Trending
Prev Story
Next Story

विचार | सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार

Ekantipur •
November 23, 2026 • 02:02 AM
3
3 reads 0 reactions

सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन ।

विचार | सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार

सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन ।

कल्पना गर्नुहोस्, तपाईं पहाडी सडक हुँदै घर फर्किरहनुभएको छ । परिचित घुम्तीमा चालकले मोडको सही अनुमान गर्न सकेन, केही क्षणका लागि गाडीको नियन्त्रण गुमायो वा सडकको बिग्रिएको भाग समयमै देख्न सकेन । गल्ती केही सेकेन्डको मात्र हुन सक्छ । तर सडकमा सुरक्षा बार छैन, चेतावनी दिने संकेत छैन र गाडीलाई नियन्त्रणमा ल्याउन सुरक्षित खाली ठाउँ पनि छैन भने त्यही केही सेकेन्डले एउटा परिवारको जीवन सधैंका लागि बदल्न सक्छ ।

सडक प्रयोग गर्दा चालकले जिम्मेवार व्यवहार गर्नुपर्छ । तर हरेक क्षण हरेक चालकले सही निर्णय गरेमा मात्र उसको ज्यान जोगिने व्यवस्था उचित हो ? सुरक्षित सडक प्रणालीले एउटा सामान्य वास्तविकता स्वीकार गर्नुपर्छ– मानिसबाट गल्ती हुन्छ । सडकको डिजाइन नै यस्तो हुनुपर्छ कि सामान्य मानवीय गल्तीले मृत्यु वा गम्भीर चोटपटक निम्त्याउन नपरोस् ।

सडक सुरक्षा चालकको व्यवहारमा मात्र सीमित छैन

नेपालमा सडक सुरक्षासम्बन्धी बहस मुख्यत: तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने व्यवहार र ट्राफिक नियम उल्लंघनमा केन्द्रित छ । यी निश्चय नै गम्भीर समस्या हुन् । तर सडकको अवस्था, निर्माणको गुणस्तर, सुरक्षा पूर्वाधारको अभाव र सडकको मर्मतसम्भार गर्ने निकायको जिम्मेवारीबारे चर्चा नगरेसम्म यो बहस अधुरै रहन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ मा नेपालमा सडक दुर्घटनाका कारण करिब आठ हजार ४७९ जनाको मृत्यु भएको अनुमान गरेको थियो । सोही वर्ष आधिकारिक रूपमा अभिलेख गरिएका मृत्युको संख्या भने २ हजार ८८३ थियो । डब्लूएचओको संख्या प्रहरीमा दर्ता भएको प्रत्यक्ष गणना नभई सांख्यिकीय अनुमान हो । त्यसैले यी दुई तथ्यांक फरक विधिमा आधारित छन् । तथापि, ठूलो अन्तरले नेपालको सडक दुर्घटनासम्बन्धी तथ्यांक कति पूर्ण र विश्वसनीय छ भन्ने प्रश्न उठ्छ ।

नेपाल मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित र नेपाल प्रहरीको तथ्यांकमा आधारित एक अध्ययनअनुसार आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका सडक दुर्घटना २० हजार ६४० थिए । आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६९२ पुगेको थियो । अध्ययनले पछिल्लो आर्थिक वर्षमा सवारीसाधनबीच भएका ठक्करमध्ये आधाभन्दा बढी घटनामा मोटरसाइकल संलग्न रहेको पनि देखाएको छ । यी तथ्यांकले प्रत्येक दुर्घटना किन भयो भन्ने जवाफ दिँदैनन् । तर समस्यालाई समग्र र व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकता भने स्पष्ट गर्छन् ।

नेपालको सडक अवस्थाबारे प्राय: भूगोललाई कारण देखाइन्छ । ठाडा पहाड, कमजोर भिरालो जमिन, साँघुरा सडक र प्रतिकूल मौसमले सडक निर्माण कठिन बनाउँछन् भन्नेमा कुनै शंका छैन । तर भूगोललाई रोक्न सकिने मृत्युको बहाना होइन, इन्जिनियरिङ चुनौतीका रूपमा लिनुपर्छ । सवारीसाधनको मापदण्ड, नियम कार्यान्वयन, आकस्मिक उपचारलगायतका अन्य पक्षले पनि देशको सडक मृत्युदरमा प्रभाव पार्छन् ।

यस सन्दर्भमा स्विडेनको ‘भिजन जिरो’ अवधारणा उपयोगी उदाहरण हो । यसको मूल मान्यता मानिसबाट गल्ती हुन सक्छ भन्ने हो । त्यसैले यातायात प्रणाली नै यस्तो बनाउनुपर्छ, जसले मानवीय गल्तीका कारण मृत्यु वा गम्भीर चोटपटक हुन नदेओस् । यसले सडक सुरक्षाको जिम्मेवारी चालकमा मात्र सीमित नराखी सडकको योजना बनाउने, निर्माण गर्ने, नियमन गर्ने र मर्मतसम्भार गर्ने व्यक्ति तथा संस्थासम्म विस्तार गर्छ ।

