काठमाण्डौ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्र (खुम्बु)बाट फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। शरद् पर्यटन सिजन अन्तिम चरणमा पुग्दा खुम्बु प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको हो।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो साप्ताहिक तथ्याङ्कअनुसार सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बुबाट बाहिरिएका छन् भने ५२९ जना भित्रिएका छन्। यस अवधिमा बाहिरिने पर्यटकको सङ्ख्या भित्रिनेभन्दा ६५१ ले बढी छ।
प्रहरीका सूचना अधिकारी निरीक्षक मौसम तामाङका अनुसार बाहिरिनेमा ८७७ विदेशी र ३०३ स्वदेशी पर्यटक छन्। त्यस्तै, खुम्बु प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ स्वदेशी पर्यटक रहेका छन्।
नाम्चेलगायत उच्च हिमाली क्षेत्रमा राति तापक्रम शून्य डिग्रीभन्दा तल झर्न थालेपछि पर्यटक फर्किने क्रम बढेको स्थानीय व्यवसायीहरू बताउँछन्। चिसोका कारण पानी जम्न थालेको र उच्च क्षेत्रमा पदयात्रा कठिन बन्दै गएको उनीहरूको भनाइ छ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार तापक्रम घट्नु, हिमपातको सम्भावना बढ्नु तथा मौसममा आउने परिवर्तनले पर्यटकको बसाइ अवधि र पदयात्रा गतिविधिमा असर पार्न थालेको छ।
पर्यटकको चाप घटेसँगै खुम्बुका होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा समेत गतिविधि सुस्ताउन थालेको छ।
प्रहरीका अनुसार पछिल्लो सात दिनमा खुम्बु क्षेत्रमा ६९ वटा विमान र २८ वटा हेलिकप्टर उडान भएका छन्।
सगरमाथा क्षेत्रमा विशेषगरी असोज र कात्तिकमा पर्यटकको चाप उच्च रहने गर्छ। तर, मङ्सिर लागेसँगै चिसो बढ्न थालेपछि शरद् पर्यटन सिजन क्रमशः सकिँदै गएको छ। यसले आगामी दिनमा खुम्बु क्षेत्रको पर्यटन गतिविधि थप सुस्ताउन सक्ने व्यवसायीहरूको अनुमान छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।