Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो

Ekantipur •
October 25, 2026 • 05:30 PM
1
1 reads 0 reactions

एनपीएलसँगको सहकार्यले युवापुस्तासँग जोडिन र ब्रान्डको पहिचान बलियो बनाउन सघाएको सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्याल बताउँछन् । क्रिकेट र बैंकिङबीचको समानता, एनपीएलको आर्थिक सम्भावना र बैंकको डिजिटल रूपान्तरणबारे उनीसँगको कुराकानी ।

एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो

एनपीएलसँगको सहकार्यले युवापुस्तासँग जोडिन र ब्रान्डको पहिचान बलियो बनाउन सघाएको सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्याल बताउँछन् । क्रिकेट र बैंकिङबीचको समानता, एनपीएलको आर्थिक सम्भावना र बैंकको डिजिटल रूपान्तरणबारे उनीसँगको कुराकानी ।

स्थापनाको पहिलो सिजनमै स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरू हुँदै छ । एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक छ । सन् २०२४मा सुरु हुँदा एनपीएलले यति छिट्टै यस्तो उचाइ लेला भन्ने अनुमान धेरैलाई थिएन ।

यही अनिश्चितताबीच सिद्धार्थ बैंक पाँच वर्षका लागि मुख्य प्रायोजक बनेको थियो । यसअघि खेलकुद प्रतियोगितामा विरलै देखिने यो बैंक एकैपटक एनपीएलमा जोडिनुको कारण, यहाँसम्मको यात्रा, आगामी योजना र बैंकिङ क्षेत्रबारे सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल सँग कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको कुराकानीको सार :

प्रायोजनका हिसाबमा सिद्धार्थ बैंक यसअघि खेलकुद प्रतियोगितामा विरलै देखिन्थ्यो, तर एकैपटक नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएलमा जोडियो, यसको कारण के हो ?

सिद्धार्थ बैंक सधैं भविष्यका सम्भावनामा लगानी गर्ने कुरामा विश्वास राख्छ । आजको नेपाल युवाको देश हो । युवाको सबैभन्दा ठूलो ऊर्जा, प्रेरणा र आकर्षणको केन्द्रमध्ये एक क्रिकेट बनेको छ । त्यसैले नेपाल प्रिमियर लिग (एनपीएल) सँगको हाम्रो सहयात्रा खेलकुद प्रायोजनको विषय होइन । यो नेपालका लाखौं युवाप्रतिको हाम्रो प्रतिबद्धताको अभिव्यक्ति हो । सिद्धार्थ बैंक आफूलाई वित्तीय सेवा प्रदायकका रूपमा सीमित राख्न चाहँदैन । हामी युवाको सपना, आकांक्षा, नवप्रवर्तन, सिर्जनशीलता र ऊर्जासँग जोडिन चाहन्छौं । अहिले युवा पुस्ता डिजिटलमैत्री मात्र नभएर महत्त्वाकांक्षी र विश्वस्तरीय सोच राख्ने खालको छ । त्यही भावनालाई आफ्नो व्यवसाय, सेवा र राष्ट्रिय महत्त्वका कार्यमा सहभागिताको माध्यमबाट प्रतिबिम्बित गर्न चाहन्छौं । एनपीएलमा हाम्रो सहभागिता त्यसैको एउटा सशक्त उदाहरण हो । बैंक विभिन्न राष्ट्रिय खेल गतिविधि, म्याराथन, युवा सहभागिता कार्यक्रम तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

पहिलो सिजनदेखि नै स्थापित एनपीएल तेस्रो संस्करणसम्म आइपुग्दा लोकप्रिय भइसकेको छ, एनपीएलसँग जोडिनुअघि यति लोकप्रिय होला भन्ने अनुमान थियो ?

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण, राष्ट्रिय टोलीले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका उपलब्धि तथा क्रिकेट खेलप्रति युवा पुस्ताको उत्साहलाई हेर्दा एनपीएल लोकप्रिय हुने विश्वास हामीलाई थियो । तर आज जुन स्तरको जनआकर्षण, दर्शक सहभागिता, व्यावसायिक चासो र अन्तर्राष्ट्रिय ध्यान एनपीएलले प्राप्त गरेको छ, त्यो प्रारम्भिक अपेक्षाभन्दा अझ उत्साहजनक छ ।

एनपीएलले क्रिकेट प्रतियोगिताका रूपमा मात्र होइन, एउटा राष्ट्रिय उत्सवका रूपमा आफूलाई स्थापित गरेको छ । यसले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली समुदायलाई पनि एउटै भावनात्मक सूत्रमा बाँधेको छ । सुरुदेखि नै यो यात्राको हिस्सा बन्न पाउँदा सिद्धार्थ बैंकले गर्व महसुस गरेको छ ।

एनपीएलको प्रायोजन नेपाली खेलकुदमा सबैभन्दा ठूलो भनिएको छ, तर रकम सार्वजनिक गरिएको छैन, खेलकुदमा गरिएको लगानीलाई बैंकले कसरी हेरेको छ ?

