स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई बहुक्षेत्रीय साझा चुनौती भएको उल्लेख गरिन्।
प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन हुने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनले बताइन्।
नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सुक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक भएको मन्त्री मेहताले बताइन्।
सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको उनले जानकारी दिइन्।
मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र त्यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिन आग्रह गरेकी छिन्।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
प्रकाशित: २ मंसिर २०८३ १२:०८ बुधबार