कोलम्बियाको कार्टाजेना शहरमा नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास गरेका अपराधीहरूले सुपरमार्केटभित्र प्रवेश गरी २० जनालाई बन्धक बनाएका छन्।
घटनापछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय विमानस्थलमा ४५ मिनेटसम्म उडान अवतरण रोकिएको थियो।
रोयटर्सका अनुसार मंगलबार बिहान करिब ८ बजे केही हतियारधारी अपराधीहरू सुपरमार्केटमा पुगेका थिए। उनीहरूले त्यहाँ नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास गरेका थिए।
सुपरमार्केटमा जडान गरिएका सुरक्षा क्यामेराको निगरानी गरिरहेका कर्मचारीहरूले तत्काल प्यानिक बटन थिचेर प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै प्रहरी र सुरक्षा बल घटनास्थल पुगेका थिए। प्रहरी आइपुगेपछि अपराधीहरू नजिकैको सुपरमार्केटभित्र पसेर त्यहाँ रहेका मानिसहरूलाई बन्धक बनाएका थिए।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले अभियान सञ्चालन गरेपछि कार्टाजेनास्थित राफेल नुनेज विमानस्थलमा ४५ मिनेटसम्म उडान तथा अवतरण रोकिएको थियो।
२० लाख डलर र दुईवटा बख्तरबन्द गाडी माग
अपराधीहरूले बन्धकहरूको रिहाइका लागि २० लाख अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ), दुईवटा बख्तरबन्द गाडी र कार्टाजेनाबाट करिब १३० किलोमिटर टाढा रहेको ब्यारानक्विला शहरसम्म सुरक्षित बाटो उपलब्ध गराउन माग गरेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा हतियार बोकेका र मुख छोपेका व्यक्तिहरू सुपरमार्केटभित्र प्रवेश गरेको देखिन्छ।
केही तस्बिरमा बन्धक बनाइएका मानिसहरू कुर्सीमा बसिरहेका, उनीहरूका हात बाँधिएका र पछाडि हतियारधारी व्यक्तिहरू पहरा दिइरहेका देखिन्छन्।
कोलम्बियाका राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले सुरुमा अपराधीहरूले ३० जनालाई बन्धक बनाएको बताएका थिए। तीमध्ये पाँच वृद्ध महिलासहित १० जनालाई रिहा गरिएको जानकारी दिइएको थियो।
बाँकी बन्धकहरूको उद्धारका लागि प्रहरी, सेना र विशेष सुरक्षा टोली परिचालन गरिएको थियो।
रोयटर्सका अनुसार प्रहरीले सुपरमार्केटसहित वरपरको क्षेत्रलाई घेरा हालेको थियो। नजिकैका भवनका छानामा समेत हतियारधारी सैनिकहरू तैनाथ गरिएको थियो।
सुपरमार्केट सञ्चालन गर्ने कम्पनी ग्रुपो एक्जिटोले घटनाबारे विज्ञप्ति जारी गर्दै सर्वसाधारणको जीवन र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ।
साथै, घटनालाई सम्बन्धित सरकारी निकायहरूले सम्हालिरहेको कम्पनीले स्पष्ट पारेको छ।घटनामा बन्धक बनाइएका व्यक्तिहरूको उद्धार र अपराधीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ।
प्रकाशित: ९ मंसिर २०८३ ०९:४७ बुधबार