खेलकुदमा गरेको लगानीलाई बैंकले प्रायोजनको विषयका रूपमा मात्र हेरेको छैन । यो राष्ट्रका लागि गरिएको लगानी हो । खेलकुदले युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना, स्वस्थ जीवनशैली र आत्मविश्वासको विकास गर्छ । राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति युवा हो । युवालाई सही अवसर, उचित प्रोत्साहन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने वातावरण दिन सकियो भने त्यसको लाभ दीर्घकालसम्म राष्ट्रले प्राप्त गर्छ । यस कारण सिद्धार्थ बैंकले नेपाली क्रिकेट तथा खेलकुद विकासलाई राष्ट्र निर्माणको महत्त्वपूर्ण आयामका रूपमा हेर्दै आएको छ ।

एनपीएलसँग सिद्धार्थ बैंकको सम्झौता ५ वर्षका लागि हो, अहिले तेस्रो सिजन चलिरहेको छ, पाँच वर्षपछि पनि प्रायोजन गर्ने योजना छ कि छैन ?

सिद्धार्थ बैंक र नेपाल क्रिकेट संघ (क्यान) बीच भएको पाँच वर्षीय सहकार्य दीर्घकालीन सोचका साथ गरिएको रणनीतिक साझेदारी हो । यसको उद्देश्य प्रतियोगिता प्रायोजन गर्नु मात्र होइन, नेपाली क्रिकेटको दिगो विकासमा योगदान पुर्‍याउनु, खेल क्षेत्रको व्यावसायिकता बढाउनु तथा युवा पुस्तासँग अझ निकट सम्बन्ध स्थापित गर्नु हो । अहिले हामी सहकार्यको तेस्रो वर्षमा छौं । हालसम्मको अनुभव अत्यन्त सकारात्मक छ । पाँच वर्षपछिको निर्णय त्यसबेलाको परिस्थिति, प्राप्त उपलब्धि तथा दुवै पक्षको रणनीतिक प्राथमिकतामा आधारित हुनेछ । सिद्धार्थ बैंक नेपाली खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति सधैं सकारात्मक र प्रतिबद्ध छ ।

एनपीएलसँग जोडिनुअघि र अहिले तुलना गर्दा सिद्धार्थ बैंकलाई के–कस्तो लाभ–हानि भएको छ ?

हामीले यसलाई खर्च वा प्रतिफलको हिसाबबाट मात्र हेरेका छैनौं । एनपीएलसँगको सहकार्यले सिद्धार्थ बैंकलाई करोडौं नेपालीको भावनासँग जोड्ने, युवा पुस्तासँग प्रत्यक्ष संवाद गर्ने तथा बैंकलाई खेलमैत्री, ऊर्जाशील र भविष्यप्रति आशावादी संस्थाका रूपमा स्थापित गर्ने अवसर दिएको छ । ब्रान्ड भिजिबिलिटी, ग्राहक संलग्नता, डिजिटल प्लाटफर्मको प्रयोग, नयाँ ग्राहक आकर्षण तथा संस्थागत प्रतिष्ठामा सकारात्मक प्रभाव परेको छ । विशेषगरी युवा पुस्तामाझ सिद्धार्थ बैंकको पहिचान थप सशक्त बनेको छ । राष्ट्र निर्माण, युवाशक्ति प्रवर्द्धन र खेलकुद विकासमा गरिएको योगदानको मूल्यलाई वित्तीय प्रतिफलले मात्र मापन गर्न सकिँदैन ।

प्रायोजनका हिसाबले धेरै खेलमध्ये सिद्धार्थ बैंकले क्रिकेट नै किन रोज्यो ?

खेलकुदले हामीलाई अनुशासन, प्रतिस्पर्धा, नेतृत्व क्षमता र कहिल्यै हार नमान्ने भावना विकास गर्छ । त्यसमा पनि क्रिक्रेट र बैंकिङबीच धेरै समानता छ । दुवै क्षेत्रमा सफलता प्राप्त गर्न दीर्घकालीन सोच, अनुशासन, धैर्य, रणनीति र विश्वास आवश्यक पर्छ । क्रिकेटको मैदानमा कुनै पनि खेल एक्लो प्रयासबाट जितिँदैन । सामूहिक भावना, नेतृत्व र सहकार्यको आवश्यकता हुन्छ । बैंकिङ पनि त्यस्तै हो । ग्राहक, कर्मचारी, नियामक निकाय, लगानीकर्ता तथा सरोकारवालाबीचको विश्वास र सहकार्यले संस्थालाई सफल बनाउँछ । जसरी एउटा सफल क्रिकेट टोलीले लगातार राम्रो प्रदर्शनमार्फत समर्थकको विश्वास जित्छ, त्यसरी नै बैंकले पनि विश्वसनीय सेवा, पारदर्शिता र जिम्मेवार व्यवहारमार्फत ग्राहकको विश्वास जित्नुपर्छ ।

एनपीएलको तेस्रो संस्करण अघिल्लाभन्दा के अर्थमा विशेष छ ?

