रामकुमार र कमला तामाङ दम्पती ।
पाँचथर — विद्यालय भन्नेबित्तिकै किताब, कक्षाकोठा, शिक्षक र विद्यार्थीको चित्र आउँछ । विद्यार्थीले शिक्षकबाट सिक्छन्, शिक्षकले किताबबाट पढाउँछन् । तर पाँचथरको फिदिम–४, सालघारीस्थित जागृति आधारभूत विद्यालयमा सिकाइको एउटा फरक अभ्यास छ । यहाँ विद्यालयले छिमेकी किसानको बारीबाट खेती गर्न मात्र सिकेको छैन, आफ्नै स्रोतको उपयोग गरेर आम्दानी जुटाउने बाटो पनि पहिल्याएको छ । यसको प्रेरणाका स्रोत हुन् छिमेकी रामकुमार र कमला तामाङ दम्पती ।
१४ वर्षअघि रामकुमार तामाङले दुईवटा कागतीका बिरुवा रोपेर खेती सुरु गरेका थिए । अहिले उनको कागती बगान १४ रोपनीमा फैलिएको छ । दुईवटा बिरुवाबाट सुरु भएको प्रयासले परिवारलाई आम्दानीको आधार दिएको छ । त्यही प्रयासबाट प्रेरित भएर नजिकैको जागृति आधारभूत विद्यालयले पनि ४७ रोपनी जग्गा भाडामा लिएर कागती खेती सुरु गरेको छ । अहिले विद्यालयले कागतीको फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएको छ । एउटा किसान परिवारको अभ्यास विद्यालयका लागि आयआर्जनको माध्यम बनेको छ ।
रामकुमारले कागती खेती सुरु गर्नुका पछाडि एउटा बाध्यता थियो । कुनै बेला उनी यही जमिनमा मकै खेती गर्थे । तर दुःख गरेर लगाएको मकै ढेडु र बाँदरले नष्ट गर्न थालेपछि परम्परागत खेतीबाट अपेक्षित प्रतिफल पाउन छाडे । श्रम र लगानीअनुसार आम्दानी नहुने भएपछि उनले खेतीको विकल्प खोज्न थाले । त्यही खोजीले उनलाई कागती खेतीतर्फ डोर्याउँदै अब्बल किसानका रूपमा स्थापित गरायो ।
कागती खेतीप्रतिको रुचि र त्यससम्बन्धी सीप उनले स्वदेशमा होइन, मलेसियामा सिकेका थिए । वैदेशिक रोजगारीका क्रममा कागती बगानमा काम गर्दा उनले बिरुवा उत्पादन गर्ने, गोडमेल गर्ने, मल व्यवस्थापन गर्ने र बोटको काँटछाँट गर्नेसम्मका सीप सिके । अरूको बगानमा काम गर्दै सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएर उनी स्वदेश फर्किए । फर्किंदा दुईवटा कागतीका बिरुवा पनि लिएर आए ।
तिनै दुईवटा बिरुवाबाट सुरु भएको उनको खेती अहिले १४ रोपनी जमिनमा विस्तार भएको छ । बिरुवा रोपेपछि उनले त्यसको स्याहारसम्भारमा ध्यान दिए । खेतीबाट प्रतिफल आउन थालेपछि बिस्तारै कागतीका बोट थप्दै गए । अहिले १४ रोपनीमा फैलिएको बगानमा बाह्रै महिना कागती फल्ने गरेको छ ।
'पहिले वर्षभरि दुःख गर्दा फलेको मकैले गर्जो टर्दैनथ्यो, ढेडु बाँदरले आधाभन्दा धेरै उठाइदिन्थ्यो, कागती रोप्न थालेपछि समस्या समाधान भयो,' उनले भने ।
