काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् ।
६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता रहेको छ ।
चार दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन आइतबार नेपालका लागि पूर्वराजदूत मञ्जीवसिंह पुरी, श्रीलंकाली नियोगकी हाइकमिसनर माइसिनी कोलुनी, महात्मा गान्धीकी नातिनी डा. तारा गान्धी भट्टाचार्यले र फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरकी अध्यक्ष तथा साहित्यकार अजित कौरले मन्तव्य राखेका थिए ।
विश्वमै आफ्नो छुट्टै पहिचान बनाउन सफल चित्रकार अर्पणा कौरले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा प्रा. आशिष नन्दी, प्रा. अशोक भल्ला, प्रा. फकरुल आलमलगायतका सार्क राष्ट्रका ख्यातिप्राप्त कवि तथा लेखकहरूको उपस्थिति रहेको छ ।
उक्त सम्मेलनमा नेपालको तर्फबाट डा. रामदयाल राकेश अभय श्रेष्ठ, सरस्वती तिवारी, अनिश घिमिरे, विधान आचार्य, भिष्म उप्रेती, चन्द्र गुरुङ, प्रकाश थाम्सुहाङ, रजनी मिला, रमी प्रिया, लक्ष्मी रुम्बा, सुन्दर कुरुप, हेमन्त विवश, अनुषा शर्मा सहभागी छन् ।