भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल
काठमाडौँ — तीनदिने भारत भ्रमणको अन्त्यमा बेलायतका युवराज विलियम र युवराज्ञी केटले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल भएको बताइएको छ।
बुधबार बिहान मुम्बईमा राजकुमार विलियमले चलचित्र स्टुडियो अवलोकन गर्दै बलिउड नृत्य हेरेका थिए त्यस्तै, युवराज्ञी केटले मुम्बईकै एक प्रसूति अस्पतालको भ्रमण गरेकी थिइन् । त्यसपछि उनीहरू प्रधानमन्त्रीलाई भेट्न नयाँ दिल्ली पुगेका हुन् ।
भेटमा बेलायत-भारत सम्बन्धको महत्त्वबारे चर्चा भएको थियो। मंगलबार मुम्बईमा सम्पन्न विलियमको 'अर्थसट प्राइज' समारोहको प्रधानमन्त्री मोदीले प्रशंसा गरे ।
सामाजिक सञ्जाल 'एक्स' मा मोदीले भारत-बेलायत व्यापक रणनीतिक साझेदारी र हालै कार्यान्वयनमा आएको व्यापार सम्झौताले दुवै देशको समृद्धिमा टेवा पुर्याउने उल्लेख गरे । केन्सिङ्टन प्यालेसका प्रवक्ताले गहिरो सम्बन्ध र भविष्यका अवसरबारे कुराकानी भएको जानकारी दिए ।
यसअघि बुधबारै विलियमले धर्मा प्रोडक्सनको कार्यालय पुग्दा 'कभी खुशी कभी गम' को गीतमा नृत्य हेर्दै ताली बजाएका थिए । सो अवसरमा सैफ अलि खान, करिना कपुर र निर्देशक करण जोहर उपस्थित थिए ।
सोमबारदेखि मुम्बईमा रहेका विलियम र केटले सचिन तेन्दुलकरसँग क्रिकेट खेल्नुका साथै अर्थसट प्राइज समारोहमा सहभागी भएका थिए ।