Trending
Prev Story
Next Story

जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

Nagarik News •
October 26, 2026 • 10:16 AM
1
1 reads 0 reactions

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।

जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।

सीमा सुरक्षा गुल्म गड्डाचौकीमा ‘केनाइन शाखा’ नै स्थापना गरी गत कात्तिकको पहिलो सातादेखि नै गड्डाचौकीमा लेब्राडोर ‘अल्फा’ नामगरेको फिमेल डग र जर्मन सेफड जातको ‘डेल्टा’ ले काम सुरु गरेयता सुरक्षा सर्तकतामा थप सघाउ पुगेको छ।

सशस्त्र प्रहरी बल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिम प्राप्त कुकुरबाट नियमित भइरहेको चेकजाँच प्रभावकारी भएको बताए।

‘लागुपदार्थ जाँच गर्ने ‘अल्फा’ ले दुई जना अभियुक्तलाई लागुऔषधसहित पक्राउ गरेको छ’, सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, ‘भारतबाट लुकाएर नेपाल भित्र्याइरहेको लागुऔषधसहित हामीले दुई जनालाई अल्फाको सहायताले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएका छौँ।’

जर्मन सेफडले सीमामा हातहतियार र विस्पोटक पदार्थ जाँच गर्ने र लेब्राडोर अल्फाले लागुपदार्थ जाँच गरिरहेको छ।

कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार र ओसारपसारका घटना बढिरहेका बेला सीमामा सशस्त्र प्रहरीले परिचालन गरेको कुकुरसहितको टिम यसको न्यूनीकरणका लागि सहयोगी बन्ने देखिएको छ।

सशस्त्र प्रहरी बलले गड्डाचौकीमा स्थापना गरेको केनाइन युनिट पाँचौँ शाखा हो।  ‘यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमाथि निगरानी बढाउनुका साथै न्यूनीकरणमा जोड दिनेछ’, सिग्देलले भने, ‘सीमामा कुकुर तालिका अनुसार खटिएका हुन्छन्।’

यहाँ सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमाण्डमा पाँच जनाको तालिम प्राप्त दक्ष जनशक्ति खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलका अनुसार तीन दिनअघि गड्डाचौकी नाकामा लागुऔषधसहित बेदकोट नगरपालिका–९ सुन्दरपुरका ३१ वर्षीय हरकेश पाललाई ‘अल्फा’ को सहायतामा पक्राउ गरिएको छ।

पालको साथबाट लागुऔषध पक्राउ गरी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको थियो।

त्यसैगरी कात्तिकको पहिलो साता लेब्राडोर अल्फा नाम गरेको फिमेल डगको सहायताले कैलाली घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय विक्रम मिजारले मुखभित्र लुकाइछिपाइ राखेको खैरो हिरोइनसहित पक्राउ गरेको थियो।

‘मुखमा लुकाएर राखेको ०.१६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरी कारबाहीका लागि प्रहरीमा बुझायौँ’, सिग्देलले भने, ‘अल्फा र डेल्टाको नियमित जाँचले अपराध नियन्त्रणमा थप बल पुगेको छ।’

प्रकाशित: ९ कार्तिक २०८३ १६:०१ सोमबार

Prev Swipe Story Next

Related Stories

World News
Build #2612