पहिलो पटक कागतीको बगानमा आइपुगेका ढेडु बाँदरले कागती टिपेर खाने प्रयास नगरेका होइनन् । 'एक हुल आएर टिप्न खोजे । काँडाले हातखुट्टा घोचेछ क्यार, दोस्रो पटक प्रयास नै गरेनन् । एकाधले टिपेर खाएका पनि थिए । राग र अमिलोले मुख बिगार्दै फ्याँकेर भागे, त्यसपछि दोहोर्याएर आएका छैनन्,' रामकुमारले थपे ।
वैदेशिक रोजगारीमा रहँदा सिकेको सीपलाई स्वदेश फर्किएपछि उपयोग गर्न सक्दा त्यसले जीवनयापनको आधार बनाउन सकिन्छ भन्ने उदाहरण रामकुमारको खेतीले दिएको छ । विदेशमा कमाएको पैसाभन्दा पनि त्यहाँ सिकेको सीपलाई आफ्नै ठाउँमा उपयोग गर्ने सोचले उनलाई कागती खेती विस्तार गर्न सहयोग पुर्यायो । मकै खेतीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका उनले अहिले त्यही जमिनलाई फरक खेतीमार्फत आम्दानीको स्रोत बनाएका छन् ।
रामकुमार र कमलाले कागती खेतीलाई एउटै उत्पादनमा सीमित राखेका छैनन् । कागतीसँगै बेसार खेती र मौरीपालनसमेत गर्दै आएका छन् । खेतीका गतिविधिलाई विविध बनाउँदै उनीहरूले जमिनको उपयोग गरेका छन् । कागती बिक्रीबाट हुने आम्दानीले परिवारको आर्थिक आधार बलियो बनाउन सहयोग गरेको छ । सबै खर्च कटाएर वार्षिक करिब चार लाख रुपैयाँ बचत हुने गरेको कमला तामाङ बताउँछिन् ।
रामकुमार दम्पतीको बगानमा कागती फल्न थालेपछि त्यसको प्रभाव उनीहरूको परिवारमा मात्र सीमित रहेन । छिमेकमा रहेको जागृति आधारभूत विद्यालयले पनि कागती खेतीबाट आम्दानी गर्न सकिने सम्भावना देख्यो । किसानको बगानमा देखिएको परिणाम विद्यालयका लागि आफ्नै स्रोत उपयोग गर्ने उपाय बन्यो । त्यसपछि विद्यालयले ४७ रोपनी जग्गा भाडामा लिएर कागती खेती सुरु गर्यो ।
विद्यालयले कागतीका फल उत्पादन गर्नुका साथै बिरुवा तयार पारेर बिक्री गर्न थालेको छ । अहिले कागती प्रतिकिलो एक सय रुपैयाँ र बिरुवा प्रतिगोटा तीन सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । फल र बिरुवा दुवैबाट आम्दानी गर्न सकिने भएपछि कागती खेती विद्यालयको आयआर्जनको एउटा आधार बनेको छ ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइँटेलका अनुसार कागती र बिरुवा बिक्रीबाट प्राप्त रकम आवासीय रूपमा बस्ने विद्यार्थीको खर्च व्यवस्थापनमा प्रयोग हुँदै आएको छ । यसले विद्यालयलाई आफ्नै स्रोतबाट केही खर्च धान्न सहयोग पुर्याएको छ ।
सामुदायिक विद्यालयका लागि नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न आवश्यक स्रोत जुटाउनु सधैँ सहज हुँदैन । यस्तो अवस्थामा विद्यालयसँग उपलब्ध जग्गा र अन्य स्रोतलाई उत्पादनमूलक काममा लगाउनु आम्दानीको विकल्प हुन सक्छ । जागृति आधारभूत विद्यालयले कागती खेतीमार्फत यही सम्भावना खोजेको छ । खेतीबाट प्राप्त आम्दानीले विद्यार्थीको खर्च व्यवस्थापनमा सहयोग पुग्नुका साथै विद्यालयलाई उत्पादनसँग जोड्ने अवसर पनि दिएको छ ।