तेस्रो संस्करण नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृतिपछि टेस्ट खेल्ने राष्ट्रका प्रतिष्ठित खेलाडीको सहभागिताको बाटो खुलेको छ । अस्ट्रेलियाका पूर्वब्याट्सम्यान डेभिड वार्नर, दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान डेभिड मिलर, बंगलादेशका अलराउन्डर शाकिब अल हसन, इंग्ल्यान्डका स्टार मोइन अली, न्युजिल्यान्डका जिमी निसम, वेस्ट इन्डिजका आन्द्रे रसेल, जिम्बावेका सिकन्दर राजा, श्रीलंकाका चरिथ असलंकालगायत खेलाडी नेपाल आउनु आफैंमा नेपाली क्रिकेटको बढ्दो उचाइको संकेत हो । यसले नेपाली युवालाई विश्वस्तरीय खेलाडीहरूसँग खेल्ने, सिक्ने र अनुभव साट्ने दुर्लभ अवसर प्रदान गरेको छ । यही नै एनपीएलको सबैभन्दा ठूलो उपलब्धि हो ।

आईसीसीको स्वीकृतिपछि एनपीएलमा विश्वस्तरीय खेलाडीको सहभागिताले नेपाली क्रिकेटको उचाइ कहाँ पुर्‍याउला ?

नेपालका युवा खेलाडीका लागि यो एउटा सुवर्ण अवसर हो । उनीहरूलाई हिजोसम्म टेलिभिजनमा मात्र देखेका खेलाडीहरूसँग एउटै टोलीमा खेल्ने, एउटै ड्रेसिङ रुम सेयर गर्ने र उनीहरूको अनुभवबाट प्रत्यक्ष सिक्ने मौका प्राप्त हुनेछ । डेभिड वार्नरको आक्रामक ब्याटिङ सोच, डेभिड मिलरको कुनै पनि समयमा खेललाई आफ्नो पक्षमा ल्याउने ब्याटिङ कौशल र मोइन अलीको बहुआयामिक क्षमता, शाकिब अल हसनको खेलप्रतिको परिपक्वता, आन्द्रे रसेलको प्रभावशाली उपस्थितिजस्ता पक्षले नेपाली खेलाडीहरूलाई प्राविधिक ज्ञान मात्र होइन, अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संस्कार पनि सिकाउनेछ । यसले नेपाली क्रिकेटलाई व्यावसायिक रूपान्तरणतर्फ अगाडि बढाउनेछ । अझ महत्त्वपूर्ण कुरा, देशभरका हजारौं बालबालिका र युवाहरूले अब विश्वस्तरीय खेलाडीलाई आफ्नै मैदानमा देख्ने अवसर प्राप्त गर्नेछन् । प्रेरणाको यही वातावरणले भविष्यका अन्तर्राष्ट्रियस्तरका नेपाली क्रिकेटर जन्माउने विश्वास गर्न सकिन्छ ।

एनपीएलको दोस्रो सिजनमा करिब १ अर्बको कारोबार भएको अनुमान छ, यस वर्ष कारोबार निश्चित रूपमा बढ्नेछ, प्रतियोगिताले नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमा कस्तो योगदान पुर्‍याउन सक्ला ?

आज विश्वका सफल लिगहरू केवल खेल प्रतियोगितामा सीमित छैनन् । तिनीहरू पर्यटन, लगानी, रोजगारी, मनोरञ्जन उद्योग तथा अन्तर्राष्ट्रिय ब्रान्डिङका महत्त्वपूर्ण माध्यम बनेका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पनि त्यही सम्भावना देख्छ । विश्वस्तरीय खेलाडीहरूको आगमनले नेपालप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानाकर्षित भएको छ । विदेशी समर्थक, विश्लेषक, खेल पत्रकार र क्रिकेट समुदायको नजर नेपालतर्फ केन्द्रित गर्न यसले ठूलो सहयोग पुग्ने देखिन्छ । यसले नेपालको पर्यटन, आतिथ्य उद्योग तथा अन्तर्राष्ट्रिय छविलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ । एनपीएल केवल क्रिकेट प्रतियोगिता मात्र होइन, यो नेपाललाई विश्वसमक्ष चिनाउने एउटा महत्त्वपूर्ण प्लाटफर्म हो ।

अब बैंकिङबारे कुरा गरौं, तीन वर्षदेखि बैंकमा अधिक तरलता छ, ब्याजदर घटिरहेको छ, तर बैंकहरूले कर्जा विस्तार गर्न सकेका छैनन्, कारण शिथिल अर्थतन्त्र हो कि बढ्न नसकेको निजी क्षेत्रको आत्मविश्वास ?

