Trending
Prev Story
Next Story

अन्तरिक्षमा ‘लाइट-डे’ रेकर्ड बनाउँदै भोयजर-१

Ekantipur •
November 17, 2026 • 02:02 PM
2
2 reads 0 reactions

सन् १९७७ मा पृथ्वीबाट प्रक्षेपण गरिएको यो यान करिब पाँच दशकदेखि अन्तरिक्ष यात्रामा छ । ‘गोल्डेन रेकर्ड’मार्फत मानव सभ्यताको सन्देश बोकेर तारामण्डलतर्फ अघि बढिरहेको यसको सन्देश पृथ्वीमा आइपुग्न अब प्रकाशकै गतिमा पनि पूरा एक दिन लाग्नेछ ।

अन्तरिक्षमा ‘लाइट-डे’ रेकर्ड बनाउँदै भोयजर-१

सन् १९७७ मा पृथ्वीबाट प्रक्षेपण गरिएको यो यान करिब पाँच दशकदेखि अन्तरिक्ष यात्रामा छ । ‘गोल्डेन रेकर्ड’मार्फत मानव सभ्यताको सन्देश बोकेर तारामण्डलतर्फ अघि बढिरहेको यसको सन्देश पृथ्वीमा आइपुग्न अब प्रकाशकै गतिमा पनि पूरा एक दिन लाग्नेछ ।

अन्तरिक्ष यात्रा थालेको करिब ४९ वर्षपछि अमेरिकी अन्तरिक्ष निकाय, नासाको अन्तरिक्षयान भोयजर-१ ले पृथ्वीबाट एक प्रकाश-दिनको दूरी पार गर्न लागेको छ । नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १ मिनेट ७ सेकेन्डमा भोयजरले उक्त उपलब्धि हासिल गर्न लागेको हो ।

त्यसबेला भोयजर-१ पृथ्वीबाट करिब १६ अर्ब ९ करोड ४८ लाख माइल अर्थात २५ अर्ब ९० करोड २० लाख किलोमिटर टाढा हुनेछ । सन् १९७७ सेप्टेम्बर ५ मा प्रक्षेपण गरिएको यो अन्तरिक्षयानले झन्डै पाँच दशकदेखि यात्रा जारी राख्दै एक प्रकाश-दिनको दूरी पार गर्ने पहिलो मानव निर्मित वस्तुको कीर्तिमान बनाउन लागेको हो ।

यो उपलब्धिलाई विशेष बनाउन नासाले विश्वभरका अन्तरिक्षप्रेमीलाई सहभागी गराउने कार्यक्रम घोषणा गरेको छ । ‘साइन ब्राइट फर भोयजर लाइट-डे’ नाम दिइएको अभियानमा मंगलबार साँझ (नोभेम्बर १७) मा विश्वभरका मानिसलाई मोबाइल फोन, टर्च तथा अन्य प्रकाशका स्रोत प्रयोग गरी प्रतीकात्मक रूपमा उज्यालो फैलाउन आग्रह गरिएको छ । नासाले स्मार्टफोन र ट्याब्लेटबाट भोयजरको संकेत चिह्न ‘भीजीआर’ लाई मोर्स कोडमा चम्काउन मिल्ने डिजिटल उपकरण पनि तयार पारेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याबोरेटरी (जेपीएल) मा नोभेम्बर १९ मा भोयजर अभियानका वैज्ञानिक तथा इन्जिनियरसँग छलफल र प्रश्नोत्तर कार्यक्रम आयोजना हुने नासाले जनाएको छ । प्लानेटरी सोसाइटीले पनि नोभेम्बर १८ मा सार्वजनिक प्रत्यक्ष प्रसारणमार्फत उक्त उपलब्धिलाई सेलेब्रेट गर्ने भनेको छ ।

एक प्रकाश-दिन भनेको प्रकाशले २४ घण्टामा पार गर्ने दूरी हो । प्रकाश प्रतिसेकेन्ड करिब २ लाख ९९ हजार ७ सय ९२ किलोमिटरको गतिमा यात्रा गर्छ । यस हिसाबले एक प्रकाश-दिन करिब २५ अर्ब ९० करोड किलोमिटर हुन्छ । भोयजर-१ भने प्रतिघण्टा करिब ६१ हजार किलोमिटरको गतिमा अघि बढिरहेको छ । प्रकाशले एक दिनमा पार गर्ने दूरी तय गर्न यसलाई झन्डै ५० वर्ष लागेको हो ।