आफ्नै छिमेकमा रहेको अनुभवलाई आधार बनाएको लुइँटेलको भनाइ छ । 'रामकुमार दाइले विदेशमा काम गर्दा सिकेको सीपलाई गाउँमा उपयोग गर्नुभयो । उहाँको प्रयासले परिवारलाई आम्दानीको बाटो देखायो । त्यसपछि विद्यालयले पनि त्यही खेतीलाई आयआर्जनको माध्यम बनाउने प्रयास गर्यो । यसरी एउटा किसान परिवारको अनुभव समुदाय र विद्यालयका लागि उपयोगी अभ्यास बन्न पुगेको छ,' लुइँटेलले भने ।
खेतीपातीलाई परम्परागत जीविकोपार्जनको माध्यमका रूपमा मात्र बुझ्ने गरिन्छ । तर उपयुक्त सीप, निरन्तर मेहनत र उपलब्ध स्रोतको सदुपयोग गर्न सके कृषि आम्दानीको भरपर्दो आधार बन्न सक्छ । रामकुमार दम्पतीको बगानले यही सम्भावना देखाएको छ ।
ढेडु र बाँदरले मकै नष्ट गर्न थालेपछि विकल्प खोज्न बाध्य भएको परिवारले कागती खेती रोज्यो । त्यसलाई विस्तार गर्दै बेसार खेती र मौरीपालनसमेत जोड्यो । यसले खेतीमा समस्या आएपछि निराश भएर बस्नुभन्दा विकल्प खोज्नुको महत्त्व पनि दर्शायो । त्यही भएर तामाङ दम्पतीलाई वडा कार्यालयले उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत गरेको छ,' फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावती भन्छन् ।
किसान दम्पतीले विद्यालयलाई कागती खेती सिकाएको प्रसंगले सिकाइका लागि औपचारिक संस्था वा कक्षाकोठा मात्रै आवश्यक पर्दैन भन्ने स्पष्ट पारेको लावती सुनाउँछन् ।
'उपयोगी सीप जहाँ छ, त्यहाँबाट सिक्न सकिन्छ । विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्न सकिन्छ । गाउँमा सफल भएको अभ्यास विद्यालयले अपनाउन सक्छ । अनि विद्यालयले अपनाएको अभ्यासले विद्यार्थी र समुदायलाई श्रम, उत्पादन र आत्मनिर्भरताको महत्त्व बुझाउन सक्छ,' लावतीले थपे ।
रामकुमार र कमला तामाङले १४ वर्षअघि रोपेका दुईवटा बिरुवाबाट सुरु भएको यात्रा अहिले १४ रोपनीको बगानसम्म पुगेको छ । त्यही यात्राले विद्यालयलाई ४७ रोपनी जग्गामा कागती खेती गर्ने प्रेरणा दिएको छ । एउटा सानो प्रयासले परिवारको आम्दानी बढाउने बाटो खोल्यो, अर्को संस्थालाई आफ्नै स्रोतबाट खर्च जुटाउने सम्भावना देखायो ।
विद्यालयले विद्यार्थीलाई किताबबाट ज्ञान दिन्छ । तर जीवनमा काम लाग्ने सीप, श्रमको महत्त्व र उपलब्ध स्रोतको सदुपयोग गर्ने तरिका समुदायबाट पनि सिक्न सकिन्छ । पाँचथरको सालघारीमा रामकुमार र कमला तामाङ दम्पतीले आफ्नै बारीबाट जागृति आधारभूत विद्यालयलाई यही पाठ सिकाइरहेका छन्—सिक्न जान्ने हो भने किसानको बारी पनि पाठशाला बन्न सक्छ, र दुईवटा बिरुवाबाट सुरु भएको प्रयासले अरूका लागि समेत सम्भावनाको ढोका खोल्न सक्छ ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।