बिहीबार हुने त्रिपक्षीय बैठकमा रुस-युक्रेन युद्ध, अमेरिकी-इरान द्वन्द्व, व्यापार, कृत्रिम बौद्धिकता (एआई) र आणविक हतियारजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ
सेन्जेन — चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यापार संरक्षणवादको डटेर सामना गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, रुसी समकक्षी भ्लादिमिर पुटिनले पश्चिमी देशका प्रतिबन्धको कडा आलोचना गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको उच्चस्तरीय त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा उनीहरूले यस्तो धारणा राखेका हुन् ।
बिहीबार हुने त्रिपक्षीय बैठकमा रुस-युक्रेन युद्ध, अमेरिकी-इरान द्वन्द्व, व्यापार, कृत्रिम बौद्धिकता (एआई) र आणविक हतियारजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यस ऐतिहासिक भेटघाटलाई महाशक्ति राष्ट्रहरूले साना देशहरूमाथि आफ्नो प्रभाव लाद्ने १९४५ को 'याल्टा सम्मेलन'सँग तुलना गरेका छन् । तत्कालीन समय बेलायत, अमेरिका र सोभियत युनियनका नेताहरुले याल्टा सम्मेलनमार्फत दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था तय गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सीले खुला तथा स्वतन्त्र व्यापारको पक्षमा वकालत गर्दै अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाए पनि चीन स्थिर साझेदारको रूपमा उभिने बताए।
वासिङ्टनले उन्नत एआई चिप्समाथि थप प्रतिबन्ध घोषणा गरेपछि बेइजिङले पनि कडा प्रतिशोधको चेतावनी दिएको छ। सीको यो भनाइले 'ग्लोबल साउथ' (विकासशील देशहरू) मा राम्रो प्रभाव पार्ने विश्लेषकहरूको विश्लेषण छ।
यसैबीच, युक्रेनले क्रिमिया जोड्ने महत्त्वपूर्ण केर्च पुल ध्वस्त पारेलगत्तै मञ्चमा प्रस्तुत भएका रुसी राष्ट्रपति पुटिनले पश्चिमी प्रतिबन्धहरू पूर्ण रूपमा असफल भएको दाबी गरे।
उनले युरोप कमजोर हुँदै गएको टिप्पणी गर्दै प्रतिबन्धहरूले रुसलाई कमजोर बनाउनुको साटो झन् बलियो बनाएको बताए। विश्वमा देखिएका विवादहरू संवादमार्फत समाधान गर्न सकिने बताउँदै उनले त्रिपक्षीय बैठकबाट ठूलो लाभ हुने अपेक्षा व्यक्त गरे।
फिलिपिन्सको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि दक्षिण चीन सागरमा देखिएको विवादबीच रक्षा सहकार्य गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्।
भूराजनीतिक तनाव र व्यापारिक द्वन्द्वकाबीच हुन लागेको यो त्रिपक्षीय भेटघाटले आगामी दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व अर्थतन्त्रको दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।