गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो नयाँ राजनीतिक पहिचानसहितको कार्यसमिति र विधान अद्यावधिक गराएको छ। योसँगै १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको कार्यसमिति र संशोधित विधानले आयोगको अभिलेखमा स्थान पाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक भएको हो।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
महाधिवेशन सम्पन्न भएपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर आवश्यक कागजात बुझाएको थियो। टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक दस्तावेज र महाधिवेशनका निर्णयहरू आयोगमा पेस गर्दै कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै पनि दलले पदाधिकारी वा कार्यसमितिमा परिवर्तन गरेमा त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले दल दर्ता किताबमा दलको नेतृत्व र पदाधिकारीसम्बन्धी विवरण अद्यावधिक गर्ने गर्दछ।
प्रकाशित: ९ मंसिर २०८३ १५:५० बुधबार