Trending
Prev Story
Next Story

ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

Ekantipur •
November 16, 2026 • 10:32 AM
3
3 reads 0 reactions

न्यूयोर्कलाई केन्द्र बनाएर ‘इन्डिपेन्डेन्ट सिनेमा’ लाई नयाँ उचाइ दिने निर्माताद्वय क्रिस्टिन भाचोन र पामेला कोफ्लरलाई संयुक्त रूपमा प्रतिष्ठित ‘इर्भिङ जी. थलबर्ग मेमोरियल अवार्ड’ बाट सम्मानित गरियो ।

ग्लेन क्लोज, रिड्ले स्कट र फ्लोयड नोर्मान गभर्नर्स अवार्ड्सबाट सम्मानित

न्यूयोर्कलाई केन्द्र बनाएर ‘इन्डिपेन्डेन्ट सिनेमा’ लाई नयाँ उचाइ दिने निर्माताद्वय क्रिस्टिन भाचोन र पामेला कोफ्लरलाई संयुक्त रूपमा प्रतिष्ठित ‘इर्भिङ जी. थलबर्ग मेमोरियल अवार्ड’ बाट सम्मानित गरियो ।

लस एन्जलस — विश्व चलचित्र जगत्को सबैभन्दा प्रतिष्ठित मानिने ‘एकेडेमी अवार्ड्स’ (ओस्कर) को प्रतिस्पर्धामा आठ पटकसम्म मनोनयनमा परेर पनि रित्तो हात फर्कनुपरेकी अभिनेत्री ग्लेन क्लोजका लागि अन्ततः त्यो क्षण आइपुग्यो, जसको प्रतीक्षा उनले वर्षौंदेखि गरिरहेकी थिइन् ।

आइतबार साँझ लस एन्जलसस्थित ‘रे डल्बी बलरुम’ मा आयोजित १८ औं वार्षिक ‘गभर्नर्स अवार्ड्स’ को भव्य समारोहमा ७९ वर्षीया क्लोजलाई जब जोन माल्कोभिचले ‘अनरेरी ओस्कर’ (मानार्थ ओस्कर) हस्तान्तरण गरे, उनले ट्रफी समात्नुअघि केही बेर दोधारमा परिन्, लामो सास फेरिन् । अनि केही क्षण अकमक्क भएर ओस्कर ट्रफी नियालिन् । उनको अनुहारमा खुसी र भावुकताको मिश्रित भाव प्रष्ट छचल्किन्थ्यो ।

‘एक आउटसाइडरका रूपमा मैले कहिल्यै ओस्कर जितौंला वा गुमाउँला भनेर चिन्ता गरिनँ,’ सभागृहमा उपस्थित पाहुनाहरूको लामो र गडगडाहट तालीपछि क्लोजले भनिन्, ‘केही वर्षहरूमा मैले जित्ने सम्भावना देखेकी त थिएँ, तर मेरो लागि सधैं ठूलो सम्मान भनेकै यो क्षेत्र र यो माहोलमा रहन पाउनुमा थियो । आज जसका कामले मलाई निरन्तर प्रेरणा र चुनौती दिए, तिनकै बीचमा सम्मानित हुन पाउनु मेरो जीवनकै सबैभन्दा ठूलो गौरवको क्षण हो ।’

कुनै पनि प्रतिस्पर्धात्मक ओस्कर नजिती सबैभन्दा बढी (आठ पटक) मनोनयनमा पर्ने रेकर्ड (पिटर ओटुलसँगै) क्लोजको नाममा छ । तर, आइतबारको रात भने उनको त्यो लामो अन्तरालको औपचारिक अन्त्य बनेको थियो ।

रिड्ले स्कटदेखि फ्लोयड नोर्मानसम्म सम्मानित

गभर्नर्स अवार्ड्समा क्लोजका अलावा हलिउडका हस्ती निर्देशक रिड्ले स्कट र डिज्नीका एनिमेटर फ्लोयड नोर्मानलाई पनि मानार्थ ओस्कर प्रदान गरियो । त्यस्तै, न्यूयोर्कलाई केन्द्र बनाएर ‘इन्डिपेन्डेन्ट सिनेमा’ लाई नयाँ उचाइ दिने निर्माताद्वय क्रिस्टिन भाचोन र पामेला कोफ्लरलाई संयुक्त रूपमा प्रतिष्ठित ‘इर्भिङ जी. थलबर्ग मेमोरियल अवार्ड’ बाट सम्मानित गरियो ।

८८ वर्षीय दिग्गज निर्देशक रिड्ले स्कट अघिल्लो साताको ‘सामान्य शल्यक्रिया’का कारण समारोहमा स्वयं उपस्थित हुन सकेनन् । तर, उनले भिडियो सन्देशमार्फत आफ्नो मन्तव्य व्यक्त गरे । ‘देलमा एन्ड लुइस’, ‘ग्ल्याडियटर’ र ‘ब्ल्याक हक डाउन’ जस्ता सर्वकालिन उत्कृष्ट फिल्मका निर्देशक स्कटले उक्त सन्देशमा आफ्ना दिवंगत भाइ टोनी स्कटलाई सम्झिँदै भने, ‘म यो सम्मान मेरा भाइ टोनीका लागि पनि स्वीकार गर्दैछु, जसले पक्कै पनि यो मान्यता पाउनुपर्थ्यो ।’

