Trending
Prev Story
Next Story

व्यावसायिक कृषिमा जमेका अवकाशप्राप्त ‘हेड सर’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, बुटवल । तीन दशक शिक्षण पेसामा बिताएका तिलोत्तमा–५, पुरानो सडक निवासी कुलप्रसाद लामिछाने सेवा निवृत्त भएपछि व्यावसायिक कृषि कर्ममा रमाउन थालेका छन् । रुपन्देही मणिग्रामस्थित शान्ति नमुना माविको प्रधानाध्यापकबाट गत वर्ष सेवा निवृत्त भएका …

व्यावसायिक कृषिमा जमेका अवकाशप्राप्त ‘हेड सर’

७ मंसिर, बुटवल । तीन दशक शिक्षण पेसामा बिताएका तिलोत्तमा–५, पुरानो सडक निवासी कुलप्रसाद लामिछाने सेवा निवृत्त भएपछि व्यावसायिक कृषि कर्ममा रमाउन थालेका छन् ।

रुपन्देही मणिग्रामस्थित शान्ति नमुना माविको प्रधानाध्यापकबाट गत वर्ष सेवा निवृत्त भएका लामिछानेले घर परिसरकै खेतमा ड्रागन फ्रुट खेती, मौरी पालन, गाई पालन र अन्य खेतीपाती सुरु गरेका छन् ।

आधा दर्जन बढी सामाजिक संघसंस्थामा आवद्ध लामिछानेको स्थानीय राजनीतिमा पनि राम्रै पहिचान छ ।

तर, उनले राजनीतिभन्दा कृषिकर्मलाई प्राथमिकता दिए । त्यसो त, चार दशक अघिदेखि उनको कृषि कर्ममा लगाव थियो । उनी २०५४ सालदेखि नै मौरीपालन, गाईपालन, खेती–किसानी तथा गड्यौला मल उत्पादनमा सक्रिय थिए ।

जसका कारण सेवा निवृत्तपछिको जीवन कृषिकर्ममै लगाएर समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ भनेर ड्रागन फ्रुट खेतीमा लागेको लामिछानेले बताए ।

उनले सेवा निवृत्त हुने समय आउनै लाग्दा धान खेती हुने डेढ कठ्ठा क्षेत्रफल जमिनमा व्यावसायिक ड्रागन फ्रुट खेतीको तयारी थालेका थिए । अहिले उक्त खेतीबाट राम्रो आम्दानी लिन थालिसकेको उनले बताए ।

झट्ट हेर्दा सामान्य बगैँचा जस्तो देखिने यो ड्रागन फ्रुट खेतीभित्र लामिछानेको वर्षौंदेखिको कृषि अनुभव, मिहिनेत र नयाँ प्रयोगप्रतिको लगाव जोडिएको छ । उनले आफूले सिकेका कृषि सिप विद्यालयका विद्यार्थीलाई समेत सिकाउँदै आएका थिए ।

अवकाशपछिको कृषिकर्म आम्दानीको माध्यम मात्र नभई उमेर र स्वास्थ्यले साथ दिँदासम्म हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता सहितको जीवनशैली पनि भएको उनले बताए ।

सामान्यतया नयाँ खेती सुरु गर्दा लगानी डुब्ने हो कि भन्ने चिन्ता हुन्छ । तर लामिछानेले शिक्षण पेसामा रहँदै अध्ययन गरेर योजनाबद्ध रूपमा सुरु गरेकाले यो खेतीले छोटो समयमै सकारात्मक परिणाम दिन थालेको छ । उनका अनुसार करिब डेढ वर्षअघि डेढ कठ्ठा क्षेत्रफलमा सुरु गरिएको खेतीबाट अहिलेसम्म करिब डेढ लाख रुपैयाँ आम्दानी भइसकेको छ । तेस्रो वर्षसम्म पुग्दा एक कठ््ठाबाट तीन लाखसम्म आम्दानी लिन सकिने उनले बताए ।

ड्रागन फ्रुट खेतीमा लामिछानेको अर्को विशेषता हो, प्रजातिगत विविधता । उनले नेपालमा पाइने करिब १५० प्रजातिमध्ये २२ प्रजातिका बिरुवा उनले आफ्नो बगैँचामा लगाएका छन् ।

विभिन्न प्रजातिको उत्पादन, स्वाद र गुणस्तरबारे अध्ययन तथा परीक्षण गर्दै उनले खेतीलाई सिकाइ र प्रयोगको केन्द्रसमेत बनाउने लक्ष्य राखेका छन् । लामिछानेको एक वर्षको अनुभवमा ड्रागन फ्रुट बिक्रीका लागि बजारको कुनै समस्या छैन ।

‘उचित व्यवस्थापन र हेरचाह गर्न सके वर्षमा १५ देखि १७ पटकसम्म उत्पादन लिन सकिन्छ । भएजतिको उत्पादन घरबाटै बिक्री हुन्छ । बरु मागअनुसार पुर्‍याउन सकेको छैन,’ उनले भने, ‘वर्षमा १७ पटकसम्म उत्पादन लिन सकिने गुणात्मक उत्पादन क्षमता र राम्रो मूल्यले आम्दानीका दृष्टिले पनि आकर्षक छ ।’

पोषणयुक्त फलका रूपमा परिचित ड्रागन फ्रुटलाई पछिल्लो समय ‘सुपर फ्रुट’ का रूपमा समेत लिने गरिएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए ।

परम्परागत कृषि प्रणालीमा बढ्दो लागत, श्रम र उत्पादनको उचित मूल्य नपाउने समस्याले किसानलाई निरुत्साहित बनाइरहेको बेला थोरै जग्गा हुनेहरूका लागि ड्रागन फ्रुट खेती राम्रो विकल्प हुने लामिछानेको सुझाव छ ।

‘खाद्यान्नलगायत अन्य बाली खेती गरे पनि लगानी उठाउन कठिन हुने अवस्था छ । तर यसबाट कम क्षेत्रफलबाटै राम्रो आम्दानी लिन सकिने र एक पटक संरचना तयार गरेपछि ३० वर्षसम्म उत्पादन लिन सकिन्छ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा ड्रागन फ्रुट खेती नेपालमा वैकल्पिक व्यावसायिक कृषिका रूपमा स्थापित हुँदै गएको छ ।’

लामिछानेका अनुसार उचित व्यवस्थापन गर्न सके यो खेतीबाट करिब ३० वर्षसम्म उत्पादन लिन सकिन्छ । ड्रागन फ्रुट खेतीका लागि ठूलो खेतबारी नै चाहिन्छ भन्ने छैन । सीमित जमिन भएका किसान, शहरमा बसोबास गर्ने परिवार तथा घरको छत उपलब्ध भएका व्यक्तिले समेत उपयुक्त संरचना र प्राविधिक व्यवस्थापन गरेर खेती गर्न सक्छन् । ‘थोरै जमिन र सही सोच भए घरकै छतबाट पनि आम्दानी लिन सकिन्छ,’ उनले भने ।

ड्रागन फ्रुट खेतीमा रोग लाग्ने चुनौती पनि हुने तर तत्काल रोगको उपचार गरे समाधान हुने उनले बताए । ड्रागन फ्रुटबाट वाइन, चिप्स, आइसक्रिम र सौन्दर्य सामग्रीसमेत बन्ने भएकाले यसको बजार विस्तारको प्रचुर सम्भावना रहेको उनले बताए ।

ड्रागन फ्रुट खेतीलाई पूर्ण अर्गानिक बनाउन लामिछानेले घर परिसरमै जैविक मल र गड्यौंला मल पनि उत्पादन गरिरहेका छन् । यसको प्रयोगले ड्रागन फ्रुट, तरकारी, फलफूल प्रांगारिक ढंगले उत्पादन गरेका छन् । उनले मल बिक्रीबाटसमेत आम्दानी गरेका छन् ।

लामिछानेले घर परिसरमै १८ घार मौरी पालन पनि गरेका छन् । यसबाट वार्षिक डेढ–दुई लाख बढी आम्दानी लिने गरेको उनले बताए ।

तीन दशकसम्म कक्षा कोठामा विद्यार्थीलाई ज्ञान बाँडेका कुलप्रसाद लामिछानेले बाँकी जीवन कृषिकर्म, सामाजिक काम र समाजले आवश्यक ठानेमा स्थानीय तहको नेतृत्व लिनेसम्म लक्ष्य रहेको खुलाए ।

‘कृषि कर्मबाट त म अलग हुनै सक्दिनँ । यो मेरो जीवनको अभिन्न पाटो हो,’ उनले भने, ‘विभिन्न संघसंस्थामा आवद्ध भएकाले सामाजिक काम पनि गरिन्छ नै । आफ्नो ठाउँ र समाजले आवश्यक ठानेमा राजनीतिमार्फत पनि नागरिकको सेवामा सक्रिय हुन सक्छु ।’

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

नवप्रवर्तन र नयाँ प्रविधि भित्र्याउने युवालाई व्यावसायिक घरानाले अवसर दिनुपर्ने भन्दै दुगडले सरकारी प्रक्रियामा हुने ढिलाइले सिर्जनशील युवा निरुत्साहित भएर बिदेसिनुपरेको बताए ।

#व्यावसायिक
Compare →
Bizshala
3d ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#कृषि #कृषिमा
Compare →
Hamro Patro News
1w ago
दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा

• दैलेखको पेट्रोलियम अन्वेषण परियोजनाले पहिलो चरणको काम पूरा गरेर व्यावसायिक उत्खननको प्रतीक्षा गर्दैछ, जहाँ प्राकृतिक ग्यासको ठूलो भण्डारको पुष्टि भएको छ। • चीन सरकारको सहयोगमा सञ्चालन भएको यो परि…

#व्यावसायिक
Compare →

Related Stories

Business & Economy
Build #2612