दोधारा चाँदनी नगरपालिका–१ स्थित वनमा मंगलबार भेटिएको बाघको घाँटीमा घाउ देखिएपछि भाले बाघको आक्रमणको आशंका गरिएको छ।
कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका-१ स्थित मायापुरी सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटिएको छ । अन्दाजी १२/१४ महिनाको पोथी बाघ मंगलबार मृत भेटिएको हो ।
‘पोष्टमार्टम गरेर हेर्दा घाँटीमा घाउहरु देखिएको छ, भाले बाघको आक्रमणबाट मृत्यु भएको हुन सक्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘यो प्राकृतिक मृत्यु नै हो ।’
वरिष्ठ संरक्षण अधिकृत अर्यालका अनुसार मृत अवस्थामा भेटिएको बाघको जुंगादेखि नांग्रालगायत सबै अंग सुरक्षित अवस्थामा भेटिएको छ । उक्त बाघलाई पोष्टमार्टम गरेर खाल्डोमा पुरिएको उनले बताए ।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।