रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
काठमाडौँ — सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । यसका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ ।
बिहीबार मन्क्रालयमा आयोजित कार्यत्रममा युवा, श्रम तथा रोजगारमन्त्री राजीव यादव, मन्त्रालयका सचिव दीपक काफ्ले तथा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व महासंघले गर्नेछ ।
मन्त्रालयले नीतिगत नेतृत्व, सरकारी निकायसागको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ । महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने बताइएको छ ।
मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूको वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने महासंघको भनाइ छ । रोजगार मेलासागै सीप विकासलाई समेत प्राथमिकता दिइने भएको छ । श्रम बजारको माग र रोजगारदाताको आवश्यकताका आधारमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ ।
तालिम प्रदायक निकायको नेतृत्वमा सञ्चालन हुने कार्यक्रममा आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउनेछ ।