विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।
काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन सुरु हुँदैछ । प्रतियोगितामा प्रविधि र अन्तर्राष्ट्रिय मान्यतासँगै विश्व क्रिकेटका चर्चित खेलाडी तथा दर्शकका लागि थपिएका सुविधा मुख्य पक्षका रूपमा रहेका छन् । यसै सन्दर्भमा एनपीएलको तयारीकाबारे कान्तिपुर टिभीका डीपी उपाध्यायले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द सँग गरेको कुराकानीको अंश :
करिब ३ वर्षको बीचमा क्यानले आयोजना गरेको एनपीएलले विश्वभर चर्चा कमाइसकेको छ । क्यानको अध्यक्षका हैसियतमा तपाईंले कस्तो अनुभव गरिरहनु भएको छ ?
एनपीएल सुरु गर्दा खासगरी नेपाली समाजमा नेपालली क्रिकेटमाँझ जुन समर्थन छ एकदमै हाइट लिन्छ भन्ने आशा त थियो तर जुन खालको आर्थिक गतिविधिमा पनि सक्षम हुँदै जान्छ भन्नेमा अलिकति शंका नै थियो । किनभने हामीले क्रिकेट गतिविधि गर्दा स्पोन्सरसीप, लगानीकर्ताको समस्या, पहिला फुटबलले डोमिनेन्ट गरेको जस्ता विषय थियो ।
साथै नवयुवा र पछिल्लो पिँढीमा क्रिकेट एकदमै लोकप्रिय पनि भइरहेको थियो । झन अहिलेको नयाँ पुस्ता त क्रिकेटकै लागि जन्मिएको जस्तो भइरहेको छ । यसले गर्दा समयसापेक्ष रुपमा अगाडि त बढ्छ तर तेस्रो सिजनमै नेपाल प्रिमियर लिग (एनपीएल)ले यस्तो फड्को मार्नुमा क्रिकेटलाई साथ दिनेहरू मिलेर आएको जस्तो छ ।
अर्को विषय नेपालमा कोही पनि क्रिकेटको विरोधी छैनन् । सरकार, सबै राजनीतिक दलहरू, युवादेखि सम्मानित जेष्ठ नागरिकहरू सबैको साथ छ । साथै नेपाली मिडिया, क्रिकेटका फ्यानहरू जोडिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले हामीलाई ४ वर्ष निलम्बन गर्यो । हामीले त्यो झेल्यौं पनि । तर अहिले हामीले गरेको काम र हाम्रो लबिङमा आइसीसीले महत्व दिइरहेको छ । यसकारण आइसीसीले गर्ने हरेक निर्णय हाम्रो फेबरमा छ ।
तेस्रो पक्ष निजी क्षेत्रले पनि हामीलाई निकै सहयोग गरिरहनु भएको छ । हरेक पक्षमा उहाँहरूले साथ र सहयोग गरिरहनु भएको छ । नेपाल सरकारले पनि पूर्वाधार व्यवस्थित गर्ने प्रयास गरिरहेको छ ।
अब एनपीएल तेस्रो सिजनको सबै तयारी सकिएको हो ?
अन्तराष्ट्रिय ठुला नाम भएका खेलाडी को को आउने भन्ने क्यानको हातमा हुँदैन । क्यानले त सहजीकरण गर्ने मात्रै हो । बोर्डहरूसँग कुरा गरिदिने हो, उहाँहरूले विदेशी खेलाडीहरूलाई अलि धेरै पैसा पनि दिनुपर्छ । त्यसकारण उहाँहरूले घोषणा नगरेसम्म यो खेलाडी आउछ भनेर भन्न पनि सकिन्न । नाम चलेका जो जो खेलाडी आउनु भएको छ उहाँहरू पनि ठूलो नाम हो । विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।
डीपी उपाध्याय कान्तिपुर टेलिभिजनका डेपुटी न्युज चिफ हुन् ।