Trending
Prev Story
Next Story

मानवसिर्जित ध्वनि प्रदूषणले वन्यजन्तुको मृत्युदर १३८ प्रतिशतसम्म बढ्यो

Onlinekhabar •
November 16, 2026 • 05:00 AM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । मानिसले दैनिक जीवनमा सामान्य ठान्ने सवारीसाधनको आवाज, सहरको कोलाहल र औद्योगिक गतिविधिबाट निस्कने ध्वनिले वन्यजन्तुको जीवनमा गम्भीर असर पारिरहेको एक अध्ययनले देखाएको छ । मानवसिर्जित ध्वनि प्रदूषणका कारण अध्ययनमा समेटिएका जनावरको …

मानवसिर्जित ध्वनि प्रदूषणले वन्यजन्तुको मृत्युदर १३८ प्रतिशतसम्म बढ्यो

३० कात्तिक, काठमाडौं । मानिसले दैनिक जीवनमा सामान्य ठान्ने सवारीसाधनको आवाज, सहरको कोलाहल र औद्योगिक गतिविधिबाट निस्कने ध्वनिले वन्यजन्तुको जीवनमा गम्भीर असर पारिरहेको एक अध्ययनले देखाएको छ । मानवसिर्जित ध्वनि प्रदूषणका कारण अध्ययनमा समेटिएका जनावरको मृत्युदर १३८ प्रतिशतसम्म बढ्न सक्ने अनुसन्धानले देखाएको हो ।

प्रतिष्ठित वैज्ञानिक जर्नल साइन्समा ५ नोभेम्बर २०२६ मा प्रकाशित अध्ययन मा ६ महादेशका १७७ जलचर तथा स्थलचर प्रजातिमाथि गरिएका २१४ वटा प्रयोगात्मक अध्ययनको विश्लेषण गरिएको थियो । बेलायतको क्विन्स युनिभर्सिटी बेलफास्टका अनुसन्धानकर्ता हान्सयोर्ग कुन्क र रुभेन स्मिटले गरेको यो अध्ययन मानवसिर्जित ध्वनि प्रदूषणले विभिन्न प्रजाति र पारिस्थितिक प्रणालीमा पार्ने प्रभावबारे गरिएको व्यापक विश्लेषणमध्ये एक हो ।

अध्ययनले ध्वनि प्रदूषणले विश्लेषणमा समेटिएका ८० प्रतिशत प्रजातिमा कम्तीमा एउटा शारीरिक, विकासात्मक वा व्यवहारगत पक्षमा परिवर्तन ल्याएको देखाएको छ । यसले जनावरको स्वास्थ्य र बाँच्ने क्षमतामा मात्र नभई सिकारी र सिकारबीचको सम्बन्धमा समेत असर पारिरहेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ध्वनि प्रदूषणका कारण जनावरको मृत्युदर १३८ प्रतिशतसम्म बढेको पाइएको छ । त्यस्तै, प्रत्यक्ष मृत्यु र बाँच्ने क्षमतामा पर्ने अन्य असरसमेत जोड्दा जनावरको समग्र जीवनक्षमता २७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।

सिकारीले बढी मेहनत गर्दा पनि सिकार कम

ध्वनि प्रदूषणले जनावरको आहार खोज्ने र सिकार गर्ने प्रक्रियामा समेत असर पार्छ । सामान्य अवस्थामा सिकार गर्ने जनावरले सिकारको चाल वा गतिविधिबाट निस्कने आवाज सुनेर त्यसको स्थान पत्ता लगाउन सक्छन् । तर, मानवसिर्जित आवाजले यस्ता प्राकृतिक ध्वनि छोपिदिँदा सिकारीलाई सिकार पहिचान गर्न कठिन हुन्छ ।

अध्ययनअनुसार ध्वनि प्रदूषण भएको वातावरणमा सिकारी जनावरले सिकार खोज्न सामान्य अवस्थाभन्दा करिब २.५ गुणा बढी प्रयास गर्नुपर्छ । यति धेरै मेहनत गर्दा पनि उनीहरूको सिकार गर्ने सफलता दर करिब २५ प्रतिशतले घट्छ ।

ध्वनिले सिकार हुने जनावरको व्यवहारमा पनि परिवर्तन ल्याउँछ । आवाजबाट बच्न उनीहरू लुक्ने ठाउँ खोज्छन् । तर, गुफा, ओडार वा अन्य बन्द संरचनाभित्र आवाज प्रतिध्वनित हुँदा झन् चर्को सुनिन सक्छ । यस्तो अवस्थामा जनावर सुरक्षित ठाउँबाट बाहिर निस्कन बाध्य हुन सक्छन् । त्यसले उनीहरू सिकारीको निशानामा पर्ने जोखिम बढाउँछ ।