समारोहका प्रस्तोता तथा अभिनेता म्याट डेमनले स्कटसँगको काम गर्दाको स्मरण सेयर गरे । ‘द मार्टियन’ फिल्मको प्रस्ताव आउँदा ‘इन्टरस्टेलर’ पछि पुनः उस्तै भूमिका दोहोर्‍याउन नचाहेको प्रसंग निकाल्दै डेमनले भने, ‘रिड्लेले मेरो कुरा सुनिसकेपछि पाँच शब्दमा ‘नो वन गिभ्स अ स— भने । उनको त्यो स्पष्ट र सोझो भनाइले मेरो जीवन नै बदलियो । त्यो एक सिद्ध हस्त निर्देशकको व्यावहारिक ज्ञान थियो— धेरै नसोच, सोझै भीरबाट छलाङ मार ।’

त्यस्तै, ९१ वर्षीय एनिमेटर फ्लोएड नोर्मानले सन् १९५६ मा डिज्नी स्टुडियोमा प्रवेश गर्दाको अनुभव सुनाए । डिज्नीका ‘स्लिपिङ ब्युटी’, ‘द जंगल बुक’ र पिक्सारका ‘टोय स्टोरी २’ जस्ता चर्चित फिल्ममा काम गरिसकेका नोर्मान स्टुडियोका पहिलो अफ्रिकन–अमेरिकन एनिमेटर हुन् । ओस्कर ट्रफी थाप्दै उनले भने, ‘म डिज्नीको ढोकाबाट भित्र छिर्दा वन्डरल्यान्डमा प्रवेश गरेकी एलिसजस्तै थिएँ । आफ्ना अग्रजहरू र मेरा सबैभन्दा ठूला गुरु वाल्ट डिज्नीप्रति म सधैं ऋणी रहनेछु ।’

सन् २००९ देखि एकेडेमी अवार्ड्सको मुख्य टेलिभिजन प्रसारणबाट अलग गरी आयोजना गर्न थालिएको गभर्नर्स अवार्ड्समा विजेता र प्रस्तोताहरूले समयको सीमाबिना खुला रूपमा आफ्ना धारणा राख्ने गर्छन् ।

यो कार्यक्रम केवल मानार्थ सम्मानमा मात्र सीमित रहँदैन । यसलाई आगामी वर्षको ओस्कर दौडको पहिलो ‘अनौपचारिक अभियान’ (क्याम्पेन) का रूपमा पनि हेरिन्छ । समारोहमा टम क्रुज, टिमोथी सालामे, काइली जेनर, जुलियन मुर र नथान फिल्डर जस्ता हलिउडका चर्चित कलाकार तथा निर्देशकहरूको बाक्लो उपस्थिति थियो ।

फिल्म ‘ड्युन’ को तेस्रो भागको तयारीमा रहेका सालामे र एलिजाबेथ होम्सको डकुमेन्ट्री फिल्म ‘यु क्यान सी एभ्रिथिङ’ का निर्देशक फिल्डर कार्यक्रमका मुख्य आकर्षण बनेका थिए ।

व्यावसायिक लाभभन्दा माथि उठेर एलजीबीटीक्यु (पारालैंगिक) र स्वतन्त्र आवाजहरूलाई फिल्ममार्फत प्रस्तुत गर्दै आएका निर्माताद्वय भाचोन र कोफ्लरलाई बधाई दिंदै अभिनेत्री जुलियन मुरले भनिन्, ‘उनीहरू व्यापारबाट कहिल्यै निर्देशित भएनन्, उनीहरू त केवल मौलिक र नयाँ आवाजहरूको खोजीमा रहे ।’

प्रतिस्पर्धात्मक ओस्करको मुख्य समारोहअघि आयोजना हुने यो गभर्नर्स अवार्ड्सले यस पटक वर्षौंदेखि ओस्करबाट ओझेलमा परेका तर चलचित्र जगत्मा अतुलनीय योगदान दिएका स्रष्टालाई भव्य रूपमा सम्मान गर्दै कलाको सच्चा उत्सव मनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
यी हुन् ग्लेन म्याक्सवेलका पाँच उत्कृष्ट प्रदर्शन

यी हुन् ग्लेन म्याक्सवेलका पाँच उत्कृष्ट प्रदर्शन

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिए । आक्रामक ब्याटिङ र तीव्र रन गति बनाउने क्षमताका लागि परिचित म्याक्सवेलले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा खेलेका थिए …

#ग्लेन
Compare →
Nagarik News
1w ago
ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

#ग्लेन
Compare →
Hamro Patro News
1w ago
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् ।...

#ग्लेन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612