विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।
काठमाडौँ — भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएर बसेका बालबालिकालाई विद्यालयमा ल्याएर पढाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा डल्लुस्थित गीता माता माध्यमिक विद्यालयमा रसुवा र नुवाकोटका बाढी प्रभावित बालबालिकाको पठनपाठनको व्यवस्था मिलाइएको हो ।
विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।
गीता माता माध्यमिक विद्यालयमा हाल बाढी प्रभावित क्षेत्रबाट विस्थापित ६० जना बालबालिका अध्ययनरत छन् । तीमध्ये २३ जना ६ वर्ष उमेर समूहका छन् । विद्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा अस्थायी आश्रय लिएर बसेका रसुवाको स्याफ्रुबेसीस्थित कोमिन स्यामिन वाङफेल मावि, नुवाकोटको त्रिभुवन मावि र अन्य विद्यालयका बालबालिकालाई यहाँ पढ्ने व्यवस्था मिलाइएको हो ।
आफ्नो थातथलो र पुरानो विद्यालय तत्काल फर्किने अवस्था नभएपछि आश्रयस्थलबाटै विद्यालय आएर पढाइलाई निरन्तरता दिइरहेको विद्यार्थीहरू बताउँछन् ।
'घरै छैन, बाढीले लग्यो । मसँग चाहिँ मेरो ममी–बुवा हुनुहुन्थ्यो । हामी चाहिँ १४ गते आइपुगेको,' गीतामाता माध्यमिक विद्यालयमा पढिरहेकी प्रीति राईले भनिन् ।
विद्यालयका अनुसार गुम्बामा आश्रय लिएर बसेका बाढी प्रभावितमध्ये अझै करिब ७० जना बालबालिका विद्यालय आएका छैनन् । विद्यालयमा आएकाहरूको दैनिकी सामान्य बनाउन नियमित मनोसामाजिक परामर्शसँगै मनोरञ्जनात्मक र सिर्जनात्मक गतिविधि सञ्चालन भइरहेको विद्यालयमा सहायक प्रधानाध्यापक रामबाबु देवकोटाले बताए ।
'उहाँहरूलाई पहिला काउन्सिलिङ गर्यौं । विद्यार्थीहरू पढाइमा इच्छुक भए भने त्यो विद्यार्थीलाई क्लासरुममै पठाइदिने गरी काउन्सिलिङ गरेका हौं,' उनले भने ।
विद्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट विस्थापित बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका बालबालिका छन् । गुम्बाबाट प्राप्त तथ्यांक र काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार गीता माता विद्यालयमा पठाइएका १३२ बालबालिकामध्ये हालसम्म ६० जना विद्यालय आएका छन् ।
त्यसमध्ये नुवाकोटको त्रिभुवन माविका १० जना र अन्य विद्यालयका विद्यार्थीसमेत छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तह तथा काठमाडौं महानगरपालिकासँगको समन्वयमा उनीहरूको पठनपाठनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्याक हरिकृष्ण श्रेष्ठले बताए ।
'यो मन्त्रालयलगायत अन्य विभिन्न निकाय, काठमाडौं महानगरपालिकालगायत विभिन्न निकायसँगको समन्वय नै हो । यो एउटा टिमले गर्ने काम हो । देशमा भएको यो विपत्ति भनेको हाम्रो साझा साझेदारी र एउटा उत्तरदायित्व बहन गर्ने काम हो,' उनले भने ।
विपद्का कारण शैक्षिक सत्रको बीचमै विस्थापित भएका बालबालिकाको शिक्षण–सिकाइमा क्षति नहोस् भनेर उनीहरूलाई आश्रयस्थलबाटै विद्यालय ल्याउने र पुर्याउने व्यवस्था गरिएको छ । बाढी प्रभावित भई काठमाडौंका अन्य स्थानमा अस्थायी आश्रय लिएका चार जना बालबालिकाको भने ज्ञानोदय माध्यमिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।
गीता माता विद्यालयमा आएका विद्यार्थीका लागि आवश्यक थप दुई शिक्षक, शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने जनाएको छ ।
'काठमाडौं महानगरपालिका शिक्षा विभागले हामीलाई शैक्षिक वातावरणका लागि सपोर्ट गर्नुभएको छ भने यो काममा हामीले पनि हातेमालो गरेका छौं । यो एउटा टिमले गर्ने काम हो,' प्रअ श्रेष्ठले भने ।
गीता माता माध्यमिक विद्यालयमा नियमित करिब १ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा थप कक्षाकोठाको व्यवस्था गरेर भए पनि विपद्बाट विस्थापित बालबालिकालाई उपयुक्त शैक्षिक वातावरणमा अध्ययन गराउने प्रतिबद्धता विद्यालयले जनाएको छ ।
नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।