करिब ७ सय २२ किलोग्राम तौल भएको भोयजर-१ अन्तरिक्षयान सुरुमा मूलतः बृहस्पति र शनि ग्रहको अध्ययन गर्ने उद्देश्यले निर्माण गरिएको थियो । सन् १९७९ मार्चमा बृहस्पति र सन् १९८० नोभेम्बरमा शनिको नजिकबाट गुज्रिएपछि यसले आफ्नो यात्रा जारी राख्यो । शनिको चन्द्रमा ‘टाइटन’को नजिकबाट गुज्रिँदा त्यसको गुरुत्वाकर्षणले यसको मार्ग परिवर्तन भयो । त्यसपछि यो ग्रहहरू परिक्रमा गर्ने समतलभन्दा माथिल्लो दिशातर्फ अघि बढ्यो । सन् २०१२ अगस्टमा सूर्यबाट आउने सौर्य वायुको प्रभाव क्षेत्र ‘हेलियोस्फियर’को सीमा ‘हेलियोपज’ पार गर्दै भोयजर-१ ‘इन्टरस्टेलर स्पेस’ मा प्रवेश गरेको थियो । इन्टरस्टेलरमा पुग्ने यो पहिलो अन्तरिक्षयान पनि हो ।

भोयजर-१ मा पृथ्वी र मानव सभ्यताबारे जानकारी दिने एउटा विशेष गोलो चक्का राखिएको छ । त्यसलाई ‘गोल्डेन रेकर्ड’ भनिन्छ । सुनको जलप लगाइएको तामाको यो डिस्कमा पृथ्वीका ११५ वटा तस्बिर, प्राकृतिक ध्वनि, विभिन्न संस्कृतिका संगीत र ५५ वटा भाषामा रेकर्ड गरिएका अभिवादन समावेश छन् । खगोलशास्त्री कार्ल सागनको नेतृत्वमा तयार पारिएको यो सामग्री अन्य ग्रहमा कसैले फेला पारे मानव सभ्यताको परिचयका रूपमा ग्रहण गर्ने हेतुले पठाइएको हो । डिस्कको बाहिरी भागमा यसलाई कसरी बजाउने र पृथ्वीको अवस्थिति कसरी पत्ता लगाउने भन्ने सांकेतिक निर्देशन पनि राखिएको छ ।

भोयजर-१ मा रहेको ‘गोल्डेन रेकर्ड’ ।

यो अन्तरिक्षयानमा तीनवटा रेडियोआइसोटोप थर्मोइलेक्ट्रिक जेनेरेटर छन् । तिनले नै यानलाई ऊर्जा उपलब्ध गराउँछन् । समयसँगै ऊर्जा उत्पादन घट्दै गएपछि नासाका इन्जिनियरहरूले विद्युत् बचाउन यानका विभिन्न उपकरण र प्रणाली क्रमशः बन्द गर्दै आएका छन् ।

भोयजर-१ सँगै अन्तरिक्षको बाहिरी क्षेत्रमा यात्रा गरिरहेका अन्य अन्तरिक्षयानमा यसको जुम्ल्याहा भोयजर-२ सँगै पायोनियर-१०, पायोनियर-११ र न्यु होराइजन्स पनि छन् । भोयजर-२ सन् १९७७ अगस्ट २० मा प्रक्षेपण गरिएको थियो । यसले बृहस्पति र शनिको अध्ययनपछि अरुण र वरुण ग्रहको नजिकबाट अवलोकन गरेको थियो । ती दुवै ग्रहको नजिक पुगेर अध्ययन गर्ने एक मात्र अन्तरिक्षयान भोयजर-२ हो । यो सन् २०१८ नोभेम्बरमा इन्टरस्टेलरमा प्रवेश गरेको थियो । नासाका अनुसार भोयजर-२ ले पनि सन् २०३५ नोभेम्बरमा एक प्रकाश-दिनको दूरी पार गर्नेछ ।

सन् १९७७ अप्रिल २७ मा क्यालिफोर्नियास्थित नासाको जेट प्रपल्सन ल्याबोरेटरीको स्पेस सिमुलेटर थर्मल भ्याकुम चेम्बरमा भोएजर यान । तस्बिर : नासा

सन् १९७२ मा प्रक्षेपण गरिएको पायोनियर-१० भने बृहस्पतिको नजिक पुगेर अध्ययन गर्ने पहिलो अन्तरिक्षयान थियो । पायोनियर-११ सन् १९७३ मा प्रक्षेपण गरिएको थियो । यसले बृहस्पति र शनिको अध्ययनपछि तारामण्डलतर्फ आफ्नो यात्रा जारी राखेको छ । पायोनियर-१० भने टौरस तारामण्डलको एल्डेबरान तारातर्फ अघि बढिरहेको छ । सन् २००६ मा प्रक्षेपण गरिएको न्यु होराइजन्सले सन् २०१५ मा प्लुटो र सन् २०१९ मा काइपर बेल्टमा रहेको खगोलीय पिण्ड ‘एरोकोथ’को अध्ययन गरेको थियो । यी अन्तरिक्षयानले सौर्यमण्डलबाट बाहिरिने फरक-फरक मार्ग समातेका छन् ।

