कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार, खेत वा खुला ठाउँ प्रयोग गरिन्थ्यो ।
त्यसलाई सफा, व्यवस्थित र सुन्दर बनाउनुपर्छ भन्ने सोच नै थिएन । फोहोर कहाँ पुग्छ, त्यसले वातावरण कस्तो असर गर्छ भन्ने विषयमा कसालाई भेउ थिएन । कसैलाई चासो थिएन ।
काम एउटै थियो, शौच गर्नु र फर्किनु ।
त्यही ठाउँ आज आइपुग्दा घरको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । सफा हुनुपर्छ, गन्ध आउनु हुँदैन, पानीको राम्रो व्यवस्था हुनुपर्छ । कस्तो टायल लगाउनेदेखि कस्तो कमोड राख्ने, कति ठाउँ छुट्याउनेदेखि बाथरुममा के–के सुविधा राख्ने भन्नेसम्म सोचिन थालेको छ ।
नेपाली समाजमा शौच गर्ने ठाउँलाई लामो समयसम्म ‘पाइखाना’ वा ‘चर्पी’ भनियो । ठाउँअनुसार नाम फरक भए पनि यसको उपयोग एउटै थियो ।
त्यो समय शौचालयलाई घरको महत्वपूर्ण भागका रूपमा हेरिँदैनथ्यो । घर राम्रो बनाउने, कोठा राम्रो बनाउने, आँगन सफा राख्ने कुरामा ध्यान हुन्थ्यो । तर शौच गर्ने ठाउँ कस्तो छ भन्ने कुरा त्यति प्राथमिकतामा पर्दैनथ्यो ।
समयसँगै ‘पाइखाना’ भन्ने शब्दको ठाउँमा ‘शौचालय’ बढी औपचारिक शब्दका रूपमा प्रयोग हुन थाल्यो । त्यसपछि अंग्रेजी शब्द ‘ट्वाइलेट’ पनि सामान्य बोलचालमा आयो ।
अहिले त एउटै ठाउँलाई ‘बाथरुम’ वा ‘रेस्ट रुम’ भन्ने चलनसमेत बढेको छ । समयसँगै नाम फेरिँदै जाँदा शौचालयको स्वरूप पनि फेरिँदै गयो ।
मानिसले व्यवस्थित रूपमा दिसापिसाब गर्ने ठाउँ बनाउने र फोहोर व्यवस्थापन गर्ने प्रयास हजारौँ वर्षअघिदेखि गर्दै आएको देखिन्छ ।
अन्तर्राष्ट्रिय जर्नल एमडीपीआईमा प्रकाशित एक अध्ययन अनुसा र करिब ५ हजार वर्षअघि प्राचीन इजिप्टमा पनि घरभित्र शौच गर्ने ठाउँ बनाउने चलन थियो ।
करिब २५ सय ईसापूर्व मोहेन्जोदाडोमा ढल निकास प्रणालीको विकास भएको प्रमाण भेटिन्छ । यो सहरमा घरका शौचालयबाट निस्कने फोहोर इँटाले बनाइएका नाली हुँदै बाहिर लैजाने व्यवस्था थियो ।
कतिपय घरमा इँटाबाट बनाइएका शौचालय थिए । फोहोरलाई घरभित्रै जम्मा हुन नदिई बाहिरको खाडल वा नालीसम्म पुर्याउने व्यवस्था गरिएको थियो ।
सहरका नालीसमेत इँटाले बनाइएका र व्यवस्थित रूपमा जोडिएका थिए । यसबाट त्यस समयका मानिसले घरको सरसफाइ मात्रै होइन, सामुदायिक सरसफाइको महत्व पनि बुझिसकेको अनुमान गर्न सकिन्छ ।
तर सबै प्राचीन सभ्यतामा यस्तो सुविधा थिएन । कतिपय ठाउँमा मानिस खुला ठाउँ, खाल्डो वा सामान्य भाँडो प्रयोग गर्थे ।
शौचालयको विकास भूगोल, पानीको उपलब्धता, प्रविधि र सामाजिक अवस्थाअनुसार फरक–फरक गतिमा अघि बढ्यो ।
तर, आधुनिक शौचालयजस्तो सुविधा त्यतिबेला कहाँ थियो र !