मेरो विचारमा यी दुवै पक्ष एकअर्कासँग सम्बन्धित छन् । पछिल्ला केही वर्षमा अर्थतन्त्रले सुस्त गति अनुभव गर्‍यो, जसका कारण निजी क्षेत्रका धेरै व्यवसायी तथा लगानीकर्ता व्यवसाय विस्तार योजनामा पर्ख र हेरको स्थितिमा देखिए । यसले नयाँ कर्जाको मागलाई स्वाभाविक रूपमा असर गर्‍यो । तर अहिले परिस्थिति क्रमशः सुधार हुँदै गएको संकेत देखिन थालेको छ । पर्यटन, ऊर्जा, कृषि–व्यवसाय, पूर्वाधार तथा सेवा क्षेत्रमा गतिविधि बढ्न थालेका छन् । निजी क्षेत्रको आत्मविश्वास पनि विस्तारै फर्किंदै छ । हामीले दीर्घकालीन रूपमा हेर्दा नेपालको आर्थिक सम्भावना अत्यन्त सकारात्मक देख्छौं । बैंकहरूको भूमिका कर्जा प्रवाह गर्ने मात्र होइन, उद्यमशीलता, इनोभेसन र उत्पादनशील क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने पनि हो । सिद्धार्थ बैंक यही सोचका साथ अगाडि बढिरहेको छ ।

डिजिटल भुक्तानी, डिजिटल बैंकिङ र फिनटेकको विस्तारसँगै परम्परागत बैंकहरूको व्यावसायिक मोडल कसरी परिवर्तन हुँदै गएको छ ? यस प्रक्रियामा सिद्धार्थ बैंक कसरी रूपान्तरण हुँदै छ ?

अहिले बैंकिङ क्षेत्र इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणको चरणमा छ । ग्राहकहरू शाखामा जानुभन्दा मोबाइलबाट सेवा लिन रुचाउँछन् । कारोबारको गति, सहजता र व्यक्तिगत अनुभव नै प्रतिस्पर्धाको मुख्य आधार बन्दै गएको छ । यस्तो अवस्थामा बैंकहरू निक्षेप संकलन र कर्जा प्रवाह गर्ने संस्थामा सीमित रहन सक्दैनन् । उनीहरू वित्तीय सेवा, डिजिटल सोलुसन र जीवनशैलीसँग जोडिएका इकोसिस्टम निर्माण गर्ने संस्थामा रूपान्तरित हुँदै छन् । सिद्धार्थ बैंकले पनि डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेको छ । हाम्रो लक्ष्य केवल डिजिटल बैंक बन्नु होइन, ग्राहकको दैनिक जीवनलाई सहज बनाउने विश्वसनीय डिजिटल वित्तीय साझेदार बन्नु हो ।

तपाईं बैंकको नेतृत्वमा आएको करिब एक वर्ष पुग्दै छ, यो कार्यकालमा बैंकलाई अझै सशक्त, प्रतिस्पर्धी र लोकप्रिय बनाउन तपाईंका योजना के–के छन् ?

सिद्धार्थ बैंकको नेतृत्व सम्हाल्नु मेरा लागि गहन जिम्मेवारीका साथै अवसर र चुनौतीको विषय पनि हो । पछिल्ला दुई दशकमा बैंकले निर्माण गरेको विश्वासको जग मजबुत छ । अब हाम्रो लक्ष्य त्यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने हो । हामी तीन प्रमुख प्राथमिकतामा केन्द्रित छौं । पहिलो, ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने । दोस्रो, बैंकलाई अझ चुस्त र प्रविधिमैत्री बनाउने । र तेस्रो, दिगो तथा गुणस्तरीय वृद्धि हासिल गर्दै सबै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने । साथै कृषि, ऊर्जा, साना तथा मझौला उद्यम, डिजिटल वित्तीय सेवा र उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिइनेछ । हामी ठूलो बैंक मात्र बन्न चाहँदैनौं, विश्वास, नवप्रवर्तन, गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्व निर्वाहका दृष्टिले उत्कृष्ट बन्न चाहन्छौं ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612