एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रोमाञ्च देशका विभिन्न सहरमा पनि देखिने भएको छ । क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्ने र सामूहिक रूपमा खेलको आनन्द लिने अवसर प्रदान गर्न एक्स्ट्रिम इनर्जी ड्रिंकले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो ।
एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन् ।
त्यस्तै, काठमाडौं उपत्यकाबाहिर सुदूरपश्चिमको धनगढीस्थित कबर्ड हल क्षेत्र, कर्णालीको सुर्खेतस्थित घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरस्थित पुरानो गुद्री मैदानमा फ्यान जोन सञ्चालन गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने कम्पनीको योजना छ । खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछन् । दर्शकले खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनुका साथै गिभअवे कार्यक्रममार्फत आकर्षक उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।