जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार स्थायी घर दाङ र पारिवारिक बसाइँ नेपालगञ्ज भएका केसी गुल्मीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।
गुल्मी — गुल्मीमा मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित निवासमै प्रहरी निरीक्षक पर्वत कुमार केसी मृत अवस्थामा फेला परेका थिए। सुतिरहेकै स्थानमा अचेत अवस्थामा फेला परेका ५२ वर्षीय उनलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार स्थायी घर दाङ र पारिवारिक बसाइँ नेपालगञ्ज भएका केसी गुल्मीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए। उनी मंगलबार बिहान ढिलोसम्म नउठेपछि झ्याल तोडेर खोल्दा सुतिरहेकै बिस्तारामा अचेत अवस्थामा फेला परेको विश्वकर्माले बताए।
परिवारलाई खबर गरेपछि जाहेरी लिएर पोस्टमार्टम र प्रारम्भिक अनुसन्धानपछि उनको जिल्ला प्रहरी कार्यालय गुल्मीमा अन्तिम बिदाइ गरिएको छ। उनका दाजु विनोद कुमार केसीले मृतक केसीको शव बुझेका छन्। उनको अन्तिम दाहसंस्कार दाङको दुन्द्राघाटमा गरिनेछ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। उनी सुगर र प्रेसरका बिरामी रहेको बुझिएको प्रहरीले जनाएको छ। यद्यपि घटनाबारे पोस्टमार्टमको विस्तृत रिपोर्ट र थप अनुसन्धानपछि खुल्नेछ।