गत वर्षको दसैंको तुलनामा यस वर्ष खसीको मासु प्रतिकिलो करिब ३ सय रुपैयाँ महँगाे भएको व्यवसायीकाे भनाइ ।
काठमाडौँ — विगतका वर्षको तुलनामा यस वर्षको दसैंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग घटेको छ । व्यवसायीहरुका अनुसार मासु महँगो भएपछि माग कम भएको हो । गत वर्षको दसैंको तुलनामा यस वर्ष खसीको मासु प्रतिकिलो करिब ३ सय रुपैयाँ महँगाे भएको छ ।
यसको प्रत्यक्ष असर दसैंका लागि भनेर ल्याएका सबै बोका खसी, बोका, च्याङ्ग्रा र भेडा बिक्री भएका छैनन् । ती अहिले पनि कलंकीको खसीबजारमा विक्रीका लागि राखिएको व्यवसायीहरु बताउँछन् । कलंकीमा रहेको खसी बजारमा यो पटक गत वर्षभन्दा कम खसी ल्याउँदा पनि बजारमा ल्याइएको थियो । तीमध्ये पनि सबै विक्री नभइ बाँकि रहेको नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रालीका अध्यक्ष जनक कुमार खड्काले जानकारी दिए ।
‘गत वर्षको दसैंमा घटस्थापना देखि टिकाको दिनसम्म २३ हजार खसी तथा बोका खसी बजारमा भित्रिएकोमा सबैजसो बिक्री भएका थिए,’ खड्काले भने, ‘तर यसपाली १६ हजार मात्रै खसी बोका भित्रिँदा पनि अहिलेसम्म सबै बिक्री नभएको अवस्था छ ।’
गत वर्ष २३ हजार खसी ल्याउदा पनि सप्तमी र अष्टमीमै अभाव हुने स्थिति रहेकोमा यस वर्ष विपरित परिस्थिति देखिएको खड्काले बताए । महँगो भएका कारण यसको खपत कम भएको खड्काको दाबी छ ।
गत वर्ष भन्दा यस वर्ष किसानले भने खसीको भाउ राम्रो पाएको पनि व्यवसायीहरु बताउँछन् । किसानबाटै भाउ बढेपछि यसको असर बजारसम्म परेको व्यवसायीहरुको तर्क छ ।
‘गत वर्ष प्रतिकिलो साढे ६ सय हाराहारीमा किसानबाट जिउँदो खसीबोका खरीद गरेका व्यवसायीले अहिले गाउँमै प्रतिकिलो ८ सय रुपैयाँ तिर्नुपरेको छ,’ अध्यक्ष खड्काले भने, ‘जुन कलंकी खसीबजारमा आएपछि ब्यापारीहरुले प्रतिकिलो साढे नौ सयसम्म बेचेका छन् ।
ग्राहकसम्म आउँदा यसको भाउ प्रतिकिलो १७ सय पुगेको छ ।’ गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १४ सय हाराहारी मात्रै थियो ।
जिउँदा खसीको बिक्री मात्र होइन । पसलबाट काटेको मासुको बिक्री पनि कम भएको खुद्रा पसलेहरु बताउाछन् । शंखमूल खाडादेबी मासु पसलका सञ्चालक गणेश भण्डारीले गत वर्षको तुलनामा यस वर्षकाे दसैंमा मासुको बिक्री २०देखि २५ प्रतिशतले कम भएको बताए । उनले भने, ‘गत वर्ष दसैंमा ७० वटा खसीको मासु बेचेकामा अहिले मुस्किलले ५० वटा मात्रै बेचे । गत वर्ष १० किलो मासु किन्नेले यस वर्ष महँगो भयो भन्दै ६ किलो मात्रै किनेको अवस्था छ ।’
दैनिक रुपमा खरीद बिक्री हुने खसी बजारमा भेडा तथा च्याङ्ग्रा भने दसैंको समयमा बढि भित्राइन्छ । दसैंका लागि भनेर ल्याएका भेडा बोका र च्याङ्ग्रा नबिकेपछि अहिले ब्यापारीले आफुले किनेकोभन्दा पनि कम मूल्यमा खसी, भेडा, च्याङ्ग्रा बेच्न चाहेको बताउँछन् ।
भेडा तथा च्याङ्ग्राको ब्यापार गर्ने कलंकी खसी बजारका तेजबहादुर विश्वकर्मा गत वर्षभन्दा कम भेडा ल्याउदा पनि नबिकेको बताउँछन् । ‘गत वर्षको दसैंमा १ सय वटा ल्याएको थिए, दसैंमा सबै बिकिसकेको थियो, अहिले ब्यापार कम होला कि भनेर ७० ल्याए त्यहि पनि १५ वटा बिक्री हुनै बाँकी छ,’ उनले भने ।
मासुको मूल्य महँगो भन्ने सन्देश बजारमा जादा भेडा तथा च्याङ्ग्राको पनि माग कम भएको ब्यापारीहरुको बुझाइ छ । गत वर्षको तुलनामा यस वर्ष जिउँदो च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ घटेको छ भने भेडाको भाउ गत वर्षकै बराबर हो ।
सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।