इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको छ। शनिबार सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आर्सनलसँग अंक बाँडेको हो।
खेलको पहिलो हाफमा आर्सनलले दबाब कायम राखेको थियो। एबेरेची एजेले ३३ औं मिनेटमा गोल गरेपछि पाहुना टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गरेको न्युक्यासलले खेलमा फर्कने संकेत देखायो। हार्भे बार्न्सले ४९औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो उनको करियरको १ सयौं गोल थियो।
त्यसपछि ६२ औं मिनेटमा मालिक थियावले गोल गर्दै न्युक्यासललाई २–१ ले अघि बढाए। तर, ७८औं मिनेटमा नोनी मडुएकेले गोल गरेपछि आर्सनलले खेलमा पुनरागमन गर्दै हार टार्यो। यसअघि मडुएकेको प्रहार पोस्टमा लागेको थियो। आर्सनलका गोलरक्षक डेभिड रायाले चोटका कारण थप समस्या सामना गर्नुपरे पनि टोलीले अन्तिम समयमा बराबरी गोल फर्काउँदै एक अंक जोड्न सफल भयो।
अर्को खेलमा म्यानचेस्टर सिटी फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको छ। फुलहमका रोड्रिगो मुनिजले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। इलियट एन्डरसनले ५७औं मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए। चेल्सी आफ्नै मैदानमा लिड्स युनाइटेडसँग ४–१ गोलले पराजित भएको छ। लिड्सका नोआ ओकाफोरले दुई गोल गरे। डोमिनिक काल्भर्ट लेविन र ब्रेन्डन आरोन्सनले समान एक गोल थपे। चेल्सीका इमानुएल एमेघाले एक गोल फर्काए।
टोटेनहम हटस्परले इप्सविच टाउनलाई २–० ले हरायो। लुका विलियम्स बार्नेट र डोमिनिक सोलान्केले गोल गरे। बोर्नमाउथले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्यो। इभानिल्सन र जस्टिन क्लुइभर्टले गोल गरे। यस्तै, कोभेन्ट्री सिटीले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो। एस्टन भिल्ला र सन्डरल्यान्डले भने गोलरहित बराबरी खेले। शनिबारका सात खेलपछि आर्सनल शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी फुलहमसँग बराबरीमा रोकिँदा शीर्ष स्थानसँगको दूरी घटाउने अवसर गुमाएको छ।