गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए
सोल — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्ता प्रस्ताव अस्वीकार गरेको केही दिनमै उत्तर कोरियाली नेता किम जोङ उनले सार्वभौमसत्ताको रक्षा गर्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
रुसलगायत विभिन्न देशका नवनियुक्त राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझ्ने समारोहमा सोमबार किमले यस्तो धारणा राखेका हुन् ।
सामान्यतया वरिष्ठ अधिकारीले गर्ने उक्त कार्यमा किम स्वयं सहभागी हुनुलाई कूटनीतिक प्रोटोकलमा दुर्लभ परिवर्तन मानिएको छ ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार राष्ट्रिय सुरक्षाको सिद्धान्तमा रही स्वतन्त्रता, शान्ति र मित्रताको आदर्शमा सम्बन्ध विकास गर्नु प्योङयाङको लक्ष्य रहेको किमले बताए ।
गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए ।
समारोहमा किमले विश्वभर सुरक्षा संकट तथा राजनीतिक र आर्थिक अराजकता देखिएको टिप्पणी गरे । वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका कारण राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाप्रतिको बुझाइमा ठूलो परिवर्तन आएको उनले उल्लेख गरे ।
क्योङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल-चुलका अनुसार ट्रम्पको प्रस्तावलाई बेवास्ता गर्दै राजदूतहरूको स्वागत गर्नुले उत्तर कोरिया ‘बहुध्रुवीय सार्वभौमसत्तामा आधारित कूटनीति’ तर्फ अघि बढेको संकेत गर्छ ।
यसअघि ट्रम्पको पहिलो कार्यकालमा भएका शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न ठोस सहमति जुटाउन सकेको थिएन ।
संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले रुससँगको सम्बन्ध थप मजबुत बनाउँदै युक्रेन युद्धमा सैन्य सहयोगसमेत पठाएको छ ।