प्रदेश प्रमुख पर्शुराम खापुङ २३ कात्तिकमा ५ वर्षे कार्यकाल पूरा गरेर पदबाट बिदा भएका हुन् । उनको कार्यकाल सकिएपछि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छैन ।
विराटनगर — पर्शुराम खापुङको ५ वर्षे कार्यकाल सकिएको २ साताभन्दा बढी समय बितिसक्दा पनि कोशी प्रदेशले नयाँ प्रदेश प्रमुख पाएको छैन । प्रदेश प्रमुख नियुक्तिका लागि राजनीतिक तहमा छलफल भइरहे पनि नियुक्तिको प्रक्रिया कहिले टुंगिन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
खापुङ २३ कात्तिकमा ५ वर्षे कार्यकाल पूरा गरेर पदबाट बिदा भएका हुन् । उनको कार्यकाल सकिएपछि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छैन । पद रिक्त हुँदा अर्को प्रदेशका प्रदेश प्रमुखलाई समेत कोशीको कामकाज गर्ने जिम्मेवारी दिने संवैधानिक व्यवस्था भए पनि त्यसबारे राष्ट्रपतिबाट निर्णय भएको छैन ।
प्रदेश प्रमुखको कार्यालय कोशीकी शाखा अधिकृत सम्पूर्ण थापाका अनुसार खापुङको कार्यकाल २३ कात्तिकसम्म थियो । त्यसपछि पद रिक्त भएको हो । यसअघि प्रदेश प्रमुख अनुपस्थित हुँदा अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिने अभ्यास भए पनि यसपटक त्यस्तो निर्णय भएको जानकारी कार्यालयले पाएको छैन ।प्रदेश प्रमुख नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि खापुङ विदेश भ्रमणमा जाँदा उनको अनुपस्थितिमा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिइएको थियो । साउन २०८२ मा खापुङ मलेसिया भ्रमणमा जाँदा तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशीको कार्यभार दिइएको थियो । यसपटक भने कार्यकाल नै समाप्त भएपछि पद रिक्त छ ।
प्रदेश प्रमुखको पद रिक्त हुँदा संवैधानिक प्रक्रियामा औपचारिक नेतृत्वको अभाव हुन सक्छ । प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य, विधेयक प्रमाणीकरण र मुख्यमन्त्री नियुक्तिसहितका संवैधानिक प्रक्रियामा प्रदेश प्रमुखको भूमिका रहन्छ ।
संविधानको धारा १६३ को उपधारा (३) ले प्रदेश प्रमुखको पदावधि ५ वर्ष तोकेको छ । धारा १६५ को उपधारा (१) को खण्ड (ख) अनुसार पदावधि समाप्त भएपछि पद रिक्त हुन्छ । त्यस्तै, धारा १६५ को उपधारा (२) ले कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएमा नयाँ नियुक्ति नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था गरेको छ ।
प्रदेश प्रमुख नियुक्तिको विषय राजनीतिक छलफलमा समेत प्रवेश गरेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले प्रदेश प्रमुखका लागि ३ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
प्रदेश प्रमुख नियुक्तिमा आदिवासी समुदायको प्रतिनिधित्वलाई आलंकारिक रूपमा सम्बोधन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको रास्वपा स्रोतले जनाएको छ ।
नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको विषयमा पार्टीका नेताहरूले चाडपर्व, पार्टीका महामन्त्रीसहितको टोलीको चीन भ्रमण तथा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत कारणले निर्णयमा ढिलाइ भएको बताएका छन् ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले विद्यमान संविधान, ऐन र कानुनसँग नबाझिने गरी केही समय लिइएको बताउँदै प्रदेश प्रमुख नियुक्तिका लागि समन्वय र परामर्श जारी रहेको जनाए । ‘यसलाई संवैधानिक तथा कानुनी प्रावधानअनुसार सरकारले प्राथमिकतामा राखेको छ,’ सचेतक परियारले भने ।
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएपछि प्रदेश प्रमुख नियुक्तिको विषय टुंग्याउन रास्वपा प्रदेश समितिले केन्द्रलाई आग्रह गरेको छ । तर, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट निर्णय हुनुपर्ने भएकाले नियुक्तिको मिति भने निश्चित भइनसकेको रास्वपाका एक जिम्मेवार नेताले जनाए ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।