मोबाइल एपमा खेलको लाइभ अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र सामग्री खरिद गर्न सकिने सुविधा राखिएको छ ।
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले समर्थकलाई डिजिटल माध्यमबाट टोलीसँग जोड्ने उद्देश्यले आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ ।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने एपमा खेलको लाइभ अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र सामग्री खरिद गर्न सकिने सुविधा छ । आईओएस प्रयोगकर्ताका लागि एपको संस्करण पनि चाँडै सार्वजनिक गरिने टोलीले जनाएको छ ।
एपमा खेल तालिका, नतिजा र खेलका प्रमुख गतिविधिको जानकारी दिने ‘म्याचडे सेन्टर’ समावेश छ । यसमा खेलका तस्बिर हेर्न तथा खेल, प्रतियोगिता र आफूले गरेका अर्डरसम्बन्धी सूचना प्राप्त गर्न सकिन्छ ।
त्यस्तै, ‘फ्यान जोन’मार्फत समर्थकले खेलका क्रममा टोलीलाई समर्थन गर्दै सन्देश पठाउन, खेल हेर्दाका तस्बिर साझा गर्न र अन्य समर्थकका प्रतिक्रिया हेर्न सक्नेछन् । यसले देशभरका समर्थकलाई एउटै डिजिटल समुदायमा जोड्ने टोलीको अपेक्षा रहेको विराटनगरले जनाएको छ ।
एपमा समावेश ‘प्रेडिक्ट एन्ड विन’ सुविधामार्फत समर्थकले खेलको नतिजा तथा महत्त्वपूर्ण घटनाबारे अनुमान गरेर पुरस्कार जित्न सक्नेछन् । यसबाहेक विभिन्न फ्यान कन्टेस्ट पनि सञ्चालन गरिने टोलीले जनाएको छ ।
क्रिकेटसम्बन्धी मिनी गेमसँगै एपमा दैनिक हिँडाइको लक्ष्य पूरा गरेर फ्यान प्वाइन्ट कमाउन सकिने सुविधा पनि छ । ‘डेली स्टेप च्यालेन्ज’अन्तर्गत प्रयोगकर्ताले दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य पूरा गरी अतिरिक्त प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
खेल खेल्दा, नतिजाको अनुमान गर्दा तथा अन्य गतिविधिमा सहभागी हुँदा जम्मा हुने प्वाइन्टका आधारमा समर्थकले ब्रन्ज, सिल्भर, गोल्ड र प्लाटिनम गरी ४ तहमा आफ्नो स्तर बढाउन सक्नेछन् । प्रत्येक तहअनुसार पुरस्कार तथा अन्य सुविधा उपलब्ध गराउने व्यवस्था रहेको टोलीले जनाएको छ ।
एपमा रहेको अनलाइन पसलबाट विराटनगर किंग्सका आधिकारिक जर्सी तथा अन्य सामग्री खरिद गर्न सकिन्छ । समर्थकले आफ्नो नाम र रोजेको नम्बर राखेर जर्सीलाई व्यक्तिगत स्वरूप दिन सक्नेछन् । जर्सी खरिदका लागि क्यास अन डेलिभरी र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने तथा अर्डरको अवस्था एपबाटै हेर्न मिल्ने सुविधा छ ।
एपमा टोलीका समाचार, खेलाडीका कथा तथा अन्य गतिविधिसम्बन्धी जानकारीसमेत उपलब्ध हुनेछ । प्रयोगकर्ताले गुगल, एप्पल वा इमेलमार्फत लगइन गरी आफ्नो प्रोफाइल र सूचना व्यवस्थापन गर्न सक्नेछन् ।
एप सार्वजनिक गरेको अवसरमा विराटनगर किंग्सले ‘भेरिफाइड फ्यान’ कार्यक्रममार्फत सयौं प्रयोगकर्तालाई जर्सी र खानाका भौचर उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । त्यसका लागि समर्थकले एपको आधिकारिक समुदायमा आबद्ध भई आफ्नो खाता प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि उनीहरूले प्रचारात्मक गतिविधिमा सहभागी भएर पुरस्कार जित्ने अवसर पाउनेछन् ।
बेटा संस्करण सार्वजनिक गरेको टोलीले समर्थकको सहभागिता बढाउने, प्रयोगकर्ताबाट सुझाव लिने र एपमा थप सुविधा समावेश गर्दै जाने लक्ष्य राखेको जनाएको छ ।