भोटेकोशी बाढीपछि उद्धारमा खटिएका १३ दिनले मलाई अमूल्य पाठ सिकाए— विपद्ले संरचना भत्काउन सक्छ, बाटो मेटाउन सक्छ, मानिसलाई अन्धकारमा पुर्याउन सक्छ, तर मानवीय साहस, सहकार्य र आशालाई सजिलै पराजित गर्न नसक्ने रहेछ ।
कहिलेकाहीँ मृत्युबाट जीवनमा फर्कन सक्ने दूरी असाध्यै थोरै हुन्छ । तर, त्यो दूरी पार गर्न साहस, समर्पण र संघर्षका कैयौं दिन लाग्न सक्छन् । गत भदौ १० को भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि जमिनमा पुरिएका जीवनको खोजी र उद्धारमा मैले १३ दिन बिताएँ । ती दिन मेरा लागि केवल उद्धार अभियान थिएनन्, मानवता, कर्तव्य र आशाको अविस्मरणीय परीक्षा थिए ।
भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा आएको भीषण बाढी र पहिरोले प्रकृतिको रौद्र रूप देखाएको थियो । हिजोसम्म मानिसका पाइला परेका बाटा हराएका थिए । बस्ती, सडक, पुल र अन्य संरचना बाढीले बढारेर लगेको थियो । कतै पहाड चिरिएका थिए त कतै नदीले आफ्नो बाटो बदलेको थियो । सञ्चारमाध्यममा देखिएका दृश्यभन्दा घटनास्थलको वास्तविकता कैयौं गुणा भयावह र कारुणिक थियो ।
विपद् व्यवस्थापनमा करिब दस वर्षको अनुभव र विशेष तालिम भए पनि यस पटकको चुनौती फरक थियो । सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपालको नम्बर–२० विपद् तथा उद्धार गणबाट भत्किएका संरचनामा खोज तथा उद्धार गर्ने विशेष तालिम प्राप्त सीएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) टोलीको नेतृत्व गर्दै म नुवाकोटतर्फ प्रस्थान गरें । नेपाली सेनाको हेलिकोप्टरबाट हामी नुवाकोट र रसुवाको सीमामा रहेको अपर त्रिशूली ३–ए जलविद्युत् आयोजना क्षेत्रमा पुग्यौं । त्यस ठाउँमा हेलिकोप्टर अवतरण गर्ने सुरक्षित स्थानसमेत थिएन । हामी आयोजनाको सुरुङभन्दा करिब तीन किलोमिटर तल ओर्लिएर भीर, पहिरो र हिलो छिचोल्दै अघि बढ्यौं ।
आयोजनास्थलमा पुग्दा बाढीले करिब सय फिट माथिसम्म प्रभाव पारेको देखिन्थ्यो । बाहिरबाट समथर मैदानजस्तो देखिने जमिनभित्र हिलो, ढुंगा र भग्नावशेषको तह थियो । त्यहीँ कतै सुरुङको मुख पुरिएको थियो, जहाँ करिब ४० जना फसेको प्रारम्भिक सूचना थियो ।
प्राविधिक अध्ययनपछि थाहा भयो, सुरुङको मुख भेट्न मात्र करिब ६० फिट गहिरो खन्नुपर्ने रहेछ । त्यहाँबाट पनि भित्र फसेका मानिससम्म पुग्न थप दूरी पार गर्नुपर्ने थियो । मनमा बारम्बार एउटै प्रश्न उठ्थ्यो— के उनीहरू अझै जीवित होलान् ?