स्विडेनले केही सडकमा ‘२+१’ डिजाइन लागू गरेको छ । यसमा ओभरटेक गर्न मिल्ने लेन पालैपालो उपलब्ध गराइन्छ र विपरीत दिशाबाट आउने सवारीसाधनबीच ठक्कर हुन नदिन बीचमा सुरक्षात्मक अवरोध राखिन्छ । यसले सडकको डिजाइन परिवर्तन गर्दा मानवीय गल्तीका परिणाम कम गर्न सकिन्छ भन्ने देखाउँछ । नेपालले स्विडेनको पूर्वाधार जस्ताको तस्तै नक्कल गर्नुपर्दैन । आफ्नै भूगोल र सडकको अवस्थाअनुसारको उपाय लागू गर्नुपर्छ ।

नेपालले पनि लक्षित सुरक्षा सुधार प्रभावकारी हुन सक्छन् भन्ने प्रमाण दिइसकेको छ । विश्व बैंकको सहयोगमा सञ्चालित सडक सुरक्षा कार्यक्रममा सन् २०१५ देखि २०१७ बीच पहाडी क्षेत्रका छानिएका सडकमा करिब ७३ किलोमिटर सुरक्षात्मक बार जडान गरिएको थियो । त्यसपछिको मूल्यांकनले ती बारका कारण करिब २७० जनाको मृत्यु वा गम्भीर चोटपटक हुनबाट जोगिएको अनुमान गरेको थियो ।

नेपालसँग नीतिगत प्रतिबद्धता नभएको होइन । सडक सुरक्षा कार्ययोजना २०२१–२०३० ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक ५० प्रतिशतले घटाउने तथा सन् २०५० सम्म ‘भिजन जिरो’ हासिल गर्ने लक्ष्य राखेको छ । यसले सुरक्षित सडक डिजाइन, विद्यमान सडकको सुधार, दुर्घटनासम्बन्धी तथ्यांकको गुणस्तर र कानुनी संरचना सुदृढ गर्नुपर्ने विषय समेटेको छ । तर संयुक्त राष्ट्रसंघीय सडक सुरक्षा कोषले राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रभावकारी नेतृत्वदायी निकायका रूपमा काम गर्न नसक्ने संस्थागत क्षमतालाई कार्यान्वयनको प्रमुख अवरोधका रूपमा औंल्याएको छ ।

कानुनी क्षेत्रमा केही प्रक्रिया अघि बढेको देखिन्छ । संघीय संसद्को वेबसाइटमा राष्ट्रिय सडक सुरक्षा विधेयक, २०८३ दर्ता भई सदस्यहरूलाई वितरण गरिएको उल्लेख छ । तर संसदीय अभिलेखमा त्यसपछिका चरण पूरा भएको देखिँदैन । अर्कोतर्फ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ लाई अझै मस्यौदाका रूपमा राखेको छ । यी विषय महत्त्वपूर्ण छन्, किनकि सडक सुरक्षाका लागि नीतिगत घोषणामात्र पर्याप्त हुँदैन । स्पष्ट कानुनी संरचना, संस्थागत जिम्मेवारीको बाँडफाँट र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ ।

सरकार अब सामान्य प्रतिबद्धताबाट मापन गर्न सकिने कामतर्फ अघि बढ्नुपर्छ । पहिलो, उच्च जोखिम भएका सडक खण्डको अद्यावधिक सूची सार्वजनिक गर्नुपर्छ र कुन स्थानमा सुरक्षा सुधार गरिएको छ भन्ने विवरण पनि खुलाउनुपर्छ । दोस्रो, विशेषगरी पहाडी राजमार्गमा वास्तविक जोखिमका आधारमा सुरक्षा बार, चेतावनी संकेत, सडक चिह्न, पानी निकास र भीर संरक्षणलाई प्राथमिकता दिनुपर्छ । तेस्रो, निर्माणअघि नै सडक सुरक्षा परीक्षणलाई डिजाइन प्रक्रियाको अनिवार्य हिस्सा बनाउनुपर्छ । चौथो, प्रहरी, अस्पताल र सम्बन्धित निकायका दुर्घटना अभिलेखलाई एकीकृत तथा समन्वित गर्नुपर्छ, ताकि नीति विश्वसनीय तथ्यांकमा आधारित होस् । अन्त्यमा, राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कार्यान्वयन समन्वय गर्न र वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्न आवश्यक अधिकार, स्रोत र संस्थागत क्षमता दिनुपर्छ ।

यी उपायले चालकको जिम्मेवारी हटाउँदैनन् । गति सीमाको पालना हुनुपर्छ, सवारीसाधन सडकमा चलाउनयोग्य अवस्थामा हुनुपर्छ, जोखिमपूर्ण ओभरटेकिङ निरुत्साहित गरिनुपर्छ र ट्राफिक नियम निरन्तर तथा समान रूपमा लागू हुनुपर्छ । तर सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन ।

निशा जैसवाल भारतको पुणेस्थित सिम्बायोसिस ल स्कूलमा बीए एलएलबी अध्ययनरत छिन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रि...

#प्रयोग #केही
Compare →

Related Stories

Opinion & Editorial
Build #2612