उनले सनातन धर्मले कुनै जातलाई ठूलो वा सानो नमान्ने उल्लेख गर्दै धर्म र परम्पराका नाममा जातीय विभेद स्वीकार्य नहुने बताएकी छन्।
राजविराज — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ घाटमा जातीय आधारमा विभेद गर्नेहरूमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमा लेख्दै ओलीले छठ पर्वका अवसरमा एउटै सार्वजनिक पोखरीमा समेत जातका आधारमा छुट्टाछुट्टै घाट र पण्डाल निर्माण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउॅंदै कारबाहीको माग गरेकी हुन्। उनले सनातन धर्मले कुनै जातलाई ठूलो वा सानो नमान्ने उल्लेख गर्दै धर्म र परम्पराका नाममा जातीय विभेद स्वीकार्य नहुने बताएकी छन्।
छठ पर्व आस्था, श्रद्धा, समर्पण र समानताको पर्व भएको उल्लेख गर्दै उनले सूर्य सबैका र छठी माता सबैकी साझा भएको बताएकी छन्। एउटै पोखरीमा सूर्यलाई अर्घ्य दिँदासमेत जातीय आधारमा छुट्टाछुट्टै घाट र पण्डाल बनाउनु लज्जास्पद तथा अमानवीय व्यवहार भएको उनको भनाइ छ।
ओलीले जातीय आधारमा छठ घाटमा विभेद गर्ने, सार्वजनिक जलाशयमा समान धार्मिक सहभागिताबाट कसैलाई वञ्चित गर्ने र यस्तो व्यवहारलाई संरक्षण गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन्।
उनले यस विषयमा सम्बन्धित स्थानीय तह, प्रशासन र प्रहरीको तत्काल ध्यानाकर्षण गराउँदै विभेद अन्त्यका लागि आवश्यक कदम चाल्न आग्रह गरेकी छन्। ‘विभेद हाम्रो शास्त्रले होइन, व्यक्तिको मानसिकताले हुन्छ,’ ओलीले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्।
विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।