Trending
Prev Story
Next Story

ठेकेदारबीचको विवादले चार वर्षदेखि सात किलोमिटर सडक अधुरै

Ekantipur •
October 14, 2026 • 02:17 PM
1
1 reads 0 reactions

२०७९ माघमा २७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको सात किलोमिटर सडक दुईपटक म्याद थपिँदा पनि कालोपत्र हुन सकेको छैन ।

ठेकेदारबीचको विवादले चार वर्षदेखि सात किलोमिटर सडक अधुरै

२०७९ माघमा २७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको सात किलोमिटर सडक दुईपटक म्याद थपिँदा पनि कालोपत्र हुन सकेको छैन ।

रुकुम पश्चिम — राप्ती लोकमार्ग (अमेलिया–रुकुम मुसिकोट) लाई ७५ किलोमिटर विस्तार गरी भेरी करिडोरसँग जोड्ने सडकअन्तर्गतको एउटा खण्ड हो, नुदुवा–झारमारे सडक । २०७९ माघमा ठेक्का लागेको सात किलोमिटर लामो यो सडकखण्डको निर्माण चार वर्ष पुग्न लाग्दासमेत आधा मात्रै भएको छ । मुख्य ठेकेदार र पेटी ठेकेदारबीचको विवादका कारण सडक निर्माणले गति लिन नसकेको हो ।

निर्धारित समयमा काम भएको भए सम्झौताअनुसार २०८१ चैत मसान्तभित्रै यो सडक कालोपत्र भइसक्नुपर्ने थियो । तर, दुई पटक म्याद थप्दासमेत निर्माणले गति लिएन । अहिले ठेकेदार कम्पनीले तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढाएको छ । सडकमा अहिले ग्राभेलको काम भइरहेको छ ।

चौरजहारी सडक डिभिजनअन्तर्गत पर्ने यो सडक निर्माणको जिम्मा सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिले २७ करोड ९५ लाख ७६ हजार ८ सय ३७ रुपैयाँ (भ्याटसहित) मा लिएको थियो । तर, मुख्य ठेकेदारले पेटी ठेक्कामा काम दिएको र ती दुई पक्षबीच विवाद भएपछि निर्माण प्रभावित भएको चौरजहारी सडक डिभिजनका प्रमुख खुम भण्डारीले बताए ।

‘पेटीमा कामको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र पारिदियो भनेर मूल ठेकेदार पटक–पटक हाम्रो कार्यालयमा अनुभएको थियो । हामीले जिल्ला प्रशासन कार्यालयसमक्ष दुवै पक्षबीच छलफल गराउन र काम यथाशक्य अघि बढाउन भूमिका खेलेका थियौं,’ उनले भने, ‘तर यसप्रकारका विवादकै कारण सडक निर्माणको काममा ह्याम्पर भयो । अब तेस्रोपल्ट म्याद थपका लागि प्रक्रिया अघि बढेको छ, आशा छ अब चाहिँ काम अघि बढ्नेछ ।’

विवाद के हो र निर्धारित समयमा काम किन सम्पन्न हुन सकेन भन्ने प्रश्नमा निर्माण कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिका सञ्चालक भीमबहादुर थापाले आफूले काम सुरु गरेलगत्तै यसै क्षेत्रका स्थानीय निर्माण व्यवसायीले पेटी ठेक्का दिन दबाब दिएको बताए । उनीहरूकै दबाबका कारण आफूले पेटी ठेक्कामा कामको जिम्मा दिएको उनको भनाइ छ ।

थापाका अनुसार २०७९ फागुनमा कैलाश निर्माण सेवासँग पेटी ठेक्कामा काम गर्ने सम्झौता भएको थियो । पेटी ठेकेदार जमानसिंह बुढा थिए भने उनका अर्का साझेदार चित्रिपाटन बिल्डर्सका सञ्चालक गोपाल विक थिए । पेटी ठेक्काको जिम्मेवारी लिने बेला दुवै जना सहभागी भए पनि सम्झौता र कारोबार भने जमानसिंहकै कम्पनीसँग भएको थापाले बताए । ‘उनीहरूले आफूहरू स्थानीय भएको र काम गर्न पाउनुपर्ने भन्दै पेटीमा काम मागे । मैले पनि काम हुन्छ भने ठिकै त हो नि भन्ठानेर सम्झौता गरेँ,’ उनले भने, ‘तर काम सुरु गरेको ३२ महिनापछि गएको २०८२ मंसिर २६ गते उनीहरूले बाँकी काम गर्न सकेनौं भनेर सम्झौता रद्द गरे ।’

त्यतिबेलासम्म करिब ४५ प्रतिशत काम सकिएको थापाको भनाइ छ । बाँकी काम सम्पन्न गर्न आफू साइटमा आएको भए पनि निर्बाध रूपमा काम गर्न नपाएको उनले गुनासो गरे ।

