अस्पताल उनको संसार बनेको थियो । औषधि र उपचार उनको दिनचर्या थियो । एक वर्षसम्म शफकत अमानत अली बेडमै थलिए ।
जुन आवाजले शाहरुख खानको ‘मितवा’मा प्रेमको धुन भरेको थियो, त्यही आवाज केही समयका लागि संगीतबाटै टाढा भयो । शरीरमा रक्त क्यान्सरविरुद्धको लडाइँ चलिरहेको थियो ।
पाकिस्तानी गायक शफकत अमानत अलीलाई ‘मल्टिपल मायलोमा’ भएको थियो । यो एक प्रकारको रक्त क्यान्सर हो। रोग पत्ता लागेपछि उनको उपचार सुरु भयो । करिब एक वर्षसम्म उनले बेडरेस्ट गर्नुपर्यो । केमोथेरापी चलिरह्यो । कन्सर्ट, स्टेज कार्यक्रम सबै रोकिए ।
हालै उनले आफ्नो स्वास्थ्य अवस्थाबारे खुलेर कुरा गरेका छन्। उनले बितेको एक वर्षलाई आफ्नो जीवनकै कठिन समयका रूपमा सम्झिएका छन्।
शफकतका अनुसार उनलाई समयमै रोगका लक्षणबारे जानकारी भयो । त्यसपछि उपचार सुरु गरियो ।
‘मलाई मल्टिपल मायलोमा थियो। यो निकै गम्भीर अवस्था थियो। सौभाग्यवश, मैले समयमै यसको लक्षण थाहा पाएँ,’ उनले भने ।
उनका अनुसार उपचारकै क्रममा करिब एक वर्ष बेडरेस्टमा बस्नुपर्यो । केमोथेरापी चलिरहँदा नियमित रूपमा स्टेजमा उभिएर प्रस्तुति दिन सम्भव थिएन।
उनको स्वास्थ्य अवस्थाबारे सुरुमा सबैलाई जानकारी पनि दिइएको थिएन । उनले केही साथीहरूसँग समेत यो कुरा लुकाएका थिए।
त्यतिबेला उनको ध्यान आफूलाई लागेको रोगको सही उपचार खोज्नमै केन्द्रित थियो।
रोगको खबरले भने परिवार र नजिकका मानिसलाई नराम्ररी झस्कायो । आफू मात्र होइन, परिवार, साथीभाइ र फ्यानसमेत निराश भएको उनले बताएका छन्।
उपचार सकिएपछि फेरि समाते माइक्रोफोन
लामो उपचारपछि शफकतको जीवनमा फेरि संगीत फर्कियो ।
केमोथेरापी सकिएपछि उनले लाहौरमा प्रस्तुति दिए । लामो समय स्टेजबाट टाढिएपछि पहिलोपटक दर्शकमाझ उभिनु उनका लागि सहज थिएन ।
‘केमोथेरापी सकिएपछि मैले लाहौरमा एउटा शो गरेँ। यो कठिन थियो, तर हामीले पूरा गर्यौं,’ उनले भने ।
त्यसपछि भने उनी लगातार प्रस्तुति दिइरहेका छन् ।
एक वर्षसम्म अस्पताल र बेडरेस्टमा सीमित भएको जीवन फेरि स्टेजको उज्यालोमा फर्किएको छ । दर्शकका अगाडि उभिएर गीत गाउने उनको पुरानो दिनचर्या बिस्तारै फर्किएको छ।
शफकत अमानत अलीको परिचय पाकिस्तानको संगीतमा मात्र सीमित छैन । उनको आवाज भारतीय संगीतप्रेमीका लागि पनि अपरिचित छैन ।
पटियाला घरानासँग जोडिएको उनको संगीत पृष्ठभूमि छ। शास्त्रीय संगीतको यही आधारले उनको गायनमा छुट्टै पहिचान बनाएको छ ।
उनले ‘खमाज’को प्रस्तुतिबाट पनि निकै चर्चा पाए । त्यसपछि उनको आवाज बलिउडसम्म पुग्यो।
सन् २००६ मा शाहरुख खान र रानी मुखर्जी अभिनीत फिल्म ‘कभी अलविदा ना कहना’को ‘मितवा’ले उनलाई भारतीय दर्शकमाझ व्यापक रूपमा चिनायो ।
‘मितवा’ एउटा गीत मात्र रहेन। शफकतको आवाजसँग जोडिएको एउटा अलग पहिचान बन्यो ।
त्यसपछि उनले ‘तेरे नैना’, ‘बिन तेरे’, ‘दिलदारा’ र ‘तेरी झुकी नजर’ लगायतका गीतमा पनि आवाज दिए ।
उनको आवाजमा रहेको गहिराइ र भावनात्मक उतारचढावले उनलाई बलिउडका चर्चित पाकिस्तानी गायकमध्ये एक बनायो।
क्यान्सरको उपचारका क्रममा शफकत केही समय संगीतबाट टाढा रहे । तर त्यो दूरी स्थायी थिएन।
एक वर्षसम्म शरीरले साथ नदिँदा स्टेजमा उभिन नसके पनि संगीतप्रतिको उनको लगाव भने कायम रह्यो । क्यान्सरको कठिन यात्राबाट गुज्रिएपछि फेरि स्टेजमा फर्किनु उनका लागि केवल करिअरमा फर्किनु थिएन।
लामो उपचार, बेडरेस्ट र मानसिक दबाब पार गरेर आफ्नो पुरानो संसारमा फर्किएको क्षण थियो। शफकत अहिले फेरि प्रस्तुति दिइरहेका छन् ।