शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहितको बैठकले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने सहमति गरेको हो ।
काठमाडौँ — काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकको होल्डिङ सेन्टरबाट हट्न दबाब सामना गरिरहेका रसुवाका बाढीपीडितको कोठाभाडा राज्यले व्यहोर्ने सहमति भएको छ । शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहितको बैठकले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने सहमति गरेको हो ।
१० भदौमा भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका आमाछोदिङ्मो गाउँपालिका–१ हाकुबेंसीका बासिन्दा सुन्दरीजलस्थित होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका थिए । सेन्टर खाली गर्न दबाब दिएपछि उनीहरू अन्योलमा परेका थिए । शनिबार सरोकारवालासँगको छलफलपछि विस्थापितलाई तत्काल काठमाडौंमै भाडामा राख्ने र दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाउने सहमति भएको बाढीपीडित निमा तामाङले बताए ।
होल्डिङ सेन्टर छाड्नुपर्ने भएपछि विस्थापितलाई गाडीभाडाबापत प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराएर लोलङ क्षेत्रमा रहेका आफन्तकहाँ पठाइएको छ । बाढीपीडितको व्यवस्थापनमा स्वयंसेविकाका रूपमा खटिएकी विस्थापित अंसुदा पौडेलका अनुसार कोठा नपाएकाहरूलाई लोलङस्थित एक स्थानीयको स्नूकर हाउसमा आश्रय दिने व्यवस्था मिलाइएको छ ।
'तत्काल कोठा नपाउन्जेल आफन्तकोमा बस्ने र नपाउनेहरूका लागि लोलङस्थित एक स्थानीयको स्नूकर हाउसमा आश्रय लिने व्यवस्था मिलाइएको छ,' उनले भनिन्, 'तर तत्कालै उपयुक्त कोठा भेटिन्छ कि भेटिँदैन भन्नेमा धेरै परिवार अन्योल र चिन्तामा छन् ।'
होल्डिङ सेन्टरमा रहेका १५७ परिवारको बसोबास व्यवस्थापन भइरहेको पीडितका प्रतिनिधि निमा तामाङले बताए । उनका अनुसार २२ देखि २५ परिवारबाहेक अधिकांश आफन्तकहाँ वा भाडाको कोठामा सरिसकेका छन् । 'कोठा नपाएकाहरूका लागि भोलि पर्सिसम्ममा छुट्टै कोठा खोजेर व्यवस्थापन गरिनेछ,' निमाले कान्तिपुरसँग भने ।
राज्यबाट बजेट निकासा हुन केही समय लाग्ने भएकाले तत्कालका लागि विस्थापितहरूको समितिले घरबेटीलाई भाडाको ग्यारेन्टी गरेर कोठा उपलब्ध गराउने व्यवस्था मिलाइरहेको उनले बताए । विस्थापित बालबालिकाको पढाइ काठमाडौंमै चलिरहेकाले आगामी ६ महिनासम्म काठमाडौंमै अस्थायी रूपमा बस्ने सहमति भएको छ । त्यसपछि दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाइनेछ ।
विस्थापितहरूले रसुवाको धुन्चे नजिक भूगर्भविद्हरूको अध्ययनका आधारमा जग्गा खरिद गरेर एकीकृत बस्ती निर्माण गर्नुपर्ने माग गरेका छन् । आफ्नो कला, संस्कृति जोगाउन र हिउँदमा खेतीपाती गर्न राजमार्ग छेउमै बस्ती निर्माण गरी पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव प्रशासनसमक्ष राखेको तामाङले बताए ।
दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।