Trending
Prev Story
Next Story

रानीमहलदेखि कसेनीसम्म : बाढीले छाडेको प्रश्न

Ekantipur •
September 29, 2026 • 01:06 PM
3
3 reads 0 reactions

पूर्वसूचना हुँदाहुँदै बाढी र पहिरोको क्षति किन घटेन ? रानीमहलको कटानदेखि माडीफाँटको डुबान र कसेनीको पहिरोसम्म पुग्दा देखिएको जोखिमबारे रिपोर्टरको डायरी :

रानीमहलदेखि कसेनीसम्म : बाढीले छाडेको प्रश्न

पूर्वसूचना हुँदाहुँदै बाढी र पहिरोको क्षति किन घटेन ? रानीमहलको कटानदेखि माडीफाँटको डुबान र कसेनीको पहिरोसम्म पुग्दा देखिएको जोखिमबारे रिपोर्टरको डायरी :

पाल्पा — असोज ७ गतेदेखि नै मौसम पूर्वानुमान महाशाखाले ८, ९ र १० गतेको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको थियो। सोहीअनुसार केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिइएको थियो। त्यो सूचीमा लुम्बिनी प्रदेश, त्यसमाथि पाल्पा जिल्ला पनि थियो।

बिहान हुने कान्तिपुर र टेलिभिजन दुवैको बैठकमा बाढी पूर्वानुमानका विषयमा धेरै छलफल भइरहेका थिए। बुधबारदेखि वर्षा सुरु भएको थियो। बिहीबार धेरै ठूलो वर्षा भएन। तर सिमसिम पानी परिरहेकै थियो।

शुक्रबार बिहान कान्तिपुर टेलिभिजनबाट जो जहाँ, जे–जस्तो अवस्थामा छ, त्यहीँबाट पीटीसी दिने भन्ने भयो। पानी परिरहेकाले जिल्लाभरका राजमार्ग, ग्रामीण सडक, विद्युत्, खोला तथा नदीको अवस्थाबारे जानकारीसहितको पीटीसी रेकर्ड भयो। त्यसलगत्तै टेलिभिजनमा लाइभ कुराकानीसमेत भयो।

त्यस दिनभर पानी परिरह्यो। राति गुल्मी, पर्वत, बागलुङ, म्याग्दीतर्फ ठूलो पानी परेछ। शनिबार पनि पानी परिरह्यो। रानीमहल, रिडी र राम्दीमा कालीगण्डकी नदीको पानीको सतह बढेको जानकारी पाइयो।

त्यसैअनुसार टेलिभिजनको बैठकमा कुराकानी भयो। रानीमहलको अवस्था के रहेछ भनेर पुगेर आउने प्रयास गर्ने निधो भयो। टेलिभिजनमा जिल्ला ब्युरो प्रमुख प्रकाशकुमार शर्मा सरसँग कुराकानी भयो। स्थलगत रिपोर्टिङ गर्दा राम्रो हुन्छ भन्ने भएपछि जाने निधो गरें।

स्याङ्जा सटुकाका भाइहरू दीपक र कपिल पाण्डेयसँग रानीमहल पुग्दा पानीको सतह बढेर पनि केही घटिसकेको थियो। तर होटल सञ्चालक अर्जुन पाण्डेयले राति १ बजेदेखि नसुतेको जानकारी गराए।

‘हामी राति १ बजेदेखि कोही पनि सुतेका छैनौँ,’ उनले भने, ‘सबै होटल तथा रिसोर्ट सञ्चालक सामान सुरक्षित गर्नेतर्फ नै लाग्यौँ।’

हरेक वर्ष रानीमहलमा माथिल्लो तटीय क्षेत्रमा ठूलो पानी पर्दा कालीगण्डकी नदीले डुबान गराउँदै आएको छ। यो अहिलेको मात्र समस्या होइन, वर्षौंदेखिको हो। तर पनि यहाँ होटल तथा रिसोर्ट सञ्चालन भइरहेका छन्।

केही घर डाँडामा रहेकाले सुरक्षित नै छन्। तर अधिकांश संरचना कालीगण्डकीको जलसतह आइपुग्ने गरी सञ्चालन भएका छन्। तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको सीमामा पर्ने यस क्षेत्रमा ठूलो पानी पर्नासाथ खहरे (बराङ्दी) खोलाको पानी रोकिएर डुबान हुने गर्छ। यही स्थानमा खोलाले धार परिवर्तन गरेको छ। पश्चिमतर्फको धार पूर्व–उत्तर हुँदै बगेको छ। तटबन्धको काम भएको छैन।

त्यसैले हरेक वर्ष जोखिम रहने गरेको स्थानीय होटल व्यवसायी शंकर बस्यालले सुनाए।

‘यहाँ तटबन्ध नगरुन्जेलसम्म यस्तै अवस्था रहन्छ,’ उनले भने, ‘हामीले तटबन्धको काम हुन्छ भनेर सुनेको ८ वर्ष जति भयो। अहिलेसम्म कुनै पनि पालिकाले काम सुरु गरेका छैनन्। संघीय, प्रदेशबाट पनि बजेट परेर तटबन्धको काम हुन्छ भन्ने सुनेको वर्षौँ भइसक्यो।’

कालीगण्डकीको तटमै रानीमहल छ। रानीमहल पनि जोखिममा छ। यसको जगमा भित्री कटान बढेको छ। तर यसबारे अध्ययन भएको पाँच वर्ष बितिसक्दा पनि नियन्त्रणका लागि काम भएको छैन।

रानीमहल दरबारको पश्चिम–उत्तर भागमा पहिरो खस्ने र जग कटान भइरहेकाले भत्किने अवस्थामा पुग्न सक्ने अध्ययनले देखाएको थियो। जिल्ला प्रशासन कार्यालय पाल्पाको सहयोगमा काठमाडौंबाट आएको गोताखोर टोलीले पाँच वर्षअघि नै जग कटानको परीक्षण गरेको थियो। परीक्षणबाट रानीमहल जोखिममा रहेको पुष्टि भएको थियो। १ सय २८ वर्षको अवधिमा रानीमहलको जग ३ फिटदेखि ७ फिटसम्म कटान भएको निष्कर्ष निकालिएको थियो।

त्यही विषयमा कुराकानी गर्दै रानीमहलदेखि स्याङ्जा सटुका जाने झोलुङ्गे पुलतर्फ गयौँ। पक्की पुल र झोलुङ्गे पुल सुरक्षित नै थिए। तर रानीमहल परिसरको बगर पूरै कालीगण्डकीको उर्लंदो भेलले ढाकेको थियो। समुद्रमा आएको छालजसरी हामी उभिएकै साइडमा पानी आइरहेको थियो।

सम्म परेको स्थान भएकाले हामीलाई तत्काल जोखिम थिएन। त्यहीँ उभिएर टेलिभिजनका लागि पीटीसी दिएँ। सँगै गएका सटुकाका भाइहरू कपिल र दीपकले सहयोग गरे। उनीहरूसँगै वरपर अवलोकन गर्‍यौँ। बेलुकी अबेर भइसकेको थियो। पानी पनि परिरहेको थियो। फर्कियौँ।

तर आइतबार बिहान ६ नबज्दै फोन आयो—‘लौ, रानीमहलको पूरै क्षेत्र नदीले ढाक्यो।’

फोटो पनि आयो। हेर्दा शनिबार आँखैले देखेको ठूलो बाढीभन्दा आइतबार बिहानको बाढी अझ विशाल थियो। बगर, रिसोर्टदेखि सबै क्षेत्र जलमग्न । डिभिजन वन र नगरपालिकाले बनाएको पार्कसमेत डुबाएर माथिल्लो भागसम्म पानी पुगेको थियो।

रानीमहल नै जोखिममा पर्ने हो कि भन्ने अवस्था देखियो।

त्यसपछि एउटा प्रश्न मनमा आयो—यहाँ जोखिम कसले निम्त्यायो?

बगरवरपर निजी जग्गा रहेको पुष्टि हुन्छ। तर यहाँ घरटहरा बनाउन दिने वा नदिने भन्नेबारे स्थानीय तहले सोच्नुपर्ने होइन र? अहिले क्षति हुँदा बनाउनेहरू स्वयं जिम्मेवार बन्नुपर्ने अवस्था हो कि नियमन गर्ने निकाय पनि जिम्मेवार हुनुपर्ने हो?

अर्कोतर्फ रिडी र मिर्मीबाट पनि फोन आयो, ‘लौ, बाढीले बर्बादै बनायो । मिर्मीको पुरानो ट्रस पुल पनि बगायो। स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने उक्त पुल पछिल्लो समयमा कालीगण्डकी करिडोरको पहुँचमार्गसमेत बनेको थियो।

मिर्मीबाट प्राप्त जानकारीका आधारमा बिहान कालीगण्डकी नदीले पुर्‍याएको क्षतिको विवरण टेलिभिजनमा मणि सर र अनलाइनमा उपेन्द्र सरलाई जानकारी गराएँ।

समाचार पठाइसक्दा माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीको फोन आयो। कल ब्याक गरें। चिदीले भने, ‘लौ माधवजी, रुप्सेमा एक जना र कसेनी भैसकट्टामा तीन जनालाई पहिरोले पुरेछ। माडीफाँटमा पनि पानीले डुबान परेछ।’

यति जानकारी पाएपछि कसेनी भैसकट्टा र माडीफाँट दुवै ठाउँ पुग्न सकिने देखियो।

बाइक निकालें। मोबाइल र बुम बोकेर स्थलगत रिपोर्टिङमा लागें।

पानी परिरहेको थियो। जोखिम मोल्दै पुग्ने योजना बन्यो। चार दिनदेखिको वर्षासँगै शनिबार रातिको भीषण वर्षाले सिद्धार्थ राजमार्गको बतुङदेखि नै पहिरो खसेका थिए। एक साइडबाट मोटरसाइकल हिँडाउन मिलेकाले बिस्तारै अघि बढें।

टिन्टीआँप र दमकडा क्षेत्रमा स्थानीय भेल पसेका स्थान सफा गर्दै थिए। अम्लिहान पुग्दा माडीफाँट पूरै डुबानमा परेको देखियो। किसानहरू चिन्तित थिए। वर्षभरि खाने अन्न डुबाएको थियो।

माथागढी, रम्भा, पूर्वखोला, बगनासकाली र तानसेन नगरपालिकाका केही भागको पानी माडीमा जान्छ। तिनाउ खोलामा पानी नअटेर डुबान परेको थियो।

पानीको बहाव यति ठूलो थियो कि खोलाबाट होइन, खेतबाटै बाढी बगेको थियो। कसेनी जाने बाटोमा समेत बाढी बगेको थियो। जीप तथा ठूला सवारीसाधन वारपार भइरहेका थिए। मोटरसाइकल भने मुस्किलले पार गरिरहेका थिए।

माडीफाँटको डुबानबारे रिपोर्टिङ गरिरहेको थिएँ। काम सकिएपछि यसो टहल्दै थिएँ। त्यत्तिकैमा पत्रकार विजय बौडेल भाइ भेटिए।

विजयलाई अघि लगाएर म पछिपछि आउँछु भन्दै केही समय बाढीको अवस्था आँकलन गर्दै थिएँ। बाढी खोलाबाट नभई खेतबाट सडक पार गर्दै बगेको थियो। विजय बाइक लिएर अघि बढिसकेका रहेछन्।

