सन् २०२३ मा निर्विरोध निर्वाचित भएका इन्फान्टिनोविरुद्ध फ्रान्सका फिलिप डियालो र जापानका कोजो तासिमा औपचारिक रूपमा मैदानमा उत्रिएका छन्।
काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स र जापानका फुटबल संघ प्रमुखले चुनौती दिने भएका छन् ।
फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालो र जापानी फुटबल महासंघका मानार्थ अध्यक्ष कोजो तासिमाले आगामी निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।
फिफाले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार आगामी सन् २०२७ मार्चमा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । अर्थात्, सन् २०२३ मा निर्विरोध निर्वाचित भएका इन्फान्टिनोले यसपटक भने प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
फ्रान्सका डियालोले सोमबार आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनलाई युरोपेली फुटबल महासंघ (युएफा) अन्तर्गतका सदस्य राष्ट्रहरूको समर्थन रहेको बताइएको छ ।
यस्तै, जापानका तासिमाले यसै महिनाको सुरुमा उम्मेदवारी घोषणा गरेका थिए। उनले बुधबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराए ।
यसअघि स्विट्जरल्यान्डका पूर्वफुटबलर रामोन भेगाले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । तर फिफाले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा उनको नाम छैन । फिफाका अनुसार प्राप्त उम्मेदवारीहरूलाई निर्वाचन समितिमा पठाइएको छ ।
अब समितिले उम्मेदवारको योग्यता परीक्षण गर्नेछ। र, फिफाका सदस्य राष्ट्रहरूलाई फेब्रुअरी १८ भित्र उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइनेछ ।