मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय संकटबीच विश्व सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विश्व इतिहास अहिले संवेदनशील मोडमा उभिएको र भू-राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन् । रसियाको मस्कोमा आयोजित 'राष्ट्रहरूको स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय आन्दोलन'को साधारण सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
सत्तासीन पार्टी युनाइटेड रसियाद्वारा आयोजित कार्यक्रममा आयोजक दलका संयोजक भी याकुसेभले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० प्रतिनिधिहरूको सहभागिता छ ।
कार्यक्रममा दाहालले जबसम्म कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकताहरू तय गर्न स्वतन्त्र हुँदैन, तबसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने बताएका छन् । यस्तै कुनै पनि राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने मौलिक अधिकार छ । सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्थाको विकास गर्नुपर्ने उनले बताएका छन् ।