शौचालयको इतिहासमा प्राचीन रोमको प्रसंग निकै रोचक छ ।
आज हामी शौचालय जाँदा एकान्त खोज्छौँ । सकेसम्म अरू मानिस नआऊन् भन्ने चाहन्छौँ । तर प्राचीन रोममा सार्वजनिक शौचालयको स्वरूप अहिलेको भन्दा निकै फरक थियो ।
त्यहाँ एउटै लामो बेन्चमा धेरै मानिस बस्न मिल्ने गरी प्वाल बनाइएका हुन्थे । मानिसहरू एकैपटक बसेर शौच गर्थे । उनीहरूबीच कुनै छुट्टाछुट्टै कोठा वा ढोका हुँदैनथ्यो ।
रोमन समाजमा शौच गर्ने कामलाई सामाजिक भेटघाटसँग पनि जोडिएको थियो । मानिसहरू त्यहाँ भेट्थे, कुराकानी गर्थे र समाचार आदानप्रदान गर्थे ।
जर्नल द कलेक्टरमा प्रकाशित लेख अनुसार सन् ३१५ सम्म रोममा १४४ वटा सार्वजनिक शौचालय रहेको उल्लेख ब्रिटिस एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको शौचालय इतिहाससम्बन्धी सामग्रीमा पाइन्छ ।
त्यतिबेला अहिलेको जस्तो ट्वाइलेट पेपर थिएन । रोमनहरूले काठको सानो डन्डीको टुप्पोमा स्पन्ज राखेर सफा गर्ने गर्थे । प्रयोगपछि त्यसलाई पानी भएको नालीमा पखालेर पुनः प्रयोग गरिन्थ्यो ।
समय अगाडि बढ्यो । तर शौचालयको समस्या भने सजिलै समाधान भएन ।
मध्ययुगीन युरोपमा शौचालयको स्वरूप फेरि बदलियो । त्यतिबेला धनी र शक्तिशाली मानिस बस्ने किल्लामा ‘गार्डरोब’ नामको शौच गर्ने संरचना बनाइन्थ्यो ।
गार्डरोब सामान्यतया किल्लाको बाहिरी भित्ताबाट केही भाग बाहिर निस्किएको सानो कोठाजस्तो हुन्थ्यो । त्यसमा काठको पाटी राखिन्थ्यो र बीचमा प्वाल बनाइएको हुन्थ्यो । मानिसले त्यहीँ बसेर शौच गर्थे । दिसा भने भित्ताबाट तल खस्थ्यो ।
कतिपय किल्लामा फोहोर खाडलमा खस्थ्यो । कतै खाडल हुँदै नदी वा समुद्रसम्म पुग्ने व्यवस्था हुन्थ्यो ।
यस्तो संरचनाको अर्को रोचक पक्ष पनि थियो । ‘गार्डरोब’ शब्दको सम्बन्ध कपडा राख्ने ठाउँसँग पनि जोडिन्छ । त्यतिबेला शौचालयको दुर्गन्धका कारण आउने ग्यास ‘अमोनिया’ले किराफट्याङ्ग्रा र कपडा बिगार्ने कीरा भगाउँछ भन्ने विश्वास थियो ।
त्यसैले, केही ठाउँमा कपडा राख्ने ठाउँसँगै यस्तो संरचना बनाइन्थ्यो ।
तर शौचालयको यही संरचना कहिलेकाहीँ किल्लाको कमजोरी पनि बन्न पुग्थ्यो ।
सन् १२०४ मा फ्रान्सेली सैनिकले छटिएउ गाइलार्ड नामको किल्लामा प्रवेश गर्दा शौचालयको फोहोर जाने बाटो प्रयोग गरेको इतिहासमा उल्लेख छ ।
उनीहरू त्यही साँघुरो बाटो हुँदै किल्लाभित्र प्रवेश गर्न सफल भएका थिए । शौचालयको एउटा सानो प्वाल पनि कुनै समय किल्लाको सुरक्षाका लागि जोखिम बन्न सक्छ भन्ने यो प्रसंग कम रोचक छैन ।
सार्वजनिक शौचालयको इतिहासमा लन्डनको एउटा पुरानो संरचना पनि चर्चित छ ।
लन्डनका तत्कालीन मेयर रिचर्ड ह्वाइटिङ्टनले सन् १४२१ मे १ मा ‘ह्वाइटिङ्टन्स लङहाउस’ नामको सार्वजनिक शौचालय सञ्चालनमा ल्याउन सहयोग गरेका थिए । यसमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै व्यवस्था थियो ।
यसमा कुल १२८ वटा सिट थिए । पुरुष र महिलाका लागि ६४-६४ वटा सिट छुट्याइएको थियो ।
त्यतिबेला शौचालयबाट निस्कने फोहोर नजिकैको पानीको बहाव हुँदै थेम्स नदीतर्फ पुग्थ्यो । दिनमा दुईपटक आउने ज्वारभाटाले फोहोर बगाएर लैजाने व्यवस्था थियो ।
यो उदाहरणले सार्वजनिक शौचालयको आवश्यकता र व्यवस्थापनबारे मानिसले धेरै अघिदेखि सोच्न थालेको देखाउँछ ।
आजको शौचालयको सबैभन्दा सामान्य विशेषता के हो ? फ्लस ।
शौच गरिसकेपछि एउटा बटन थिच्ने बित्तिकै पानी आउँछ र फोहोर बगाएर लैजान्छ । अहिले यो सामान्य सुविधा बनेको छ । तर कुनै समय यस्तो सुविधा आफैँमा ठूलो आविष्कार थियो ।
इङ्गल्यान्डका सर जोन ह्यारिङ्टनलाई आधुनिक फ्लस ट्वाइलेटको प्रारम्भिक डिजाइन विकास गर्ने व्यक्तिका रूपमा चिनिन्छ ।
उनले करिब सन् १५९० मा पानीको ट्यांकीबाट पानी खसालेर शौचालयको फोहोर बगाउने प्रणाली विकास गरेका थिए ।
हिस्टोरीडटकममा प्रकाशित लेखमा उल्लेख भए अनुसार सन् १५९२ मा उनले महारानी एलिजाबेथ प्रथमका लागि रिचमन्ड प्यालेसमा पनि यस्तो शौचालय जडान गरेका थिए ।
ह्यारिङ्टनले बनाएको शौचालयमा पानी जम्मा गर्ने ट्यांकी हुन्थ्यो । ह्यान्डल तानेपछि ट्यांकीको पानी शौचालयको भाँडोमा खस्थ्यो र फोहोरलाई तल रहेको खाडलतर्फ बगाउँथ्यो ।
उनले सन् १५९६ मा आफ्नो आविष्कारको विवरण पुस्तकमा प्रकाशित गरेका थिए ।
तर यो आविष्कार तत्कालै सबैको घरमा पुगेन । किनकि, शौचालयमा पानीले फोहोर बगाउने व्यवस्था भए पनि त्यसलाई घरबाहिर सुरक्षित रूपमा लैजाने ढल प्रणाली पर्याप्त थिएन ।
यसरी फ्लस ट्वाइलेटको विचार जन्मिए पनि आधुनिक शौचालय बन्न अझै धेरै समय लाग्यो ।
फ्लस ट्वाइलेटमा पानीले फोहोर बगाउने व्यवस्था हुनु एउटा उपलब्धि थियो । तर त्यसपछि अर्को समस्या देखियो, ढलबाट आउने दुर्गन्ध ।
शौचालयको पाइपबाट दुर्गन्ध र ग्यास घरभित्रै आउन सक्थ्यो । यसले शौचालय प्रयोग गर्न असहज बनाउँथ्यो ।
सन् १७७५ मा स्कटल्यान्डका घडी बनाउने कारीगर अलेक्जेन्डर कमिङ्सले शौचालयको पाइपमा एस आकारको घुमाउरो भाग राख्ने डिजाइनको पेटेन्ट लिए ।
यो संरचनामा केही पानी सधैँ रहिरहन्थ्यो । त्यही पानीले ढलबाट आउने दुर्गन्धलाई घरभित्र प्रवेश गर्न रोक्ने काम गर्थ्यो ।
आज पनि शौचालयमा देखिने एस वा यू आकारको पाइपको आधारभूत सिद्धान्त यही हो ।
शौचालयमा फ्लसको विकास हुँदै थियो । तर सहरमा ढल व्यवस्थापन राम्रो थिएन । मानिसको संख्या बढिरहेको थियो । घरमा शौचालयको प्रयोग बढे पनि फोहोर लैजाने प्रणाली व्यवस्थित थिएन ।
यसको एउटा ठूलो उदाहरण सन् १८५८ को लन्डन हो ।
त्यतिबेला लन्डनको जनसंख्या तीव्र गतिमा बढिरहेको थियो । मानिसको दिसापिसाब, औद्योगिक फोहोर र अन्य फोहोर थेम्स नदीमा मिसिन्थ्यो । नदीको पानी पिउने र धुने काममा समेत प्रयोग हुन्थ्यो ।
सन् १८५८ को गर्मीमा नदीमा जम्मा भएको फोहोरबाट असह्य दुर्गन्ध फैलियो । यो घटना इतिहासमा ‘ग्रेट स्टिङ’का नामले चर्चित छ ।
दुर्गन्ध यति तीव्र थियो कि संसद् भवनसम्म असर पुगेको थियो । संसद् भवनका झ्यालमा रहेका पर्दामा दुर्गन्ध कम गर्न रासायनिक पदार्थ प्रयोग गरिएको थियो । तर समस्या समाधान भएन ।
त्यसपछि सरकारले लन्डनको ढल प्रणाली सुधार गर्ने निर्णय गर्यो । इन्जिनियर जोसेफ बजाल्गेटको नेतृत्वमा थेम्स नदीसँग जोडिएका ढललाई व्यवस्थित गर्ने विशाल परियोजना अघि बढाइयो ।
भूमिगत इँटाका सुरुङ, ढल निकास र पम्पिङ स्टेसन निर्माण गरिए । परियोजनाका महत्वपूर्ण संरचना सन् १८६५ देखि प्रयोगमा आउन थाले भने समग्र काम सन् १८७५ सम्म जारी रह्यो ।
शौचालयको इतिहासमा यो घटना एउटा ठूलो मोड बन्यो ।
आज शौचालयसँगै ट्वाइलेट पेपर पनि सामान्य सुविधा बनेको छ । तर सधैँ यस्तो थिएन ।
प्राचीन रोममा स्पन्ज प्रयोग गरिन्थ्यो । अन्य समाजमा पानी, पात, कपडा वा उपलब्ध प्राकृतिक सामग्री प्रयोग गरिन्थ्यो ।
आधुनिक ट्वाइलेट पेपरको व्यावसायिक इतिहास भने १९औँ शताब्दीतिर आइपुग्छ । सन् १८५७ मा अमेरिकी जोसेफ गेट्टीले प्याकेटमा बेचिने ट्वाइलेट पेपर बजारमा ल्याएका थिए ।
पछि सन् १८७९ मा स्कट पेपर कम्पनीले रोलको रूपमा ट्वाइलेट पेपर बिक्री गर्न थाल्यो । यद्यपि घरघरमा यसको प्रयोग सामान्य हुन अझै समय लाग्यो ।
आधुनिक शौचालयको इतिहासमा थोमस र्क्यापरको नाम पनि धेरै सुनिन्छ । कतिपय मानिस उनलाई फ्लस ट्वाइलेटका आविष्कारक नै ठान्छन् ।
तर उनले आधुनिक ट्वाइलेट आविष्कार गरेका होइनन् । उनी शौचालय तथा सरसफाइसम्बन्धी उपकरण उत्पादन र बिक्री गर्ने व्यवसायी थिए ।
हिस्ट्रीएक्स्ट्राको एक आलेखमा उल्लेख भए अनुसार उनले सन् १८६१ तिर बेलायती राजपरिवारका लागि विभिन्न दरबारमा शौचालय निर्माण तथा जडानको काम गरेका थिए । उनको व्यवसायले शौचालयलाई व्यवस्थित उत्पादन र बिक्रीको वस्तुका रूपमा स्थापित गर्न सहयोग गर्यो ।
त्यस समयका अन्य व्यवसायी तथा इन्जिनियरहरूले पनि कमोड, फ्लस, पानीको ट्यांकी र पाइपको डिजाइनमा सुधार गर्दै लगे ।
फ्लस ट्वाइलेटको आविष्कार भइसकेपछि पनि सर्वसाधारणको घरमा यसको प्रयोग तत्कालै सुरु भएन ।
धेरै समयसम्म साधारण मानिसका घरमा बाहिर छुट्टै शौच गर्ने ठाउँ हुन्थ्यो । कतिपय ग्रामीण क्षेत्रमा खाल्डोमा आधारित शौचालय प्रयोग गरिन्थ्यो ।
घरभित्र पानीको पाइप र ढल निकास पुर्याउन सजिलो थिएन । बीसौँ शताब्दीमा खानेपानीको पाइप, ढल प्रणाली र निर्माण प्रविधिको विस्तारसँगै घरभित्र शौचालय बनाउने चलन बढ्दै गयो ।
