काठमाडौं । नेपाली फिल्म ‘आशा’को फर्स्टलुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको पारिवारिक कथासँगै केही रहस्य र कौतुहलता पनि प्रस्तुत गरेको छ।
उडान स्टुडियोको प्रस्तुति रहेको उक्त फिल्मको पोस्टरम मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् ।
एउटा घरको परिवेशमा तयार पारिएको पोस्टरमा अभिनेता शुशांक मैनालीको तस्वीरमा माला लगाइएको देखिन्छ। यही दृश्यले फिल्मको कथालाई लिएर दर्शकमाझ विभिन्न प्रश्न उब्जाएको छ।
पोस्टरमा आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी किरिया बसेको अवस्थामा छन् ।
अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चिहाएर हेरिरहेको देखिन्छिन् ।
रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथासारलाई संकेत गरे पनि यसको वास्तविक कथा भने खुलाएको छैन । यही कारण पोस्टरले फिल्मप्रति कौतुहलता थपेको छ।
फिल्मकी निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तुलाई ध्यानमा राखेर पोस्टर तयार गरिएको बताइन्।
‘फिल्म पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ। यो एउटा परिवारले हेर्ने र मनन गर्नुपर्ने फिल्म बनेको छ। हामीले विषयप्रधानसँगै यसलाई फिल्मकै शैलीमा तयार गरेका छौँ, जसले हलसम्म पुग्ने दर्शकको समय र पैसा वसुल हुन्छ,’ उनले भनिन् ।
निर्मात्री थापाका अनुसार फिल्म आगामी फागुन १४ गते प्रदर्शनमा आउनेछ । वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त मितिमा फिल्म प्रदर्शन गर्ने तय भएको हो ।
निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतको अभिनय छ। फिल्ममा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीको पनि अभिनय रहेको छ।
फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपास गरिएको हो। फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
फिल्ममा स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य तथा मेकअप एण्ड हेयर सोनाली शिल्पकार छन् ।
यस्तै, मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी, प्रोडक्सन डिजाइनरमा रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनरमा रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) तथा वितरकमा करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।
फिल्मको पोस्टरले नै परिवार, मृत्यु र त्यसपछि उत्पन्न हुने घटनातर्फ संकेत गरेपछि अब ‘आशा’को कथा कस्तो होला भन्ने कौतुहलता दर्शकमाझ बढेको छ ।