काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड (TapTap Send) बीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
नेपालमा विप्रेषण सेवालाई थप सहज, सुरक्षित, सरल र भरपर्दो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएसँगै औपचारिक रूपमा रेमिट्यान्स कारोबार सुरु भएको हो।
यस सहकार्यसँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन्।
विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिट्यान्स सेवा ‘एमबीएल रेमिट’ (MBL Remit) मार्फत नगद भुक्तानी लिन सकिनेछ। साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा समेत सोझै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत नगद रकम प्राप्त गर्न सक्नेछन्। यसले विशेषगरी बैंकिङ सेवाको पहुँच सीमित रहेका क्षेत्रका नागरिकलाई विदेशबाट पठाइएको रकम प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
रेमिट्यान्सले नेपाली परिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विदेशबाट प्राप्त हुने रकमले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग पुर्याउनुका साथै बचत तथा लगानी क्षमता अभिवृद्धिमा समेत योगदान गर्दै आएको छ।
बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै सुरक्षित र पारदर्शी रेमिट्यान्स सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
ट्यापट्याप सेन्डसँगको सहकार्यले माछापुच्छ्रे बैंकको अन्तर्राष्ट्रिय रेमिट्यान्स सञ्जाल विस्तार हुनुका साथै डिजिटल माध्यमबाट विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप प्रभावकारी बनाउने बैंकको विश्वास छ।
हाल माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउन्टर तथा १९४ एटीएम/सीडीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार आधुनिक प्रविधिमा आधारित यस सेवा सञ्जालबाट १८ लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।