यी पाँचमध्ये भोयजर-१, भोयजर-२ र न्यु होराइजन्ससँग नासाले आफ्नो डीप स्पेस नेटवर्कमार्फत सञ्चार कायम राखेको छ । तर, पायोनियर-१० र पायोनियर-११ सँगको सञ्चार भने दशकौंअघि टुटिसकेको छ । पायोनियर-११ बाट अन्तिम संकेत सन् १९९५ सेप्टेम्बरमा प्राप्त भएको थियो भने पायोनियर-१० को अन्तिम कमजोर संकेत सन् २००३ जनवरी २३ मा प्राप्त भएको थियो । दुवै यानले पृथ्वीबाट सम्पर्कविच्छेद भए पनि अन्तरिक्षमा आफ्नो यात्रा जारी राखेका छन् ।

भोयजर-१ एक प्रकाश-दिनको दूरीमा पुग्दा पृथ्वीबाट पठाइएको रेडियो सिग्नल त्यससम्म पुग्न नै २४ घण्टा लाग्नेछ । त्यसपछि यानबाट पठाइएको जवाफ पृथ्वीमा आइपुग्न थप २४ घण्टा लाग्छ। अर्थात्, एउटा सन्देश पठाएर त्यसको जवाफ पाउन करिब दुई दिन कुर्नुपर्नेछ । भोयजर परियोजनाकी व्यवस्थापक सुजेन डोडले भनेकी छन्, ‘भोयजरलाई अभिवादन गर्न सन्देश पठाएपछि जवाफ आउन दुई दिन पर्खनुपर्छ ।’ नासाका अनुसार एक प्रकाश-दिनको दूरी पार गर्दा यानको वातावरण वा यसभित्रका उपकरणमा भने कुनै परिवर्तन आउने छैन । यो उपलब्धि मुख्यतः मानव निर्मित वस्तुले पृथ्वीबाट तय गरेको दूरीको ऐतिहासिक कीर्तिमान हो ।

एक प्रकाश-दिनको दूरी पार गरे पनि भोयजर-१ को वैज्ञानिक यात्रा तत्काल रोकिने छैन । हाल यसमा दुईवटा वैज्ञानिक उपकरण मात्र सञ्चालनमा छन् । म्याग्नेटोमिटरले अन्तरिक्षमा रहेको चुम्बकीय क्षेत्र र प्लाज्मा वेभ उपकरणले प्लाज्मा तरंगको अध्ययन गरिरहेका छन् । यानको ऊर्जा क्रमशः घट्दै जानु यसको सञ्चालनको मुख्य चुनौती हो । नासाको अनुमानअनुसार हालको ऊर्जा र सञ्चार क्षमता कायम रहे सन् २०३६ तिर दुवै भोयजर अन्तरिक्षयान नासाको डीप स्पेस नेटवर्कको सञ्चार पहुँचबाहिर पुग्न सक्छन् ।

तर, वैज्ञानिक उपकरण बन्द भए पनि यी अन्तरिक्षयान अन्तरिक्षमा यात्रा गरिरहनेछन् । भोयजर-१ अबको करिब ४० हजार वर्षपछि उर्सा माइनर तारामण्डलमा रहेको एसी प्लस ७९ ३८८८ नामक ताराबाट करिब १.७ प्रकाश-वर्षको दूरीबाट गुज्रने अनुमान गरिएको छ । मानव निर्मित प्रविधिले पृथ्वीबाट कति टाढासम्म यात्रा गर्न सक्छ भन्ने देखाएको भोयजर-१ को यात्रा त्यसपछि पनि जारी रहनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
अन्तरिक्षको फोहोर : पृथ्वीको मौसम र वायुमण्डलमाथि नयाँ संकट

अन्तरिक्षको फोहोर : पृथ्वीको मौसम र वायुमण्डलमाथि नयाँ संकट

रातको सफा आकाशमा नियाल्दा कुनै उपग्रह तीव्र गतिमा अघि बढेको देख्न सकिन्छ। यी पृथ्वीको परिक्रमा गरिरहेका हजारौँ मानव निर्मित वस्तुहरूमध्येका एक हुन्। तर अन्तरिक्षमा घुमिरहेका सबै वस्तुहरू चालु अवस्...

#पृथ्वी #अन्तरिक्ष
Compare →
Bizshala
2d ago
एलन मस्कको स्पेसएक्सको ऐतिहासिक सफलता : अन्तरिक्षबाट फर्किएको स्टारसिप यान्त्रिक पञ्जाले समातियो

एलन मस्कको स्पेसएक्सको ऐतिहासिक सफलता : अन्तरिक्षबाट फर्किएको स्टारसिप यान्त्रिक पञ्जाले समातियो

काठमाडौं । स्पेसएक्सको स्टारसिप अन्तरिक्षयान पृथ्वीमा फर्किएपछि प्रक्षेपणस्थलमा जडान गरिएका विशाल यान्त्रिक...

#अन्तरिक्ष
Compare →
Onlinekhabar
2d ago
मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ …

#अन्तरिक्ष
Compare →

Related Stories

Technology
Build #2612