अध्ययनले ध्वनि प्रदूषणले जनावरको व्यवहारमा मात्र नभई शरीरभित्रका जैविक प्रक्रियामा समेत असर पार्ने देखाएको छ ।

अनुसन्धानमा समेटिएका विभिन्न प्रजातिमा तनावसँग सम्बन्धित हर्मोनको मात्रा बढेको, कोषिकामा क्षति पुगेको र रोगप्रतिरोधी क्षमतामा परिवर्तन आएको पाइएको छ । रक्तसञ्चार, श्वासप्रश्वास, प्रतिवर्त क्रिया, संज्ञानात्मक क्षमता र प्रजननसँग सम्बन्धित प्रक्रियामा समेत असर देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।

ध्वनि प्रदूषणले अभिभावक जनावरको बच्चाप्रतिको हेरचाहमा पनि फरक प्रभाव पार्न सक्छ । केही प्रजातिले आवाजयुक्त वातावरणमा आफ्ना बच्चाको हेरचाह बढाउँछन् भने केहीले घटाउँछन् । यसले बच्चाको वृद्धि र बाँच्ने सम्भावनामा असर पार्न सक्छ ।

ध्वनि प्रदूषणको असर स्थलमा मात्र सीमित छैन । समुद्रमा जहाजका इन्जिन, पानीमुनि हुने निर्माण कार्य, तेल तथा ग्यास अन्वेषण र सोनार प्रविधिबाट निस्कने आवाजले समुद्री जीवको जीवन प्रभावित पारिरहेको छ । ह्वेल र डल्फिनजस्ता जीवले सञ्चार गर्न, बाटो पहिचान गर्न र आहार खोज्न ध्वनिमा निर्भर गर्छन् । पानीमुनिको मानवसिर्जित आवाजले उनीहरूलाई आवश्यक प्राकृतिक ध्वनि सुन्न र पहिचान गर्न कठिन बनाउँछ ।

अध्ययनका अनुसार ध्वनि प्रदूषणले केही सिकारी जीवलाई तत्काल फाइदा पुर्याउन पनि सक्छ । आवाजका कारण सिकार हुने जनावर लुकेको ठाउँबाट बाहिर निस्कँदा दृष्टिमा आधारित सिकारीले सजिलै सिकार गर्न सक्छन् । तर, समग्रमा ध्वनि प्रदूषणले प्राकृतिक पारिस्थितिक सन्तुलनमा अवरोध पुर्याउने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

बासस्थानसँगै प्राकृतिक ध्वनि पनि जोगाउनुपर्ने

अनुसन्धानकर्ताहरूले वन्यजन्तुको संरक्षण गर्दा जंगल, नदी, समुद्र र अन्य भौतिक बासस्थान जोगाउनुका साथै प्राकृतिक ध्वनि वातावरणको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

अनुसन्धानका प्रमुख लेखक हान्सयोर्ग कुन्कले क्विन्स युनिभर्सिटी बेलफास्टलाई दिएको प्रतिक्रियामा ध्वनि प्रदूषण वन्यजन्तुका लागि विश्वव्यापी रूपमा कम आकलन गरिएको खतरा भएको बताएका छन् ।

उनका अनुसार वन्यजन्तुलाई मानवीय आवाजबाट केही हदसम्म सुरक्षित राख्न कम ध्वनि हुने क्षेत्र (लो–न्वाइज जोन) निर्माण गर्न सकिन्छ । यस्ता क्षेत्रमा मानवीय गतिविधिबाट उत्पन्न आवाज घटाएर जनावरलाई प्राकृतिक ध्वनि वातावरणमा बाँच्ने अवसर दिन सकिन्छ ।

अनुसन्धानकर्ताहरूले ध्वनि प्रदूषणलाई वातावरणीय संरक्षणको छुट्टै प्राथमिकताका रूपमा लिनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूका अनुसार मानिसले आफ्नो वरिपरि सामान्य ठान्ने आवाज पनि अन्य जीवका लागि बासस्थान र जीवनचक्रमा असर पार्ने वातावरणीय दबाब बन्न सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
छठमा मात्रै सङ्लिन्छ सिर्सिया, अरू बेला प्रदूषणको मार

छठमा मात्रै सङ्लिन्छ सिर्सिया, अरू बेला प्रदूषणको मार

चार दशकदेखिको औद्योगिक प्रदूषणबीच सिर्सिया नदी सफा राख्न छठलक्षित सरकारी अनुगमन र सफाइले पानीको रङमा सुधार ल्याए पनि दीर्घकालीन समाधान देखिएको छैन।

#प्रदूषण
Compare →
Hamro Patro News
3d ago
सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी ...

#प्रदूषण
Compare →
Nagarik News
6d ago
पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

#प्रदूषण
Compare →

Related Stories

Science & Climate
Build #2612