कमोडमै पानीको ट्यांकी जोडिने डिजाइन विकास भयो । फ्लस गर्ने प्रणाली सहज बन्यो । शौचालयको आकार, सामग्री र बनावटमा सुधार हुँदै गयो ।
सन् १९१० तिर आधुनिक स्वरूपको कमोड विकासको अर्को चरणमा पुगेको देखिन्छ । पहिले भित्तामाथि वा उचाइमा राखिने पानीको ट्यांकीको सट्टा कमोडकै पछाडि ट्यांकी राख्ने चलन बढ्न थाल्यो ।
यसले शौचालयलाई घरभित्र जडान गर्न र प्रयोग गर्न सजिलो बनायो ।
बीसौँ शताब्दीमा खानेपानीका पाइप, ढल निकास र निर्माण प्रविधिको विस्तारसँगै घरभित्रै शौचालय बनाउने चलन बढ्दै गयो । कमोड, फ्लस, पानीको ट्यांकी र पाइपको डिजाइनमा सुधार हुँदै गयो ।
आज शौचालयमा कमोड र बेसिन मात्रै होइन, आकर्षक टायल, ऐना, राम्रो प्रकाश, भेन्टिलेसन र नुहाउने छुट्टै क्षेत्रसमेत राखिन्छ ।
कतिपय आधुनिक घर तथा होटलमा स्वचालित फ्लस, तातोपानी, सिट तताउने र आफैँ सफा हुने स्मार्ट ट्वाइलेट प्रयोग हुन थालेका छन् । जापानमा यस्ता प्रविधियुक्त शौचालय विशेष चर्चित छन् ।
शब्दमा पनि परिवर्तन आएको छ । ‘ट्वाइलेट’ मुख्यतः शौच गर्ने ठाउँका लागि प्रयोग हुन्छ भने ‘बाथरुम’ नुहाउने र व्यक्तिगत सरसफाइ गर्ने सुविधासहितको कोठा हो ।
‘रेस्ट रुम’ भने विशेषगरी होटल, कार्यालय, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा शौचालयलाई सम्बोधन गर्न प्रयोग गरिन्छ ।
आज शौचालय बनाउँदा सुन्दरता मात्रै होइन, सरसफाइ, पानीको बचत, दुर्गन्ध नियन्त्रण र प्रयोगकर्ताको सहजतालाई पनि प्राथमिकता दिइन्छ ।
बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने संरचना बनाउनु पनि आधुनिक शौचालयको महत्वपूर्ण पक्ष हो ।
शौचालयको यात्रा अझै रोकिएको छैन । शौचालयले घरको जीवनशैली पनि देखाउँछ। भनिन्छ, घर कतिको सफा छ भनेर त्यहाँको शौचालयले बताउँछ ।
पहिले घरको सम्पन्नता देखाउन ठूलो बैठक कोठा, आकर्षक भान्सा, महँगा फर्निचर र सजावटलाई प्राथमिकता दिइन्थ्यो । अहिले घरको बाथरुम र शौचालयको डिजाइनमा पनि उत्तिकै ध्यान दिन थालिएको छ ।
कुनै घरमा सामान्य कमोड र बेसिन हुन्छन् भने कतै आधुनिक डिजाइनका कमोड, नुहाउने छुट्टै क्षेत्र, ऐना, आकर्षक बत्ती र अन्य सुविधा राखिएका हुन्छन् ।
कतिपय महँगा होटल तथा घरमा स्मार्ट ट्वाइलेटसमेत प्रयोग हुन थालेका छन् । यस्ता ट्वाइलेटमा स्वचालित फ्लस, तातोपानी, आफैँ सफा गर्ने प्रणाली, तापक्रम नियन्त्रण र सिट तताउने सुविधा हुन सक्छ ।
जापानमा यस्ता प्रविधियुक्त ट्वाइलेटको प्रयोग विशेष चर्चित छ । त्यहाँका केही शौचालयमा प्रयोगकर्ताले बटनको सहायताले पानीको धार, तापक्रम र अन्य सुविधा नियन्त्रण गर्न सक्छन् ।
यसले शौचालयको विकास अब फोहोर व्यवस्थापनमा सीमित नरहेको देखाउँछ । मानिसको सुविधा र प्रविधिसँग पनि यसको सम्बन्ध जोडिएको छ ।
अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।