कसेनीको भैसकट्टामा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको खबर आइसकेको थियो। पहिरोको तस्बिर र भिडियोका लागि त्यही बाढी पार गरेर जानुपर्ने थियो।

हेर्दाहेर्दै विजय र उनको मोटरसाइकललाई त्यही बाढीले ढलाइछाड्यो।

बगाएर खेतमा पुर्‍याउनै लाग्दा स्थानीय युवाले झ्याप्पै समातेर जोगाए। मोटरसाइकल लड्यो। घुमिरहेको टायरमा खुट्टा अड्किएछ।

‘धन्न ठूलो चोटपटक लागेनछ,’ विजय भन्दै थिए, ‘खुट्टामा बाहिरी रूपमा सामान्य चोट लागेको रहेछ। भित्र मांसपेशीमा एकदमै दुखेको छ।’

स्थानीयको सहयोग नपाएको भए उनलाई बाढीले बगाउने रहेछ। उनको बाइक उठाएर डोर्‍याउँदै तीन–चार जना युवाले पार गराए।

मलाई पनि दमकडाका केही युवा तथा अग्रजहरूले ‘हामी साथमै छौँ’ भन्दै बिस्तारै बाढी पार गर्न आग्रह गरे।

‘हामी छौँ, पछिपछि आउनुस्,’ भनेपछि बिस्तारै अघि बढें।

ठूलो भेल भएको स्थानमा बाढीले बाइक धकेल्यो। मलाई थाम्न समस्या भयो। भनभनी रिङ्गाएजस्तो भयो। म ढल्नै लागेको देखेपछि चार जनाले मेरो मोटरसाइकल समाएर बचाए। मैले खुट्टाले भुइँमा टेक्न भ्याएँ। मोटरसाइकल चार जनाले समाइदिए। लड्नबाट जोगिएँ।

माडीफाँटको भेलबाट जोगिएर पहिरोले घर पुरेको स्थलसम्म पुगियो। विजय निकै सकसले पुगे।

त्यहाँ पुग्दा धेरै ठूलो पहिरो गएको रहेछ। करिब ५ सय मिटर माथिबाट पहिरो खसेको थियो। घरको नामनिसाना केही थिएन। उद्धारका लागि अन्य कुनै उपाय थिएन। मानवश्रमबाट सम्भव हुने अवस्था नै थिएन।

डोजर पुग्दै थियो। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तथा जनप्रतिनिधिहरू पनि पुगिसकेका थिए। डोजर आफ्नै लागि बाटो बनाउँदै घटनास्थलमा पुग्यो र पहिरो खोतल्न थाल्यो।

तीन जना घटनास्थलमै मृत फेला परे। दुई बालिका र एक ज्येष्ठ नागरिक पहिरोमा पुरिएका थिए।

त्यसपछि तानसेन फर्किएँ। केही समय आराम गर्ने फुर्सदसमेत भएन। डेस्कमा ढिला होला भनेर नियमित काममा फर्किएँ।

समाचार प्रकाशित र प्रसारण भएपछि रानीमहल, माडीफाँट र कसेनीका ती सबै दुःख केहीबेरका लागि बिर्सिएँ।

तर ती दृश्यले एउटा प्रश्न भने छाडिरहे—बाढी र पहिरोको जोखिम मात्र थियो कि हामी आफैंले जोखिम निम्त्याउँदै पनि आएका छौँ?

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
59m ago
बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा बाढीले पर्यटकीय पूर्वाधारमा क्षति पुर्‍याएपछि रानीमहलमा पर्यटकको आगमन घटेको छ । नदी कटानको जोखिम बढे पनि परिसरको पुनःस्थापना र दरबार संरक्...

#बाढी #रानीमहल
Compare →
Onlinekhabar
2d ago
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

२९ कात्तिक, काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै …

#बाढी
Compare →
Nagarik News
2d ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612