काव्यनगरी हेमजामा मंसिर पहिलो साता दोस्रो ‘हेमजा साहित्य महोत्सव’ हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा–२५ हेमजामा आगामी मंसिर ५ र ६ गते हेमजा साहित्य महोत्सवको दोस्रो संस्करण हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवर्धनसँगै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले बताए । दुई दिने साहित्यक महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन र पुस्तकमाथि परिचर्चालगायतका कार्यक्रम हुने उनले जानकारी दिए । ‘साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई समेत महोत्सवमा जोड दिइनेछ’–उनले भने ।
महोत्सवको पहिलो दिन मङ्सिर ५ गते उद्घाटन शत्र चल्नेछ । उद्घाटन शत्र सकिएलगत्तै ‘कविता ः अनुभूति र अभिव्यक्ति’ कार्यक्रमबाट साहित्यक महोत्सवको रौनकता शुरु हुने आयोजकले जनाएको छ । त्यसपछि ‘काव्यनगरी हेमजा ः साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली ः लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा साहित्यिक मन्थन हुने महासचिव कोविदशरण उपाध्यायले जानकारी दिए ।
दोस्रो दिन ‘मढीमा सिर्जना ः काव्यनगरी दर्शन’ कार्यक्रमबाट साहित्य महोत्सवले निरन्तरता पाउनेछ । त्यसपछि कविता हुँदै आख्यान र गैरआख्यानसम्मको साहित्यिक विमर्श हुने महासचिव उपाध्यायले जानकारी दिए । सो दिन मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन र गजल वाचन पनि हुने उनले बताए । कार्यक्रममा रामजीप्रसाद आचार्यको चोटिलो मुक्तक, काव्यिक व्यक्तित्व शिव त्रिपाठीको कविता, कल्याण पन्तको लघुकथा र आवाज शर्माको गजल वाचनमा दर्शक रमाउन पाउने उनको भनाई छ ।
दोस्रो दिन अपराह्न ३ बजे महोत्सव समापन गर्ने तालिका रहेको पनि आयोजकले जनाएको छ ।
यसैबीच, साहित्यिक महोत्सवको उद्घाटन शत्रमा कवि एवम् भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । हेमजामा जन्मिएर साहित्य र भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका उपाध्यायलाई उनको योगदानको उच्च कदर गर्दै अभिनन्दन ग्रन्थ अर्पण गर्न लागिएको उनले प्रष्ट्याए । यसअघि पहिलो संस्करणमा पनि उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गरिएको थियो ।
पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले साहित्य महोत्सवले काव्य नगरी हेमजासहित समग्र पोखरालाई अन्र्तराष्ट्रिय जगतमा स्थापित गर्न सघाउने विस्वास व्यक्त गरे । उनले भने,‘हेमजा साहित्यको क्षेत्रमा स्थापित छ । अब महोत्सवको माध्यमबाट यस क्षेत्रको पहिचान राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न मद्धत गर्नेछ ।’
पहिलो संस्करणमा ४१ जिल्लाका स्रष्टाको सहभागिता रहेकोमा यस वर्ष सोभन्दा बढी स्रष्टाहरुको सहभागिता रहने अपेक्षा आयोजकको छ । सोहि प्रथम साहित्य महोत्सवको अवसर पारेर हेमजालाई ‘काव्यनगरी’ घोषणा गरिएको थियो ।
प्रकाशित: ३० कार्तिक २०८३ १६:५६ सोमबार