नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन बिक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले प्राधिकरणका नवनियुक्त अध्यक्षसँग भेट गरी बधाई तथा शुभकामना दिएको हाे ।
संघले कात्तिक २७ गते अध्यक्षको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेको जनाएको छ। भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका विषयमा छलफल भएको थियो।
छलफलमा बीमा सेवाको पहुँच विस्तार गर्ने, बीमितको हित संरक्षण गर्ने तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। त्यस्तै बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको संघले जनाएको छ। संघले नवनियुक्त अध्यक्षको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।