पेटी ठेक्काको सम्झौता रद्द गरेर बाँकी कामको जिम्मेवारी आफूले लिने क्रममा कैलाश निर्माण सेवालाई ४२ लाख रुपैयाँ बढी भुक्तानी भएको र उक्त रकम आफूले पाउनुपर्ने विषयमा बाफिकोट गाउँपालिका–७ का वडाध्यक्षको रोहवरमा कागजसमेत गरिएको उनले बताए । त्यसको प्रमाण आफूसँग रहेको उनको भनाइ छ । ‘अनि जमानसिंहसँग पार्टनरमा रहेका गोपालले मलाई पैसा माग्न थाले । मैले मेरो सबै हरहिसाब जमानसिंहसँग भएकाले उनलाई पैसाको लेनदेन छैन भनेँ । तर उनले मागेको माग्यै गरे । गएको असोज १७ गते काम गरिरहेको मेसिनको चाबीसमेत खोसियो । अनि मैले मेरो काममा बाधा–अवरोध भएको भनेर प्रहरीमा जाहेरी दिएँ,’ थापाले भने । गोपाल विक भनिने वीरेन्द्र विकका नाममा जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदबहादुर पौडेलले पुष्टि गरे ।

पेटी ठेक्का लिएको कैलाश निर्माण सेवाका सञ्चालक जमानसिंह बुढाले पनि आफूले सम्झौताअनुसार सकेको काम गरेको र बाँकी काम सम्पन्न गर्न नसकेपछि पेटी ठेक्काको करार रद्द गरेको बताए । सुरुमा पेटी ठेक्का लिन गोपाल विकले नै पहल गरेको र पछि आफ्नो फर्ममार्फत काम भएको उनको भनाइ छ । ‘मूल ठेकेदारबाट ठेक्का पेटीमा लिने सम्पूर्ण पहल गोपाल विकले नै गरेका हुन् । पछि उनको फर्मले काम गर्न नमिल्ने भएपछि मेरो फर्ममार्फत सहकार्यमा काम गरेका हौं,’ उनले भने ।

कामको सम्पूर्ण लेनदेन आफ्नो कम्पनीमार्फत भएको भए पनि सुरुमा सम्झौता गर्ने बेला गोपालसमेत सहभागी भएको बुढाले बताए । आफूले घाटा खाएर भए पनि गोपाललाई खुसी बनाउने प्रयास गरेको उनको भनाइ छ । ‘मैले आफूले घाटा खाएर भए पनि उसलाई पैसा दिएको छु । तर म आफैं गोपालबाट पीडित मान्छे हुँ । यस विषयमा प्रहरी–प्रशासनसम्म पुगेको पनि हुँ । तर समस्या समाधान भएन,’ उनले भने ।

मूल ठेकेदारलाई आफूले ४२ लाख रुपैयाँ दिन बाँकी रहेको र उक्त रकम पनि कामबाटै मिलाउने सम्झौता भएको बुढाले बताए ।

यता, गोपाल विकले भने मुख्य ठेकेदार भीमबहादुर थापा र जमानसिंह बुढाले आफूलाई छक्याएर सहमति गरेको आरोप लगाए । आफूले पाउनुपर्ने रकम नपाएको उनको गुनासो छ । जमानसिंहको भनिएको सुनकोशी कन्स्ट्रक्सन उनकी श्रीमती सम्झना थापाको नाममा रहेको उल्लेख गर्दै उनले आफूलाई पन्छाएर गरिएको सहमति मान्य नहुने बताए । ‘जमानसिंहले ११ करोडको भुक्तानी लगेकामा ५४ लाख रुपैयाँको हिसाबबारे मलाई स्पष्ट पारिएको छैन । म पनि त यो ठेक्काको पार्टनर हो, तर मलाई नै पन्छाएर दुई पक्षबीच सहमति गर्ने अनि अहिले मलाई दोषी देखाउने भन्ने हुन्छ ?’ उनले प्रश्न गरे, ‘मैले केही गरी भीमबहादुर सम्पर्कमा नआएपछि मेसिनको चाबी निकाल्न बाध्य भएको हुँ । अब सबै पक्षलाई राखेर जे हो त्यही विषय स्पष्ट पारियोस् । समस्या समाधान गर्न म पनि तयार छु ।’

निर्माणस्थलमा काम गर्ने र गराउने वातावरण बनाउन स्थानीय प्रशासनले सुरक्षाको आवश्यक प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी पौडेलले बताए । ‘हामीले काम अघि बढाउनका लागि ठेकेदार कम्पनीलाई भनेका छौं । सुरक्षाको जिम्मा हाम्रो हो, हामी गर्छौं,’ उनले भने ।

विवादका कारण लामो समयदेखि प्रभावित नुदुवा–झारमारे सडकखण्डमा अहिले ग्राभेलको काम भइरहेको चौरजहारी सडक डिभिजनले जनाएको छ । निर्माण कम्पनीले कामलाई निरन्तरता दिए यसै वर्षभित्र सडक कालोपत्रे गर्ने काम सम्पन्न हुन सक्ने डिभिजनको भनाइ छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6h ago
हिन्दु सम्राटका सात कार्यकर्ता पक्राउ

हिन्दु सम्राटका सात कार्यकर्ता पक्राउ

छठ पर्वको अवसरमा मोटरसाइकल र्‍याली निकाल्ने तयारीमा रहेका हिन्दु सम्राट नेपालका सात जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#सात
Compare →
Onlinekhabar
2d ago
बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ …

#किलोमिटर
Compare →

Related Stories

Building & Construction
Build #2611