Trending
Prev Story
Next Story

विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

Ekantipur •
November 16, 2026 • 06:02 AM
4
4 reads 0 reactions

पर्यटन मन्त्री पौडेलले सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सुधार देखिएको बताए।

विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

पर्यटन मन्त्री पौडेलले सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सुधार देखिएको बताए।

काठमाडौं — प्राकृतिक विपत्ति र सामाजिक द्वन्द्वका कारण प्रभावित नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको बाटोमा अघि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाबी गरेका छन्।

उनले सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्मको सात महिनामा ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सुधार देखिएको बताएका हुन्।

मन्त्री पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको सोही अवधिमा ६ लाख ४५ हजार ५५८ पर्यटक नेपाल आएका थिए। यस वर्ष पर्यटक आगमन ३४ हजार ६४६ अर्थात् ५.३७ प्रतिशतले बढेको हो।

मासिक आगमनमा मेमा १८.५ प्रतिशत, जुनमा १९.५ प्रतिशत र सेप्टेम्बरमा १२.१ प्रतिशत वृद्धि भएको मन्त्रीले उल्लेख गरेका छन्। अक्टोबरमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन्। यो सन् २०२६ को अहिलेसम्मकै उच्च मासिक आगमन हो। गत वर्षको अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक आएका थिए।

मन्त्री पौडेलले विपद्पछिको पर्यटन पुनरुत्थानलाई सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय साझेदारको सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरेका छन्।

गत अगस्टमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो। विशेषगरी ट्रेकिङ र पर्वतारोहणको मुख्य सिजन प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सुरक्षाबारे नकारात्मक सन्देश प्रवाह भएको थियो। त्यसलाई चिर्न सरकारले ‘नेपाल कलिङ’, ‘आई एम इन नेपाल’ र ‘नेपाल इज सेफ’ जस्ता अभियानमार्फत अन्तर्राष्ट्रिय प्रचारलाई प्राथमिकता दिएको मन्त्रीले बताएका छन्।

उनका अनुसार नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश सामाजिक सञ्जाल, सर्च इन्जिन तथा कृत्रिम बौद्धिकता (एआई) प्रणालीमार्फत विश्वभर पुर्‍याउने प्रयास गरिएको छ। टिकटकसहितका अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँग संवाद र सहकार्य अघि बढाइएको छ। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका मञ्चमा मन्त्री स्वयं उपस्थित हुने तथा प्रतिनिधि पठाउने काम पनि गरिएको उनले उल्लेख गरेका छन्।

यस अभियानमा विदेशी पर्यटक, हिमाल आरोही, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक सञ्जालका सामग्री सिर्जनाकर्ता, नेपाली कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सहयोग महत्त्वपूर्ण रहेको उनको भनाइ छ। पर्यटन व्यवसायी, होटल सञ्चालक, ट्रेकिङ तथा पर्वतारोहण व्यवसायी, टुर अपरेटर, गाइड र हवाई सेवा प्रदायकको सहकार्यले पुनरुत्थानमा योगदान गरेको उनले बताएका छन्।

पर्यटन प्रवर्द्धनसँगै नेपालको नागरिक उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय छवि सुधारलाई पनि सरकारले प्राथमिकतामा राखेको मन्त्री पौडेलले बताएका छन्। सन् २०१२ देखि युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीमा रहँदै आएको नेपालको अवस्थालाई अन्त्य गर्न नीतिगत, संरचनागत र कूटनीतिक पहल अघि बढाइएको उनको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक निकायमा विभाजन गर्ने उद्देश्यसहित दुई छुट्टाछुट्टै विधेयक संसद्मा दर्ता गरिएको छ। प्राधिकरणको नियमनकारी र सेवा सञ्चालनसम्बन्धी जिम्मेवारी अलग गर्ने यो पहललाई नेपालको हवाई सुरक्षा सुधारको महत्त्वपूर्ण संरचनागत कदमका रूपमा हेरिएको छ।

त्यस्तै, हवाई दुर्घटनाको अनुसन्धानका लागि छुट्टै स्वतन्त्र निकाय गठन गर्ने विधेयकको मस्यौदा तयार भएको र संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको उनले बताएका छन्। ईयूको मार्गदर्शनअनुसार सुधारात्मक कार्ययोजना (करेक्टिभ एक्सन प्लान) तयार गरी ब्रसेल्समा प्रस्तुत गरिएको र त्यस क्रममा सकारात्मक सुझाव तथा आश्वासन प्राप्त भएको पनि मन्त्रीको दाबी छ।

मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनलाई हवाई सम्पर्क र वास्तविक बजारको सम्भावनासँग जोडेर अघि बढाइएको बताएका छन्। अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारपछि भारतबाट मधेस हुँदै नेपालका धार्मिक तथा सांस्कृतिक गन्तव्यमा पर्यटक आवागमन सहज बनाउन निजी क्षेत्रसँग छलफल र समन्वय भइरहेको उनको भनाइ छ।

यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडानलाई निरन्तरता दिँदै दिगो सञ्चालनतर्फ अघि बढाउन संयुक्त अरब इमिरेट्स सरकार, नेपालस्थित यूएईका राजदूत, फ्लाई दुबईका क्षेत्रीय निर्देशक तथा नेपालका जीएसए प्रतिनिधिसँग सहकार्य गरिएको उनले उल्लेख गरेका छन्। पोखरासहित देशको निजी क्षेत्रको समर्थन पनि यसका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

मन्त्री पौडेलले पर्यटन क्षेत्रको पुनरुत्थानलाई अन्तिम उपलब्धि नभई थप सुधारका लागि प्रेरणा भएको बताएका छन्। हवाई सुरक्षा, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, पर्यटकीय पूर्वाधार, गन्तव्य विविधीकरण, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय प्रचारमा अझै धेरै काम गर्न बाँकी रहेको उनले स्वीकार गरेका छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
43m ago
विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक पर्यटन मन्त्री पौडेलले सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गर...

#पर्यटन #पर्यटक #विपद्पछि
Compare →
Nagarik News
5h ago
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।

#पर्यटक
Compare →
Onlinekhabar
17h ago
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

#पर्यटक
Compare →
Bizshala
18h ago
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको...

#पर्यटक
Compare →

Related Stories

Politics & Governance
Build #2612