तर उद्धारकर्मीका लागि आशंकाभन्दा कर्तव्य ठूलो हुन्छ । हामीसँग फलाम, रड र ढलान काट्ने उपकरण थिए, तर ६० फिट गहिरो खन्न एक्स्काभेटर अपरिहार्य थियो ।
स्थानीय समन्वयबाट एउटा एक्स्काभेटर पाइयो । चालकले जोखिम मोलेर बाटो बनाउँदै मेसिन खोलासम्म ल्याए । रातको ११ बजेतिर मेसिन सुरक्षित रूपमा पारि पुग्यो । तर त्यही क्रममा दोस्रो बाढी आउने पूर्वसूचनासँगै उच्च सतर्कताको निर्देशन आयो । हामी एक्स्काभेटर त्यहीँ छाडेर सुरक्षित स्थानतर्फ फर्कियौं । त्यो रात गृहमन्त्रीज्यू पनि हामीसँगै पालमा बस्नुभयो । राति आएको अर्को बाढीले बाँकी रहेको बाटो र संरचनासमेत बगायो । संयोगवश एक्स्काभेटर भने सुरक्षित रह्यो ।
हेलिकोप्टरको वेट लिमिटेसनका कारण उद्धार सामग्री र अपरेसनल उपकरण मात्र बोकेर निस्किएका हामीसँग व्यक्तिगत सामग्रीको नाममा लगाएको एक जोर चुस्ता मात्र थियो । चार दिनसम्म लगातार परेको पानीमा भिजेकै लुगा लगाएर हिलोमा काम गर्नु चुनौतीपूर्ण थियो । दुई–तीन दिन चाउचाउकै भरमा भोक टार्नुपर्यो, त्यसपछि खानाको व्यवस्था भयो । पाँचौं दिनमा मात्र शान्तिबजारको निर्माणाधीन घरमा ओभानो भएर सुत्न पाइयो ।
उद्धार अभियान सामूहिक प्रयासको उत्कृष्ट उदाहरण बन्यो । नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरहरूले प्राविधिक नक्साका आधारमा सुरुङको सम्भावित प्रवेशबिन्दु पहिचान गरिदिए । नेपाली सेनाले ठूला चट्टानहरू विस्फोट गराएर हटायो । एक्स्काभेटरले माटो र ढुंगा पन्छायो । हाम्रो सीएसएसआर टोलीले फलामे पाइप, रड, पिल्लर र ढलान काट्दै बाटो खोल्यो ।
हरेक दिन, हरेक घण्टा र हरेक मिटर खनाइसँगै आशा र अनिश्चितता एकसाथ अघि बढेका थिए । अन्तत: दस दिनको अथक प्रयासपछि सुरुङको मुख खुल्यो । त्यसपछि आएको क्षणलाई शब्दमा व्यक्त गर्न आज पनि कठिन हुन्छ । हामीले सुरुङबाट पहिले सञ्जय साह र त्यसपछि कबिर महर्जनलाई जीवितै निकाल्न सफल भयौं । सुरुङभित्रको थप खोजीमा १ सय ६० मिटरभित्र रहेको भवनको सातौं तलामा एक जनाको शवसमेत भेटियो ।
दस दिनसम्म अन्धकार र अनिश्चिततामा रहेका मानिसलाई सकुशल उद्धार गर्दाको खुसीलाई कुनै पदक वा सम्मानसँग तुलना गर्न सकिँदैन । खोज तथा उद्धारका प्रारम्भिक ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छन्, तर त्यसपछि पनि जीवन बच्ने सम्भावना समाप्त हुँदैन । दस दिनपछि भएको यो जीवित उद्धार त्यसकै सशक्त उदाहरण हो ।
यस्ता जटिल अभियानमा साहस मात्र पर्याप्त हुँदैन । सही रणनीति, प्रशिक्षित जनशक्ति, उपयुक्त औजार तथा उपकरण, तत्काल परिचालन हुने तयारी योजना र प्रभावकारी अन्तरनिकाय समन्वय उत्तिकै आवश्यक हुन्छन् । नेपालको कठिन भूगोलमा भारी उपकरण हवाई मार्गबाट ढुवानी गर्न सक्ने क्षमता, हिलो हटाउने मेसिन तथा उद्धारकर्मीले बोकेर लैजान सक्ने हलुका तर शक्तिशाली कटर र अन्य उपकरणमा लगानी अपरिहार्य देखिन्छ । त्यस्तै, स्थानीय समुदायमा पूर्वसूचना प्रणाली, जोखिमसम्बन्धी जनचेतना र नियमित अभ्यासलाई प्राथमिकता दिनुपर्छ । विपद् आउनुअघि नै त्यसको सामना गर्ने क्षमता विकास गर्नुपर्छ ।
आज ती १३ दिन सम्झँदा भिजेका लुगा, चिसा रात, भोक, चोट र जोखिमपूर्ण यात्राका दृश्य आँखाअगाडि आउँछन् । तर ती सबैभन्दा स्पष्ट सम्झना छ, सुरुङबाट जीवित मानिस निस्किएको क्षणको । त्यो सफलता कुनै एक व्यक्ति वा निकायको नभई सुरक्षा निकायदेखि प्राविधिक, एक्स्काभेटर चालक, स्थानीय समुदायसहितको सामूहिक प्रयासको प्रतिफल थियो ।
ती १३ दिनले मलाई एउटा अमूल्य पाठ सिकाए— विपद्ले संरचना भत्काउन सक्छ, बाटो मेटाउन सक्छ, मानिसलाई अन्धकारमा पुर्याउन सक्छ, तर मानवीय साहस, सहकार्य र आशालाई सजिलै पराजित गर्न सक्दैन ।
अमृत थापा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक हुन्। उनी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा प्रशिक्षकका रूपमा कार्यरत छन्।