बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा वर्षा र हिमपातको जाखिम बढ्ने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।
काठमाडौँ — मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ सार्वजनिक गर्दै कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने जनाएको छ । यस अवधिमा वर्षाको जोखिम बढ्न सक्ने भएकाले पाकेको धानबाली जोगाउन र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
विभागले शुक्रबार जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहान ५ः४५ बजे पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।’
यो प्रणालीबारे विभागले अनुगमन गरिहेकाले वर्षाको मात्रा, जोखिम र चक्रवातको असर कतिसम्म पर्छ भनेर अहिले नै यकिन गर्न नसकिने मौमसविद् डेभिड ढकालले बताए । ‘यद्यपि हिमाली जिल्लामा हिमपातको सम्भावना छ । धान काट्ने समय भएकाले धानबालीमा क्षति गर्न सक्छ,’ उनले भने, ‘मुख्यगरी पर्वतारोहण र कृषि क्षेत्रमा असर पर्न सक्ने देखिन्छ ।’ उनका अनुसार १० गतेसम्म वर्षाको सम्भावना छैन । त्यसपछि बादल विकसित हुने र ११ गतेदेखि वर्षा सुरु हुन सक्ने विभागको अनुमान छ ।
यसैबीच, भारतको मौसम विभागले शनिबार बुलेटिन जारी गर्दै बंगालको खाडीको मध्यपूर्वी तथा दक्षिणपूर्वी आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएको जनाएको छ । शुक्रबार बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली न्यून चापीय क्षेत्रमा परिणत भएको हो । यो प्रणाली आइतबार गहिरो अवदाब (डिप डिप्रेसन) र सोमबार बिहानसम्म बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै यो प्रणाली थप शक्तिशाली हुने र बुधबार बिहानसम्ममा आन्ध्र प्रदेशको तट नजिकै बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा पुग्ने सम्भावना छ ।
मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा मौसमी विश्लेषण सार्वजनिक गर्दै कात्तिक १२–१५ गतेसम्म वर्षाको सम्भावना र जोखिम रहने उल्लेख गरेका छन् । यस अवधिमा नेपालका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा भारी वर्षाले जोखिम बढाउन सक्ने उनको भनाइ छ । ‘शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी देखिन्छ,’ उनले भनेका छन्, ‘काठमाडौंलगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ । मनाङमा पनि यसपटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ ।’
बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुन सक्ने र त्यसले भारी वर्षाको सम्भावना बढाउने पोखरेलले उल्लेख गरेका छन् । खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले स्थानीय मौसम हेरेर बाली सुरक्षित गर्ने योजना बनाउन पनि उनले आग्रह गरेका छन् ।
जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले भने ११ देखि १५ गतेसम्म देशैभर वर्षा हुने अनुमान गरेका छन् । बाली काट्न र भित्र्याउन आग्रह गर्दै उनले उच्च हिमाली क्षेत्रको पदयात्रालाई उक्त अवधिमा विराम लगाउन सुझाव दिएका छन् । ‘यो वर्षा प्रणालीको प्रभाव झन्डै एक हप्तासम्म रहन सक्ने देखिन्छ । यसको अर्थ लगातार पानी परिरहने भन्ने होइन । बीचबीचमा वर्षा रोकिने भए पनि मौसम पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी परिरहने सम्भावना छ,’ उनले भनेका छन्, ‘यो प्रणाली अझै विकसित हुँदै गएकाले वर्षाको मात्रा बढ्न सक्ने र केही स्थानमा असिनासमेत पर्न सक्ने सम्भावना छ ।’
विभागका मौसमविद् डेभिड ढकालले अहिले पश्चिमी वायु हाबी भएकाले पूर्वतिरबाट आउने वायुसँगको अन्तरक्रियाले वर्षाको मात्रा बढ्न पनि सक्ने अनुमान गरे । उनका अनुसार बंगालको खाडीबाट विकसित पूरै प्रणाली नेपाल प्रवेश गर्ने होइन, असर मात्रै देखिने हो । ‘यसको प्रभावले नेपालमा वर्षाका गतिविधि हुने सम्भावना देखिएको हो,’ उनले भने, ‘प्रारम्भिक अनुमानमा कोशी, मधेश, बागमती, गण्डकी आसपासका क्षेत्रमा सुरुवाती प्रभाव देखिने र बिस्तारै सुदूरपश्चिमतर्फ जान सक्ने देखिन्छ ।’ १० गतेभित्र धान थन्क्याउन सक्ने अवस्था भए योजना बनाउन र हिमाली भूभागमा हुने पदयात्रा यो अवधिमा रोक्न उनले सुझाव दिए ।
नेपालबाट मनसुन अक्टोबर १४ (असोज २८) मा पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि दसैंका बेला धेरै ठाउँमा मौसम खुलेको थियो । बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीकै कारण गत असोज ७ देखि ४ दिनसम्म देशका अधिकांश भूभागमा भएको अति भारी वर्षासम्म भएको थियो ।
सोमबारसम्म चक्रवाती आँधी विकसित भई थप शक्तिशाली बन्ने भारतीय मौसम विभागले जनाएको छ । जसका कारण मंगलबार र बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा तथा बुधबार ओडिसा र तेलंगानाका केही स्थानमा अत्यन्त भारी वर्षा हुन सक्नेछ । ओडिसाका केही स्थानमा मंगलबार र बिहीबार भारीदेखि अति भारी वर्षा हुन सक्ने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
यस्तै, विभागले आइतबार र सोमबार केरलम (केरला) का पाँच जिल्लामा अति भारी वर्षा हुने भन्दै ‘रेड अलर्ट’ जारी गरेको छ । आइतबार मलप्पुरम, कोझिकोड र वायनाड तथा सोमबार इडुक्की र पालक्कड जिल्लामा अति भारी वर्षा हुने विभागले जनाएको छ ।
फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।