५ मंसिर, कञ्चनपुर । सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ ।
कञ्चनपुरस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा यस वर्ष १.१९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताए ।
‘यस वर्ष मौसम अनुकूल हु्नु,उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो’, उनले भने, ‘यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ ।’
गत वर्ष धानको उत्पादकत्व ०.२ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४.२ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४.२५ पुगेको उनले बताए ।
गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको भनाइ छ ।
‘यहाँ हरेक वर्ष किसानका लागि उन्नत जाँतको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ,’ उनले भने, ‘सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।’
ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिचाइँ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।
‘बितेको वर्ष किसानलाई ७५० वटा बोरिङ उपलब्ध गराएको मा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ,’ साउँदले भने, ‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।’
उनले आधुनिक कृषियन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएको छ ।
जिल्लामा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध हुँदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।