सुनसरी : सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको सिम्लेतर्फ गएर फर्किंदै गरेको मोटरबोट ससप्तकोशीमा दुर्घटनामा परेपछि नदीमा बगिरहेका यात्रुको उद्धारमा खटिएर खगेश श्रेष्ठले साहसिक काम गरेका छन्। दुर्घटनामा परेका यात्रुलाई बचाउन आफ्नो ज्यानको समेत पर्वाह नगरी नदीमा हामफालेका श्रेष्ठले आठ जनाको ज्यान बचाउन सफल भएका हुन्।
आइतबार दिउँसो बराहक्षेत्रदेखि भोजपुरको सिम्लेसम्म नियमित रूपमा मोटरबोट चलाउँदै आएका श्रेष्ठ आइतबार पनि सात जना यात्रु बोकेर भोजपुरतर्फ जाँदै थिए। सोही क्रममा धनकुटाको त्रिवेणीस्थित खुवालुङभन्दा केही तल नदीमा मानिसहरू बगिरहेको देखेपछि उनले आफ्नो यात्रालाई बीचमै रोकेर उद्धारमा जुट्ने निर्णय गरे। आफ्नो मोटरबोटमा रहेका सात जना यात्रुलाई सुरक्षित रूपमा नदी किनारमा छाडेपछि श्रेष्ठ तत्कालै दुर्घटनामा परेका यात्रुको उद्धारमा खटिए। सप्तकोशीको तीव्र बहावमा बगिरहेका मानिसलाई देखेपछि आफूले सक्दो प्रयास गरेर उनीहरूलाई बचाउन खोजेको श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )